प्रतिनिधिसभा निर्वाचनबाट दुई तिहाइ बहुमत नजिक सिट जितेर विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा नयाँ सरकार गठनबारे आन्तरिक छलफल सुरु भएको छ । मंगलबार प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएपछि सरकार गठनसम्बन्धी तयारी तीव्र बनेको हो ।
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहबीच नयाँ सरकार निर्माणका विषयमा निरन्तर संवाद भइरहेको छ ।
उनका अनुसार सभापति लामिछाने बिरामी रहेकाले प्रत्यक्ष भेटवार्ता हुन नसके पनि टेलिफोन र अन्य माध्यमबाट कुराकानी भइरहेको छ । ‘सभापति र वरिष्ठ नेताबीच निरन्तर संवाद भइरहेको छ । सभापति बिरामी भएकाले प्रत्यक्ष भेट हुन सकेको छैन, तर सरकार गठनका विषयमा चाँडै भेटवार्ता हुने सम्भावना छ,’ रावलले भनिन् ।
काठमाडौँ–३ बाट निर्वाचित सांसद तथा बालेन शाहका विश्वासपात्र राजुनाथ पाण्डेले भावी प्रधानमन्त्री बालेन शाहले नै आफ्नो क्याबिनेट गठन गर्ने बताएका छन् । उनका अनुसार संसदीय व्यवस्थामा प्रधानमन्त्री बन्ने व्यक्तिले नै आफूलाई सहज हुने टोली चयन गर्ने प्रचलन हुन्छ ।
‘प्रधानमन्त्री उम्मेदवारले नै मन्त्री छान्ने हो । उहाँले आफूलाई कम्फर्टेबल तरिकाले काम गर्न सक्ने टिम बनाउनुहुन्छ,’ पाण्डेले भने, ‘विश्वास गरेका र सक्षम व्यक्तिलाई नै मन्त्रीको जिम्मेवारी दिनुहुनेछ ।’
उनले मन्त्री छनोट कुनै लेनदेन वा भागबन्डाको विषय नहुने भन्दै सभापति रवि लामिछाने र बालेन शाहबीचको छलफलबाट अन्तिम टुंगो लाग्ने बताए ।
रास्वपाका केन्द्रीय सदस्य असीम शाहले पनि बालेन शाह प्रधानमन्त्री बनेपछि आफ्नो क्याबिनेट आफैं चयन गर्ने बताएका छन् । ‘मन्त्री बन्नका लागि दौडधुप गर्न, भनसुन गर्न वा मिडिया प्रचार गर्न आवश्यक छैन,’ उनले भने, ‘जब बालेन शाह प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो टिम आफैं बनाउनुहुनेछ । उहाँलाई सांसदहरूको क्षमता र योग्यताबारे राम्रो जानकारी छ ।’
रास्वपाको सरकार बन्ने लगभग निश्चित भएपछि पार्टीभित्र समानुपातिकतर्फको क्लस्टर मिलाउन आन्तरिक छलफल भइरहेको छ । रास्वपा केन्द्रीय सदस्य तथा बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा प्रमुख स्वकीय सचिव रहेका भूपदेव शाहले मंगलबार बालेनलाई भेटेका थिए । भेटमा अछाम–२ मा भूपदेव शाहको पराजयबारे पनि छलफल भएको उनले बताए ।
‘देशभर लहर देखिँदा त्यहाँ किन त्यस्तो भयो भन्ने विषयमा उहाँले चासो राख्नुभयो,’ भूपदेव शाहले भने, ‘व्यक्तिगत क्याम्पेन राम्रो हुँदाहुँदै पनि मतदाता कन्भर्ट गर्न गाह्रो भएको चर्चा भयो।’
उनका अनुसार सरकार गठनबारे औपचारिक निर्णय भने पार्टी बैठकपछि मात्र हुनेछ । ‘अहिलेसम्म ठोस निर्णय भएको छैन । नतिजा पूर्ण रूपमा सार्वजनिक भएपछि पार्टीको बैठक बसेर छलफल हुन्छ,’ उनले भने ।
समानुपातिक मतगणनाको आधारमा रास्वपाले ५८ सिट पाउने सम्भावना देखिएको छ। नेपाली कांग्रेसले १९, नेकपा एमालेले १६, नेकपाले ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४–४ सिट पाउने अनुमान गरिएको छ।
समानुपातिकतर्फ दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम गरी ६ क्लस्टरमा निर्वाचन आयोगले तोकेको प्रतिशतअनुसार उम्मेदवार छनोट गरिनेछ। आयोगले मत परिणामका आधारमा सिट संख्या निर्धारण गरेपछि दलहरूसँग सांसद मनोनयनको सूची माग्नेछ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
प्रतिवेदन बुझाइसकेपछि चैत पहिलो साताभित्र सरकार गठनको बाटो खुल्ने अनुमान गरिएको छ। रास्वपाले चैत ५ गतेसम्म संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ।
चुनावअघि नै बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएकाले संसदीय दलको नेता पनि उनैलाई बनाउने लगभग निश्चित रहेको बताइएको छ।
संविधानको धारा ७६(१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। त्यसअनुसार रास्वपाको संसदीय दलको नेता चयन भएपछि राष्ट्रपतिले बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।
यसैबीच वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले चैत ५ गतेभित्र नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ। गृह मन्त्रालयले समेत सुरक्षा निकायलाई सोही समयसीमाभित्र नयाँ सरकार बन्ने संकेत दिएको बताइएको छ।








