२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

मध्यपूर्वको तनावले नेपाली प्रभावित, खाडी उडान रद्द हुँदा काठमाडौंमा ३१ अन्तर्राष्ट्रिय आवागमन स्थगित



मध्यपूर्वमा चर्किएको सैन्य तनाव र खाडी क्षेत्रका केही देशहरूको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएपछि त्यसको प्रत्यक्ष असर नेपालमा समेत देखिएको छ । सोमबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने ३१ अन्तर्राष्ट्रिय उडान आवागमन रद्द भएका छन् ।

विमानस्थल कार्यालयका अनुसार खाडी क्षेत्रतर्फ जाने तथा त्यहाँबाट काठमाडौं आउने नियमित उडानहरू प्रभावित हुँदा सयौं यात्रु अलपत्र परेका छन् ।

पछिल्ला केही दिनयता इरान, इजरायल र अमेरिकाबीच बढ्दो द्वन्द्वका कारण कतार, संयुक्त अरब इमिरेट्स, कुवेत लगायतका देशहरूको हवाई क्षेत्रमा कडाइ गरिएको छ । कतार एयरवेजले लगातार तेस्रो दिन उडान स्थगनको सूचना जारी गरेको छ भने यूएईका प्रमुख विमानस्थलहरू आक्रमणबाट क्षतिग्रस्त भएपछि हजारौं यात्रु रोकिएका छन् । युएई सरकारले देशमा फसेका यात्रुहरूको खाना र आवास खर्च बेहोर्ने निर्णय गरे पनि उडान पुनः सुचारु हुने निश्चित समय नतोकिएकाले अन्योल कायमै छ ।

खाडी मुलुकहरू नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य भएकाले त्यहाँको अस्थिरताले ठूलो संख्यामा नेपाली प्रभावित भएका छन् । वैदेशिक रोजगारीका लागि जाने तयारीमा रहेका कामदार, बिदामा नेपाल आएका र पुनः फर्किन लागेका श्रमिक तथा ट्रान्जिट हुँदै अन्य देश जाने यात्रुहरू समस्यामा परेका छन् । केही नेपाली कामदारहरूले सामाजिक सञ्जालमार्फत आफूहरू असुरक्षित महसुस गरिरहेको र हवाई उडान अनिश्चित हुँदा काम र बसाइ दुवै प्रभावित भएको बताएका छन् ।

मध्यपूर्वमा भइरहेका आक्रमण र प्रतिआक्रमणका कारण ऊर्जा पूर्वाधार, विमानस्थल तथा सैन्य अखडाहरू लक्षित भइरहेका छन् । कतारको ऊर्जा उत्पादन केन्द्रमा ड्रोन आक्रमण भएको, कुवेत र यूएईमा विस्फोटका आवाज सुनिएको तथा लेबनान र इजरायलमा मानवीय क्षति बढिरहेको विवरण सार्वजनिक भइरहेका छन् । यसले क्षेत्रीय सुरक्षामा गम्भीर चुनौती थपेको छ ।

नेपाल सरकारका अधिकारीहरूले परिस्थितिमाथि निगरानी राखिएको जनाएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार खाडी मुलुकस्थित नेपाली दूतावासहरूसँग निरन्तर समन्वय भइरहेको र आवश्यक परेमा नेपालीको सुरक्षाका लागि थप कदम चालिनेछ । हालसम्म नेपाली नागरिकको हताहतबारे औपचारिक पुष्टि नभए पनि तनाव लम्बिँदै गए थप जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार खाडी क्षेत्रमा मात्रै लाखौं नेपाली कार्यरत छन् । हवाई सेवा अवरुद्ध हुँदा नयाँ श्रम स्वीकृति लिएर जानेहरूको यात्रा रोकिनुका साथै रेमिट्यान्स आप्रवाहमा समेत असर पर्ने अनुमान गरिएको छ । पर्यटन क्षेत्र पनि प्रभावित बनेको छ, किनकि खाडीका ट्रान्जिट मार्ग हुँदै नेपाल आउने पर्यटकहरूको आगमन घट्ने सम्भावना बढेको छ ।

विश्लेषकहरूका अनुसार यदि द्वन्द्व चाँडै समाधानतर्फ नजाने हो भने हवाई उडान, श्रम बजार र आपूर्ति शृंखलामा दीर्घकालीन प्रभाव पर्न सक्छ । तत्कालका लागि भने काठमाडौं विमानस्थलमा उडान तालिका अनिश्चित बनेको छ र यात्रुहरूलाई सम्बन्धित एयरलाइन्ससँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ ।

मध्यपूर्वमा विकसित घटनाक्रमले विश्व ऊर्जा बजारदेखि श्रम आप्रवासनसम्म असर पारिरहेको अवस्थामा नेपाली समुदाय प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा प्रभावित बन्न थालेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ११ : २५ बजे