२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

देउवा दम्पतीविरुद्ध रेड नोटिस प्रक्रियामा ढिलाइ, इन्टरपोलद्वारा थप कागजात माग



पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवा विरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रियामा इन्टरपोलले थप कागजात माग गरेको छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले आवश्यक कागजात नपुगेको भन्दै एनसीबी काठमाडौंसँग थप विवरण माग गरेको हो। “रेड नोटिस अहिले प्रक्रियामै छ, इन्टरपोलले थप कागजात मागेको छ,” एक उच्च प्रहरी अधिकारीले बताएका छन्।

गत चैत २४ गते काठमाडौं जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको थियो।

रेड नोटिसका लागि एनसीबी काठमाडौंले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरिसकेको भए पनि आवश्यक कागजात नपुगेकाले हालसम्म नोटिस जारी भएको छैन।

पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती विदेशमा रहेका थिए। उनीहरू गत १४ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए भने ७ चैतमा हङकङ पुगेको बताइएको छ। हाल पनि उनीहरू हङकङमै रहेको स्रोतको दाबी छ।

रेड नोटिस जारी भएमा इन्टरपोलका १९६ सदस्य राष्ट्रहरूले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन्। त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउन सकिनेछ।

पक्राउ पुर्जी जारी भएपछि देउवाले वक्तव्य जारी गर्दै आफू “खुला किताब” रहेको बताएका थिए। उनले सम्पत्तिसम्बन्धी आरोपहरू भ्रामक र झुटा भएको दाबी गर्दै सार्वजनिक पदमा रहँदा सम्पत्तिको विवरण सरकारी निकायमा पेस गरिसकेको उल्लेख गरेका थिए।

यस प्रकरणमा देउवाका नातेदारहरू प्रदीप शमशेर जबरा, भूषण राणा र जयवीर देउवा लगायतको कारोबारबारे पनि अनुसन्धान जारी रहेको जनाइएको छ। यसअघि आरजु राणा देउवाको नाम नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत जोडिएको आरोप लागेको थियो।

यसैबीच, जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी र आक्रमण भएको थियो भने त्यहाँ जलेका नोटहरू फेला परेको भिडियो सार्वजनिक भएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले अनुसन्धान अघि बढाएको थियो।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  १० : ०३ बजे