२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

राहदानी वितरण केही हप्ता अवरुद्ध हुन सक्ने



राहदानी विभागले नयाँ र आधुनिक प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी गरेसँगै वितरण प्रक्रिया केही समयका लागि प्रभावित हुन सक्ने जनाएको छ ।

विभागले हालै एक सूचना जारी गर्दै वर्तमान प्रणालीलाई नयाँ प्रविधिमा रूपान्तरण गर्दा आगामी एक देखि दुई महिनाभित्र राहदानी सेवा केही हप्ताका लागि बन्द हुन सक्ने जानकारी दिएको हो। नयाँ प्रणाली पूर्ण रूपमा स्थिर नभएसम्मका लागि यो अन्तरिम व्यवस्था लागू हुने विभागको भनाइ छ।

विभागका अनुसार नयाँ प्रणाली जडान गर्ने क्रममा जिल्ला तथा इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा एक देखि तीन हप्तासम्म अवरुद्ध हुन सक्छ। त्यस्तै, काठमाडौँस्थित राहदानी विभागबाट उपलब्ध हुने सेवा पनि करिब एक हप्ताका लागि बन्द हुन सक्ने सम्भावना छ। नयाँ प्रणालीलाई पूर्ण रूपमा व्यवस्थित र स्थिर बनाउन करिब एक देखि तीन महिनासम्मको समय लाग्न सक्ने अनुमान गरिएको छ।

यस संक्रमणकालीन अवधिमा जिल्ला, इलाका प्रशासन र विदेशस्थित नियोगहरूबाट आवेदन दिँदा राहदानी तयार भई प्राप्त हुन अहिलेको तुलनामा बढी समय लाग्न सक्ने विभागले स्पष्ट पारेको छ। तसर्थ, आगामी असोज महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीहरूलाई यो नयाँ व्यवस्था सुरु हुनुअगावै आ-आफ्नो क्षेत्रका सम्बन्धित कार्यालय वा नियोगबाट सेवा लिन विभागले आग्रह गरेको छ। नयाँ प्रणाली सुरु हुने निश्चित मिति र सो अवधिमा गरिने थप व्यवस्थाका बारेमा विभागले छिट्टै अर्को सूचनामार्फत सर्वसाधारणलाई जानकारी गराउने बताएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  १० : ०२ बजे