२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

टी-२० विश्वकपमा नेपालको ऐतिहासिक पुनरागमन, स्कटल्यान्डलाई हराउँदै १२ वर्षपछि जीत निकाल्यो



आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले स्तब्ध पार्दै नेपालले विश्वकपको मञ्चमा १२ वर्षपछिको पहिलो जित दर्ता गरेको छ ।

सन् २०१४ को विश्वकपमा अफगानिस्तानलाई पराजित गरेयता जितविहीन रहेको नेपालले मुम्बईको वानखेडे रंगशालामा सानदार प्रदर्शन गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको हो ।

स्कटल्यान्डले दिएको १७१ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले १९.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा विष्फोटक ब्याटिङ गर्दै दीपेन्द्रसिंह ऐरीले अविजित ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनलाई गुल्सन झाले १७ बलमा २४ रन जोड्दै उत्कृष्ट साथ दिए। यससँगै दीपेन्द्र विश्वकपमा दुईवटा र लगातार दुई खेलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। उनले यसअघि वेस्ट इन्डिजविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए।

लक्ष्य पछ्याउने क्रममा नेपालले सानदार सुरुवात गरेको थियो। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ७४ रनको रेकर्ड साझेदारी गरे। भुर्तेलले ३५ बलमा ४३ रन जोड्ने क्रममा एकै इनिङ्समा ४ छक्का प्रहार गरी नयाँ कीर्तिमान बनाए भने आसिफले ३३ रनको योगदान दिए। बीचको ओभरमा स्कटल्यान्डका स्पिनर माइकल लिस्कले तीनै जना शीर्ष ब्याटरलाई आउट गर्दै दबाब सिर्जना गरे पनि दीपेन्द्र र गुल्सनको जोडीले १६ औँ ओभरमा लिस्ककै ओभरमा २० रन प्रहार गर्दै खेललाई नेपालको पक्षमा फर्काएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनाएको थियो। स्कटल्यान्डका लागि माइकल जोन्सले ७१ रनको आक्रामक अर्धशतकीय इनिङ्स खेलेका थिए। खेलको सुरुवातमा नेपाली बलरमाथि हावी भएको स्कटल्यान्डले पावरप्लेमा विना विकेट ५२ रन जोडेको थियो। यद्यपि, कप्तान रोहित पौडेलले जर्ज मुन्सेलाई आउट गर्दै पहिलो सफलता दिलाएपछि नेपाल खेलमा फर्किएको थियो।

नेपाली बलिङमा सोमपाल कामीले घातक प्रदर्शन गर्दै ३ विकेट लिए। उनले १९ औँ ओभरमा उत्कृष्ट बलिङ गर्दै स्कटल्यान्डको रन गतिमा पूर्णविराम लगाएका थिए। त्यस्तै, नन्दन यादवले २ विकेट लिए भने रोहित पौडेल र कुशल भुर्तेलले समान १–१ विकेट बाँडे। मुख्य स्पिनर सन्दीप लामिछाने भने यस खेलमा विकेटविहीन रहे। नेपालले अन्तिम ५ ओभरमा मात्र ३९ रन खर्चेर ६ विकेट लिँदै खेलमा नियन्त्रण जमाएको थियो।

यसअघिका तीनवटै खेलमा पराजित भई विश्वकपबाट बाहिरिसकेको नेपालका लागि यो जित प्रतिष्ठाको लडाइँ र समर्थकका लागि ठुलो उपहार सावित भएको छ। यसपटकको टोलीमा बसिर अहमद बाहेक सबै १५ जना खेलाडीले मैदानमा उत्रिने अवसर पाएका छन्।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ११ : १८ बजे