दाङको तुलसीपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने एक जना फरार रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँका २४ वर्षीय ओम चौधरी र २२ वर्षीय राजेन्द्र चौधरी रहेका छन् । सोही ठाउँका अन्दाजी २५ वर्षीय राजेश चौधरी भने फरार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार ओम र पीडित किशोरीबीच प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ओमले प्रेम विवाह गर्ने आश्वासन दिँदै जेठ ५ गते राति किशोरीलाई भेट्न बोलाएको र त्यस क्रममा आफ्ना साथीहरू राजेन्द्र र राजेशलाई समेत साथमा लगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार किशोरीको घरबाट केही टाढा रहेको एकान्त खेतमा उनीहरूको भेट भएको थियो । ओमले किशोरीलाई भगाएर त्यही रात आफ्नो घर लैजाने आश्वासन दिएका थिए । त्यसक्रममा उनले शारीरिक सम्बन्धका लागि करकाप तथा दबाब दिएको र पछि उनका साथीहरू पनि आएर किशोरीलाई डर, धम्की र त्रास देखाउँदै पालैपालो बलात्कार गरेको आरोप छ ।
घटनापछि तीनै जना किशोरीलाई घटनास्थलमै छाडेर घर फर्किएको प्रहरीले जनाएको छ ।
घटनाको भोलिपल्ट बिहान पीडित किशोरी आफन्तको सहयोगमा इलाका प्रहरी कार्यालय तुलसीपुर पुगेकी थिइन् । उनले तीनै जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले तत्काल खोजी अभियान चलाएर दुई जनालाई पक्राउ गरेको थियो ।
फरार रहेका राजेश चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी होमबहादुर पराजुलीका अनुसार पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप गरी “जबरजस्ती सामूहिक करणी” मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।









