नयाँ राजनीतिक शक्तिहरूको बढ्दो दबाब र बदलिँदो राजनीतिक समीकरणका बीच नेकपा एमालेले आगामी निर्वाचनमा आफ्ना मुख्य नेताहरूलाई जोगाउन निश्चित क्षेत्रहरूमा चुनावी तालमेल गर्ने नीति अघि सारेको छ । केन्द्रीय मुख्यालय च्यासलमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत एमालेले तालमेलका लागि विभिन्न दलहरूसँग संवाद भइरहेको औपचारिक जानकारी दिएको हो ।
एमाले निर्वाचन परिचालन समितिका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले २१ गतेअघिसम्म सहकार्यका लागि प्रयत्न जारी रहने र अन्तिम समयमा निश्चित क्षेत्रहरूमा ‘विन-विन’को आधारमा सहमति हुन सक्ने बताए । “देश जलाउनेहरूका विरुद्ध जाने राजनीतिक दलहरूसँग सहकार्य गर्न सकिन्छ भन्ने पार्टीको नीति छ,” बादलले भनेका छन् ।
प्रचण्डबाहेक अरु नकरात्मक
एमालेले तालमेलको हात फैलाए पनि अन्य प्रमुख दलहरू भने सकारात्मक देखिएका छैनन् । गगन थापाको नेतृत्वमा पुनर्गठित नेपाली कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने र चुनावअघि कुनै पनि गठबन्धन नगर्ने घोषणा गरिसकेको छ । सभापति थापाले तालमेल गर्ने नेतालाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फेसबुकमार्फत कडा चुनौती दिँदै “जो-जो मिल्नु छ मिल, यो सुनामी रोकेर देखाऊ” भन्दै तालमेलको सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि एमालेसँगको तालमेलको हल्लालाई भ्रम भन्दै खण्डन गरेका छन् । यता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा असम्भव केही नभए पनि यसपटक १६४ स्थानमा आफ्नै उम्मेदवार उठाएर एक्लै अघि बढ्ने बताएका छन् ।
बादलका विरोधाभासपूर्ण तर्क र नयाँ शक्तिप्रति तिक्तता
पत्रकार सम्मेलनमा उपाध्यक्ष बादलले एकातर्फ निर्वाचनबाट एमालेलाई बहुमतको पार्टी बनाएर केपी ओलीलाई प्रधानमन्त्री बनाउने लक्ष्य सुनाए भने अर्कातर्फ प्रतिनिधि सभा पुनःस्थापनाको एजेण्डालाई पनि जोड दिए । उनले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘देश जलाउनेहरूको सरकार’ भन्दै कडा आलोचना पनि गरे ।
बादलले वर्तमान सरकारलाई ‘थोपरिएको अवैध सरकार’ को संज्ञा दिँदै यसलाई नंग्याउन भारत र चीनका विश्लेषकहरू समेत लागेको दाबी गरे । उनले नयाँ राजनीतिक शक्ति र ‘जेनजी आन्दोलन’ प्रति तिक्तता पोख्दै दुर्गा प्रसाईंका अभिव्यक्तिहरूलाई सन्दर्भ सामग्रीका रूपमा प्रस्तुत गरे ।
एकतर्फ एमालेले अध्यक्ष ओलीमाथि सामाजिक सञ्जालमा हुने गालीगलौजको निन्दा गर्दै छानबिनको माग गरेको छ भने अर्कातर्फ नेतृत्व तहबाटै राजनीतिक प्रतिस्पर्धी र सरकारमाथि कठोर शब्दहरू प्रयोग भइरहेका छन् । प्रमुख दलहरूले तालमेलको सम्भावना नकारेको अवस्थामा एमालेको यो रणनीतिले चुनावी परिणाममा कस्तो असर पार्छ, त्यो भने हेर्न बाँकी छ।









