२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

नेपालमा चुनावका कारणआज मध्यरातदेखि मौन अवधि, के गर्न पाइदैन–कारवाही के हुन्छ?



आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल तथा उम्मेदवारले गर्दै आएको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई फागुन ४ गतेदेखि आज राति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको थियो । निर्धारित समय सकिएसँगै निर्वाचन आचारसंहिताअनुसार मौन अवधि लागू हुनेछ ।

मतदान हुनु ४८ घण्टा अघिबाट मतदान सम्पन्न नभएसम्म कायम रहने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षा लगायत निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइने छैन । आयोगका अनुसार यस अवधिमा मत माग्न, सामाजिक सञ्जालमा पोस्ट गर्न, प्रचारात्मक हिँडडुल गर्न तथा कुनै पनि माध्यमबाट मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न कडाइका साथ निषेध गरिएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले आर्थिक कारोबार गरिएको पाइए उम्मेदवारी खारेजीदेखि छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउनेसम्मको कारबाही हुनसक्ने स्पष्ट पारेका छन् । आयोगले निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने जनाएको छ ।

मौन अवधिले मतदातालाई स्वच्छ, स्वतन्त्र र विवेकपूर्ण वातावरणमा मतदान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । यस अवधिमा निर्वाचन व्यवस्थापन निकायले मतदान केन्द्रको तयारी, मतदाता लाइन व्यवस्थापन, शान्तिसुरक्षाको अवस्था मूल्याङ्कन तथा आवश्यक बन्दोबस्त मिलाउने कार्यलाई प्राथमिकता दिनेछ । विश्वका कतिपय मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्ने प्रचलन रहेको छ ।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाइसकिएको हुनुपर्छ । साथै एसएमएस, फेसबुक, भाइबरलगायत विद्युतीय माध्यमबाट मत माग्ने वा प्रचार गर्ने कार्यसमेत निषेध गरिएको छ । उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रभाव पार्ने गरी कुनै समाचार वा सूचना प्रकाशन तथा प्रसारण गर्न पनि पाइँदैन ।

आउँदो बिहीबार हुने निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत ६१ निर्वाचन चिह्नमा ६५ राजनीतिक दल प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी कुल तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन् । समानुपातिक प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।

यसपटक ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् भने एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको छ । देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् र १४३ अस्थायी मतदानस्थल निर्धारण गरिएको छ ।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान विभाग र एक लाख ४९ हजार ९० म्यादी प्रहरी खटाइएका छन् । करिब दुई लाख १५ हजार कर्मचारी निर्वाचन कार्यमा संलग्न हुनेछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ सम्पन्न गरिसकेको जनाएको छ ।

यस निर्वाचनमा चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिनेछन् । आयोगले सबै पक्षलाई आचारसंहिता पालना गरी स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ११ : २७ बजे