२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

प्रतिनिधि सभा निर्वाचन: भोट हालेको संकेत गरे पनि कारबाही, २५ कसूरमा सजायको व्यवस्था



प्रतिनिधि सभा निर्वाचनका क्रममा मतदान गरेको संकेत सार्वजनिक गरेमा समेत कारबाही हुनसक्ने कानुनी व्यवस्था रहेको छ। निर्वाचनसँग सम्बन्धित कम्तीमा २५ प्रकारका कसूरमा जरिवाना, कैद वा दुवै सजाय हुने प्रावधान छ।

प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित मुख्य तीन कानुन — प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, निर्वाचन आयोग ऐन, २०७३ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ — मा गरी ३५ प्रकारका कसूर उल्लेख छन्। तीमध्ये २५ कसूर विशेषतः मतदान र निर्वाचन प्रक्रियासँग प्रत्यक्ष जोडिएका छन्।

उम्मेदवार र खर्चसम्बन्धी कसूर

निर्वाचनसम्बन्धी प्रचलित कानुन बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष ननाघेको व्यक्ति प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन अयोग्य ठहरिने व्यवस्था छ।

निर्धारित सीमाभन्दा बढी खर्च गरेमा जरिवाना हुने तथा जरिवाना नबुझाए उम्मेदवारीमा रोक लगाइनेसम्मको प्रावधान छ।

उम्मेदवारी दर्ता गर्दा झुट्टा विवरण वा कागजात संलग्न गरेमा निर्वाचन अधिकृतले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।

मतपत्र, मतपेटिका र मतदानसम्बन्धी कसूर

मतपत्र, मतपेटिका वा अन्य निर्वाचन सामग्री खोस्ने, लुट्ने, नष्ट गर्ने वा प्रयोगमा अवरोध गर्ने कार्यमा एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ।

मतदाता परिचयपत्र कब्जा गर्ने, बिगार्ने वा खरिद गरी मतदातालाई मतदानबाट वञ्चित गर्न खोजेमा २५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ।

मतपत्र दुरुपयोग, गैरकानुनी रूपमा मतपत्र दिन–लिन, वा मतदानको अधिकारविना मतदान गरेमा पनि जरिवाना तथा कैदको व्यवस्था छ। एउटै निर्वाचनमा एकभन्दा बढी पटक मतदान गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ।

गोपनीयता र आचरण उल्लंघन

मत सङ्केत सार्वजनिक गर्न पाइँदैन। यस्तो गरेमा १५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ। मतदान प्रक्रिया उल्लंघन, मतपत्रबाहेक अन्य वस्तु मतपेटिकामा हाल्ने, मतदान भएको मतपत्र बिगार्ने वा नष्ट गर्ने कार्यमा समेत जरिवाना र कैद सजायको व्यवस्था छ।

मतदान स्थलमा अवरोध सिर्जना गर्ने, गैरनेपाली नागरिकले मतदान गर्ने, वा अनधिकृत व्यक्ति मतगणना स्थलमा प्रवेश गरेमा पनि कारबाही हुन्छ।

मतगणना र सुरक्षासम्बन्धी कसूर

मतगणना सामग्री नोक्सान पुर्‍याउने, गलत ढङ्गले मतगणना गर्ने, वा पदीय जिम्मेवारीबाट पन्छिने निर्वाचन अधिकृत, कर्मचारी वा सुरक्षाकर्मीमाथि सेवा शर्तसम्बन्धी कानुनअनुसार कारबाही हुने व्यवस्था छ।

सुरक्षाकर्मीबाहेक अन्यले हातहतियार बोकेर मतदान स्थलमा हिँडेमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद हुन सक्छ। मतदानको दिन शान्ति भङ्ग गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ।

प्रभाव पार्ने र लोभलालचसम्बन्धी कसूर

निर्वाचन प्रक्रियामा उम्मेदवार, मतदाता वा कर्मचारीलाई प्रभाव पार्ने कार्य गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद हुन सक्छ।

चुनावका बेला नगद वा जिन्सी दिन–लिन नहुने व्यवस्था छ। यस्तो कार्यमा ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।

गोपनीयता भंग र अन्य अवरोध

कानुनबमोजिम बाहेक निर्वाचनको गोपनीयता भंग गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ। साथै, ऐनमा अन्यत्र उल्लेखित बाहेक निर्वाचन कार्यमा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन यी कानुनी प्रावधान कडाइका साथ कार्यान्वयन गरिने सम्बन्धित निकायले जनाएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ८ : १२ बजे