निर्वाचन आयोगले आगामी फागुन २९ गते हुने संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी बनाउन राजनीतिक दल तथा उम्मेदवारहरूलाई कडा निर्देशन दिएको छ।
आयोगले जारी गरेको प्रेस वक्तव्यमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र मतदाताको स्वतन्त्रतामा कुनै हस्तक्षेप नगर्न स्पष्ट चेतावनी दिँदै हिंसा, धम्की, आर्थिक प्रलोभन वा सामाजिक विभेदजस्ता क्रियाकलापमा शून्य सहनशीलता कायम राख्ने जनाएको छ। यो निर्देशनले निर्वाचनको माहोललाई स्वच्छ बनाउने अपेक्षा गरिएको छ।
आयोगका अनुसार, निर्वाचन अवधिमा कुनै पनि व्यक्तिलाई मतदानको अधिकारबाट वञ्चित गर्ने, हतियार प्रदर्शन गर्ने, धम्की दिने वा सामाजिक बहिष्कार गर्ने जस्ता कार्यमा संलग्न नहुन राजनीतिक दलहरूलाई आग्रह गरिएको छ। यसैगरी, आर्थिक लोभलालच वा प्रलोभन देखाएर प्रभावित पार्ने प्रयास पनि पूर्ण रूपमा निषेध गरिएको छ ।
प्रचारप्रसारका लागि तोकिएको समयसीमाभित्र मात्र जुलुस, आमसभा वा अन्य कार्यक्रम सञ्चालन गर्न सकिने र निर्वाचनको दैनिक घरदैलो गतिविधि नगर्न निर्देशन दिइएको छ।
निर्वाचन मितिभन्दा ४८ घण्टाअघिबाट नै सभा, जुलुस वा नाराबाजी नगर्ने गरी प्रचार रोक्नुपर्ने छ। सरकारी वा सार्वजनिक सवारी साधनको दुरुपयोग नगरी र्याली वा प्रचार नगर्ने, साथै सुरक्षाकर्मी वा सरकारी सम्पत्तिको प्रयोगमा पनि कडा प्रतिबन्ध लगाइएको छ।
प्रचार सामग्रीको सन्दर्भमा निर्वाचन आचारसंहितामा उल्लेखित मापदण्डबाहेकका पोष्टर, ब्यानर, डिजिटल बोर्ड वा साउण्ड सिस्टमको प्रयोग नगर्ने र धार्मिक, सरकारी वा सार्वजनिक स्थलमा यस्ता सामग्री टाँस्न वा लेख्न नहुने स्पष्ट पारिएको छ।
आर्थिक पक्षमा पनि कडा नियमन अपनाइएको छ। निर्वाचन अवधिमा कुनै दान, उपहार, नगद वा जिन्सी वितरण नगर्ने र सामाजिक भोज आयोजना वा सहभागितामा पनि रोक लगाइएको छ। उम्मेदवारहरूले बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च नगर्ने, २५ हजारभन्दा बढी आर्थिक सहयोग बैंकमार्फत लिने र खर्च गर्ने तथा आयोगको मागमा सबै विवरण पेश गर्ने व्यवस्था गर्नुपर्ने छ। निर्धारित खर्च सीमाभन्दा बढी खर्च नगर्ने र निर्वाचन परिणाम घोषणापछि ३५ दिनभित्र आम्दानी तथा खर्चको पूर्ण विवरण बुझाउनुपर्ने छ।
प्रचारमा नेपालको सार्वभौमसत्ता, अखण्डता, प्रजातान्त्रिक गणतन्त्र वा बहुदलीय प्रणालीप्रति आँच पुर्याउने, जाति, धर्म, क्षेत्र वा समुदायबीच घृणा फैलाउने वा हिंसात्मक कार्यलाई प्रोत्साहन दिने सामग्री प्रयोग नगर्ने निर्देशन छ। उम्मेदवार वा उनका परिवारका सदस्यको चरित्र हत्या गर्ने वा डरत्रास देखाउने कार्य पनि निषेध गरिएको छ। राजनीतिक दल र उम्मेदवारहरूले आफ्नो घोषणापत्र आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गरी त्यसलाई प्रचारको आधार बनाउन सक्ने छन्, तर आचारसंहिताविपरीतका क्रियाकलापका लागि कुनै सहयोग वा खर्च नगर्ने।
आयोगले यी निर्देशनहरूको उल्लङ्घनमा कडा कारबाही गर्ने चेतावनी दिँदै राजनीतिक दलहरूलाई निर्वाचनलाई लोकतान्त्रिक मर्यादाको उदाहरण बनाउन सहयोग गर्न अपिल गरेको छ। यस पहलले संघीय प्रतिनिधिसभा निर्वाचनलाई थप विश्वसनीय र जनविश्वासयुक्त बनाउने विश्वास गरिएको छ। थप विवरणका लागि निर्वाचन आयोगको आधिकारिक वेबसाइट हेर्न सकिन्छ।







