राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको छ । पार्टी निर्वाचन आयोगका उपप्रमुख राम गुरूङका अनुसार महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न चरणको कार्यसूची तय गरिएको हो ।
सार्वजनिक कार्यतालिकाअनुसार जेठ ७ गतेदेखि १५ गतेसम्म देशका ७७ जिल्ला तथा सातवटै प्रदेशमा निर्वाचन समिति गठन गरिनेछ । साथै जेठ ७ देखि १० गतेसम्म आधिकारिक परिपत्र तथा माइन्युटको प्रतिलिपि पठाउन निर्वाचन आयोगलाई निर्देशन दिइएको छ ।
त्यस्तै जेठ २० गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनका प्रतिवेदन संकलन गर्ने कार्यतालिका तय गरिएको छ भने जेठ ३० गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचनसम्बन्धी प्रतिवेदन पेस गरिसक्नुपर्नेछ ।
पार्टीले जेठ २५ गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली पेस गर्नुपर्ने व्यवस्था गरेको छ। यस्तै असार ५ गतेसम्म प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण केन्द्रीय तहमा बुझाउने कार्यतालिका रहेको छ ।
रास्वपाले महाधिवेशन प्रक्रियामा प्रविधिको प्रयोगबारे पनि छलफल गर्ने भएको छ । कार्यतालिकाअनुसार असार ५ गतेभित्र इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने विषयमा आवश्यक छलफल गरिने उल्लेख गरिएको छ ।









