५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

निर्वाचन सुरक्षाका लागि चारवटै सुरक्षा निकाय मैदानमा, बुधबारदेखि सेना देशभर परिचालित हुँदै



आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले सुरक्षा व्यवस्थालाई निकै कडा बनाएको छ । ‘एकीकृत सुरक्षा योजना २०८२’ अनुरूप बुधबारदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकायहरू देशैभर परिचालित हुन लागेका हुन्। निर्वाचन आउन ठ्याक्कै एक महिना बाँकी रहँदा सुरक्षा प्रबन्धलाई प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत रूपमा परिचालन गर्ने निर्णय भएको हो।

यसपटकको निर्वाचन सुरक्षाका लागि तीन घेराको सुरक्षा रणनीति अपनाइएको छ। योजना अनुसार मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी र हालै भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ खटिनेछन् भने दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले सम्हाल्नेछ। नेपाली सेनाले सुरक्षाको सबैभन्दा बाहिरी घेरामा रही महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नेछ। सेनाले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना युनिटहरू परिचालन गर्ने र आवश्यकताअनुसार विभिन्न स्थानमा ‘वेस’ खडा गरी संयुक्त गस्ती समेत गर्ने सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन् ।

निर्वाचन सुरक्षाका लागि ठुलो संख्यामा जनशक्ति परिचालन गरिँदैछ। नेपाली सेनाले ८० हजार सुरक्षाकर्मी मैदानमा उतार्ने तयारी गरेको छ भने नेपाल प्रहरीका ७७ हजार र थप एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ सुरक्षामा खटिनेछन् । त्यस्तै, सशस्त्र प्रहरी बलबाट ३४ हजार ५७६ र १५ हजार ११० ‘निर्वाचन प्रहरी’ गरी कुल ४९ हजार ६८६ जनशक्ति परिचालन हुनेछन्। सशस्त्र प्रहरीले कुनै पनि अप्रिय घटना भएको १० मिनेटभित्र घटनास्थलमा पुग्न सक्ने गरी ‘क्विक रेस्पोन्स’ टोली परिचालन गरेको छ। सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू पनि सक्रिय रहनेछन् ।

सुरक्षा संवेदनशीलताका आधारमा देशभरका १० हजार ९६७ मतदानस्थललाई वर्गीकरण गरिएको छ । जसमध्ये तीन हजार ६८० मतदानस्थललाई ‘अति संवेदनशील’, चार हजार ४४२ लाई ‘संवेदनशील’ र दुई हजार ८४५ स्थललाई ‘सामान्य’ श्रेणीमा राखेर सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको छ। निर्वाचनका क्रममा सेनाले मतपत्र छपाइ, ढुवानी, कारागार तथा विमानस्थल जस्ता महत्त्वपूर्ण संरचनाको सुरक्षादेखि मतगणना स्थलसम्मको सुरक्षा सुनिश्चित गर्नेछ ।

आगामी निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले २३ हजार ११२ मतदान केन्द्रबाट मतदान गर्दैछन्, जहाँ तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले माघ ४ गतेदेखि नै आचारसंहिता लागू गरिसकेको अवस्थामा सुरक्षा निकायहरूको यो व्यापक परिचालनले मतदाता, उम्मेदवार र कर्मचारीहरूमा सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २१ माघ २०८२, मंगलबार  ११ : १६ बजे