मनकामना दर्शन गरेर फर्किरहेका यात्रु बोकेको माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
गोरखाको सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार राति बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरीका अनुसार सातै जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकमध्ये ५ जना पुरुष र २ जना महिला रहेका छन्।
उक्त माइक्रो बसमा चालकसहित १४ जना सवार रहेको जनाइएको छ। उनीहरूमध्ये ७ जनाको जीवितै उद्धार गरी उपचारका लागि आबुँखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
मनकामना दर्शन गरेर फर्किरहेका यात्रु सवार गाडी अचानक गति अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको सशस्त्र प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गुल्म गोरखाबाट सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो। साथै जिल्ला प्रहरी कार्यालय गोरखाबाट पनि प्रहरी टोली खटिएर घाइतेको उद्धार तथा आवश्यक सहयोग गरेको जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।








