धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमल कालोसूचीमा परेपछि उनको उम्मेदवारी खारेज भएको खुलेको छ ।
मंगलबार निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पुष्टि गरे । आयोगका अनुसार बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको विषयमा कर्जा सूचना केन्द्रले उनलाई कालोसूचीमा राखेको हो ।
आयोगले दिएको जानकारीअनुसार कमल निर्माण सेवा प्रालि २०८० माघ २२ गतेदेखि बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको कारण कालोसूचीमा परेको थियो। बैंकको ऋण नतिर्ने, चेक बाउन्स हुने लगायतका मुद्दामा सम्बन्धित पक्षलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने प्रचलन छ ।
धनुषा–१ का निर्वाचन अधिकृत मनोज बरालले कमलविरुद्ध कालोसूचीमा परेको उजुरी छानबिनका लागि आयोग पठाइएको बताए। उक्त उजुरीमाथि छानबिनपछि सोमबार बसेको आयोग बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४को दफा १३ को खण्ड (९) अनुसार उनलाई उम्मेदवार हुन अयोग्य ठहर गरेको हो।
आयोगले निर्णयमा भनेको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मनोनयन दर्ता गराउनु भएका उम्मेदवार श्री किशोरी साह कमल प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम उम्मेदवार हुन अयोग्य रहेको ठहर गरी निर्वाचन आयोग ऐन, २०७३को दफा ९ को उपदफा (५) बमोजिम निजको उम्मेदवारी खारेज गर्ने निर्णय भएको व्यहोरा निर्णयानुसार अनुरोध छ।’
उक्त ऐनको दफा १३ (९) ले ‘प्रचलित कानून बमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर’ उम्मेदवार हुन अयोग्य हुने व्यवस्था गरेको छ।
२०७४ सालको चुनावमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट धनुषाका प्रदेशसभा सदस्य बनेका साह २०७९ मा जनमत पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार बनेका थिए तर पराजित भएका थिए। यसपटक भने रास्वपाबाट उम्मेदवार बनेका उनको उम्मेदवारी खारेज भएको हो।
धनुषा–१ मा एमालेबाट रामचन्द्र मण्डल, कांग्रेसबाट रामपलटन साह, नेकपाबाट मातृका प्रसाद यादव, जसपाबाट दीपक कार्की र जनमतबाट ब्रह्मदेव महतो उम्मेदवार रहेका छन्।








