१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

भ्रष्टाचार मुद्दामा चीनका दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्ड



चीनका दुई पूर्व रक्षामन्त्री वेइ फेङहे र ली साङ्फुलाई भ्रष्टाचार मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार उनीहरूको मृत्युदण्ड दुई वर्षपछि जन्मकैदमा रूपान्तरण गरिनेछ ।

राष्ट्रपति सी चिनफिङ नेतृत्वको भ्रष्टाचारविरुद्धको अभियानअन्तर्गत उनीहरुसहित धेरै उच्च सैन्य अधिकारीहरू कारबाहीमा परेका थिए ।

सैन्य अदालतले वेइलाई घुस लिएको तथा लीलाई घुस स्वीकार्नुका साथै घुस दिन प्रस्ताव गरेको अभियोगमा दोषी ठहर गरेको हो । अदालतले उनीहरूलाई जीवनभर राजनीतिक अधिकारबाट वञ्चित गर्ने तथा सम्पूर्ण सम्पत्ति जफत गर्ने आदेश पनि दिएको छ ।

सिन्ह्वाका अनुसार मृत्युदण्डलाई दुई वर्षपछि जन्मकैदमा रूपान्तरण गरिएपछि उनीहरूलाई जीवनभर रिहा नगरिनेछ ।

सन् २०१२ मा राष्ट्रपति सी चिनफिङले भ्रष्टाचारविरुद्ध व्यापक अभियान सुरु गरेयता चिनियाँ सैन्य अधिकारीहरूलाई दिइएको यो सबैभन्दा कठोर सजाय मानिएको छ ।
– एजेन्सी

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  १० : १० बजे