५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

रवि लामिछाने भने, ‘सिंहदरबार पुग्न होइन, बदल्न घण्टीमा भोट माग्दैछु’



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने संक्रमणका कारण केही दिनको अस्पताल बसाइपछि पुनः सार्वजनिक जीवनमा फर्किएका छन् । अस्पतालबाट डिस्चार्ज भएलगत्तै एक विशेष संकल्प र प्रतिवद्धता सार्वजनिक गर्दै उनले आसन्न फागुन २१ को निर्वाचनलाई नेपाली इतिहासको ‘माइलस्टोन’ बनाउने उद्घोष गरेका हुन् ।

आफ्नो वक्तव्यमा लामिछानेले वर्तमान राजनीतिक अवस्थाप्रति कडा प्रहार गर्दै आफू सामान्य सुधारका लागि नभई आमूल परिवर्तनका लागि मैदानमा उत्रिएको स्पष्ट पारेका छन्। “म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछु,” उनले भनेका छन्, “कुशासनको मुख्यालय भएको सिंहदरबारबाटै निलो क्रान्ति सुरु गर्ने स्पष्ट म्याण्डेट बिना जित र हारको कुनै अर्थ रहँदैन।” उनले पुराना दलका नेताहरूले राज्यका हरेक संयन्त्रमा भ्रष्टाचारको ‘विष’ भरेको आरोप लगाउँदै त्यसलाई पखाल्न आफ्नो उम्मेदवारी रहेको दाबी गरे।

लामिछानेले आफूलाई ‘लोकप्रियतावादी’ र ‘नीतिविहीन’ भन्ने आलोचकहरूलाई जवाफ दिँदै रास्वपाका दस्तावेजहरू पढ्न चुनौती दिएका छन्। उनले भनेका छन्, “विचार र सिद्धान्त भएका भनिएकाहरूको नियत र कार्यक्षमता जनताले देखिसके, अब थप उपदेश नदिनुस्। राजनीतिलाई भारी भरकम शब्द प्रयोग गरेर जटिल बनाउनु पर्दैन, हामी लोकतन्त्र जोगाउन सक्षम छौँ।”

निर्वाचनको सम्मुखमा पुराना दलहरू बीच हुने गठबन्धनलाई लक्षित गर्दै उनले खुला वा गोप्य रूपमा जो–जो मिल्नु छ मिल्न चुनौती दिएका छन्। उनले आगामी निर्वाचनलाई ‘अन्तिम सुनामी’को संज्ञा दिँदै जनविद्रोहले उखेलेर फालेको पुरानो संसद् फर्काउने कुनै पनि चलखेल वा षड्यन्त्र स्वीकार्य नहुने चेतावनी दिएका छन्।

वक्तव्यको अन्त्यमा लामिछानेले फागुन २१ पछि बन्ने संसद्मा प्रतिपक्ष समेत नयाँ हुनुपर्ने जिकिर गर्दै देशलाई बिचौलिया र आपराधिक गिरोहको मुठ्ठीबाट मुक्त गर्ने जिम्मा जनताको हातमा रहेको बताएका छन्। उनले देशका कति ठाउँमा पुग्न सकिन्छ भन्ने निश्चित नभए पनि बढीभन्दा बढी जनसमुदायसँग प्रत्यक्ष संवाद गर्ने प्रयास गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

प्रकाशित मिति : २१ माघ २०८२, मंगलबार  ११ : २२ बजे