२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

नेपालमा मेटाको पाँच अर्ब लगानी, वर्ल्डलिंकसँग मिलेर डेटा सेन्टर निर्माण



काठमाडौं । विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले नेपालमा डेटा सेन्टर निर्माणका लागि लगानी गर्ने भएको छ। इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकसँगको सहकार्यमा मेटाले करिब पाँच अर्ब रुपैयाँ लगानी गर्ने समझदारी गरेको हो।

फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, ह्वाट्सएप, थ्रेड्सलगायतका लोकप्रिय प्लेटफर्म सञ्चालन गर्ने मेटा विश्वका ‘टप–६ बिग टेक’ कम्पनीमध्ये एक हो। नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या उच्च रहेको सन्दर्भमा मेटाको यो लगानीलाई महत्वपूर्ण मानिएको छ।

वर्ल्डलिंकले काठमाडौंको मातातीर्थमा पहिलेदेखि नै डेटा सेन्टर सञ्चालन गर्दै आएको छ। सोही पूर्वाधारलाई उपयोग र विस्तार गर्दै मेटाले नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न लागेको हो।

दुवै कम्पनीबीच केही महिनाअघि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ (एनडीए) अर्थात् गोपनीयता सम्झौता भइसकेको थियो। हाल उनीहरूले अर्को चरणमा पुग्दै लगानी साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन्। यद्यपि, लगानीको विस्तृत विवरण आगामी साउन महिनामा मात्रै सार्वजनिक गरिने स्रोतले जनाएको छ।

नयाँ परियोजनाअनुसार नेपालमा ‘टायर–थ्री’ स्तरको डेटा सेन्टर निर्माण गरिनेछ। यस्तो डेटा सेन्टर अत्याधुनिक र उच्च भरपर्दो मानिन्छ, जहाँ प्रणाली बन्द नगरी नै मर्मत सम्भार गर्न सकिन्छ। बैंकिङ सेवा, फिनटेक, स्वास्थ्य क्षेत्रका डिजिटल रेकर्ड, क्लाउड सेवा, होस्टिङ तथा इकमर्सजस्ता उच्च ट्राफिक प्लेटफर्मका लागि यस्तो पूर्वाधार अनिवार्य मानिन्छ।

यस परियोजनामा स्थानीय साझेदारको रूपमा वर्ल्डलिंक रहनेछ। मेटाको यो लगानीले नेपालको डिजिटल पूर्वाधार सुदृढ बनाउने, डेटा सुरक्षामा सुधार ल्याउने तथा सूचना प्रविधि क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ९ : ५९ बजे