१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

जेफ्री एप्स्टिनको भनिएको ‘सुसाइड नोट’ सार्वजनिक गर्न अमेरिकी अदालतको आदेश



अमेरिकी अदालतले यौन अपराधमा दोषी ठहर भएका वित्तीय व्यवसायी जेफ्री अप्स्टिनले आत्महत्या गर्नुभन्दा एक महिना अघि लेखेको भनिएको नोट सार्वजनिक गर्न आदेश दिएको छ ।

बुधबार सार्वजनिक गरिएको हस्तलिखित नोटमा महिनौँसम्मको अनुसन्धानले “केही पनि फेला नपारेको” उल्लेख गर्दै “आफ्नो विदाइको समय आफैं रोज्न पाउनु विशेष कुरा हो” भनिएको छ ।

एप्स्टिनका पूर्व सेलमेट निकोलस टार्टाग्लियोनले उक्त नोट सन् २०१९ जुलाईमा एप्स्टिनले आत्महत्याको प्रयास गरेपछि एउटा पुस्तकभित्र फेला पारेको दाबी गरिएका छन् । त्यसको एक महिनापछि एप्स्टिन आफ्नो जेल कोठामा मृत भेटिएका थिए । अमेरिकी अधिकारीहरूले उनको मृत्यु आत्महत्या भएको निष्कर्ष निकालेका थिए ।

यद्यपि, उक्त नोट वास्तवमै एप्स्टिनले नै लेखेको हो भन्ने स्वतन्त्र पुष्टि भने भएको छैन । अमेरिकी न्याय विभागले पनि यसबारे औपचारिक टिप्पणी गरेको छैन ।

एप्स्टिन मानव बेचबिखनसम्बन्धी मुद्दाको सुनुवाइको प्रतीक्षामा रहेका बेला उनको मृत्यु भएको थियो । नोट सार्वजनिक भएको मुद्दा टार्टाग्लियोनसँग सम्बन्धित फौजदारी कार्यवाहीअन्तर्गत अदालतमा गोप्य रूपमा राखिएको थियो ।

टार्टाग्लियोन पूर्व प्रहरी अधिकारी हुन्, जो चार जनाको हत्या अभियोगमा दोषी ठहर भएका थिए । एप्स्टिनले उनलाई आफूलाई आक्रमण गरेको आरोप लगाएका थिए, तर उनले त्यसलाई अस्वीकार गरेका थिए । उनले गत वर्ष एक पोडकास्टमार्फत उक्त नोटको अस्तित्वबारे पहिलोपटक सार्वजनिक रूपमा चर्चा गरेका थिए ।

अदालतले सार्वजनिक गरेको नोटमा “उनीहरूले मलाई महिनौँ अनुसन्धान गरे, केही फेला पारेनन्” भन्ने वाक्य लेखिएको छ । साथै, “रुँदै बसूँ भन्ने चाहनुहुन्छ? कुनै रमाइलो छैन, यसको कुनै अर्थ छैन” भन्ने शब्द पनि समावेश छन् । नोट केवल सात लाइनको रहेको र त्यसको वास्तविक अर्थ अझै अस्पष्ट रहेको बताइएको छ ।

न्युयोर्क टाइम्सले उक्त नोट गोप्य राख्नुपर्ने कुनै कारण नरहेको भन्दै अदालतसँग सार्वजनिक गर्न माग गरेको थियो । संघीय अभियोजकहरूले पनि नोट सार्वजनिक गर्न समर्थन गरेका थिए ।

न्यायाधीश केनेथ एम करासले नोट सार्वजनिक गर्ने आदेश दिँदै यसले न्याय प्रणालीप्रति जनविश्वास बढाउने बताएका छन्। उनले टार्टाग्लियोनले सार्वजनिक रूपमा नोटबारे बारम्बार चर्चा गरिसकेकाले गोपनीयताको अधिकार स्वतः समाप्त भएको निष्कर्ष पनि निकाले।

एप्स्टिनको मृत्यु भएको रात जेल सुरक्षामा गम्भीर कमजोरी भएको संघीय प्रतिवेदनले देखाएको थियो। त्यसयता उनको मृत्युबारे विभिन्न अड्कलबाजी र षड्यन्त्रसम्बन्धी चर्चा निरन्तर भइरहेका छन्।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  १० : ४८ बजे