२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

संसद्मा प्रतिपक्षको आवाज: प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गरोस्



नेपाली कांग्रेस र नेकपा (एमाले) का सांसदहरूले सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्तिको आयस्रोत तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

सोमबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठकमा बोल्दै कांग्रेस सांसद रञ्जित कर्णले सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोतबारे स्पष्टता आवश्यक रहेको बताए । उनले सम्पत्तिको वैधानिक आयस्रोत खुलासा भए मात्र सरकारको सुशासनप्रतिको प्रतिबद्धतामा जनताको विश्वास बढ्ने धारणा राखे ।

“मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको आयस्रोत के हो भन्ने कुरा जनतालाई स्पष्ट रूपमा जानकारी गराउन जरुरी छ,” कर्णले भने, “त्यसपछि मात्र सम्पत्ति शुद्धीकरण अभियानप्रति विश्वास गर्न सकिन्छ।” उनले सम्पत्तिमा कर तिरेको हुनुपर्ने उल्लेख गर्दै आम जनताले समेत यही प्रश्न उठाइरहेको बताए ।

सांसद कर्णले आफ्नो पार्टीको तर्फबाट २०४६ सालयता सार्वजनिक पदमा रहेका नेता, कर्मचारी तथा व्यवसायीहरूको सम्पत्ति छानबिन गर्न सरकारलाई आग्रह समेत गरे ।

त्यस्तै, एमाले सांसद सोमनाथ पोर्तेल ले सरकार संसद्मा मौन बसेको भन्दै आलोचना गरे । उनले सरकारको धारणा फेसबुक र पत्रपत्रिकाबाट मात्र सुन्नुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि जनाए ।

“सदन हामीले करिब हप्ता दिन चलायौँ होला, तर मन्त्रीहरू बोलेनन्, सरकार बोलेन,” उनले कटाक्ष गर्दै भने, “सरकारको आवाज सुन्न अब फेसबुक र पत्रिकामा भर पर्नुपर्ने अवस्था आयो ।”

पोर्तेलले सरकारका आश्वासन र कार्यान्वयनबीचको अन्तरबारे संसद्मा स्पष्टता आवश्यक रहेको बताए। उनले मन्त्रीहरूलाई संसदीय समितिमा बोलाएर जनतासँग गरिएका प्रतिबद्धताबारे छलफल गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार सरकार गठन भएको १७ दिनमै संसद्ले बनाएको कानुनको उल्लंघन हुन थालेको खबर आउनु चिन्ताजनक विषय हो।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १० : ५७ बजे