१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित



विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित भएको छ। सरकारी उच्च स्रोतका अनुसार आगामी मे ११ देखि हुने भनिएको दुई दिने भ्रमण हालका लागि सारिएको हो ।

बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि भारत ले विदेश सचिव मिश्रीलाई काठमाडौं पठाउने निर्णय गरेको थियो । नयाँ सरकारका प्राथमिकता बुझ्ने तथा द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिने उद्देश्यसहित भ्रमण तय गरिएको बताइए पनि अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

भारतीय पक्षले मिश्रीको अन्य व्यस्तता र प्रतिबद्धताका कारण भ्रमण सारिएको जानकारी नेपाललाई दिएको छ । तर भ्रमण स्थगित हुनुको वास्तविक कारणबारे भने नयाँदिल्लीले स्पष्ट खुलाएको छैन ।

यसबीच भारतले लिपुलेक विवादमा नेपालको अडानलाई फेरि अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवाल ले बिहीबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा लिपुलेक–कैलाश मानसरोवर मार्ग नयाँ विषय नभएको दाबी गरे ।

उनले उक्त मार्ग सन् १९५४ देखि सञ्चालनमा रहेको उल्लेख गर्दै नेपालले उठाएको सीमा सम्बन्धी दाबीलाई “त्रुटिपूर्ण” बताएका छन् । जैसवालले बाँकी सीमा विवाद वार्ताबाट समाधान गर्न भारत तयार रहेको बताए पनि “एकतर्फी दाबी गर्ने शैली उचित नभएको” टिप्पणी गरे ।

नेपाल सरकारले वैशाख २० गते नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लागेको भन्दै दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो । त्यसको भोलिपल्ट भारतले नेपाललाई जवाफ पठाउँदै नेपाली दाबीप्रति असहमति जनाएको थियो । बिहीबार पुनः भारतले आफ्नो पुरानै अडान दोहोर्याएको हो ।

यद्यपि भारतीय पक्षले नेपालसँगको आर्थिक तथा रणनीतिक सहकार्य निरन्तर रहने जनाएको छ । प्रवक्ता जैसवालले पेट्रोलियम पदार्थ र रासायनिक मल आपूर्ति दुई देशबीचको सम्झौताअनुसार नियमित रूपमा भइरहेको र आगामी दिनमा पनि जारी रहने बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ७ : ४४ बजे