जापानको नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले दुई कांस्य पदकमा चित्त बुझाउँदै आफ्नो यात्रा टुङ्ग्याएको छ ।
पछिल्ला दुई संस्करणहरू (२०१८ को इन्डोनेसिया एसियाडमा प्याराग्लाइडिङ र २०२३ को हाङचाउ एसियाडमा करातेकी एरिका गुरुङ) मा नेपालले रजत पदक जितेको पृष्ठभूमिमा यसपटक स्वर्णको लक्ष्य राखिए पनि नतिजाका हिसाबले नेपालको पदक स्तर खस्किएको विश्लेषण गरिएको छ ।
नागोयामा नेपालका लागि पहिलो पदक करातेका तेन्जिङ शेर्पाले दिलाएका थिए । उनले ६८ केजीमाथि तौल समूहको रिपिचेजमा लाओसका सायासान भाथानालाई ९ अंक (इप्पोनसहित) ले पराजित गर्दै कांस्य जितेका हुन् । स्वर्णको मुख्य दाबेदार मानिएकी एरिका गुरुङ भने ६८ केजीमाथिको सेमिफाइनलमा काजकिस्तानकी सोफ्या ब्रुरुत्सेभासँग खेल सकिन २ सेकेन्ड बाँकी छँदा अग्रता गुमाउन पुग्दा पराजित भइन् । त्यसपछि रिपिचेजको कांस्य भिडन्तमा साउदी अरेबियाकी मुस्ताफा डिना अहमदसँग ८–७ ले पराजित हुँदै एरिका पदकरहित बनिन् ।
त्यस्तै, नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो पटक एसियाडमा कांस्य पदक जितेर इतिहास रचेको छ । कप्तान मानमती विष्टको नेतृत्वमा रहेको टोलीले समूह चरणको निर्णायक खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो। सेमिफाइनलमा भारतसँग पराजित भए पनि कबड्डी टोलीले चीनमा जितेको कांस्यलाई निरन्तरता दिँदै आफ्नो पदक सुरक्षित गरेको छ।
जापानमा आयोजित यस एसियाडमा नेपालका तर्फबाट २१ खेलका १३५ खेलाडी सहभागी भएका थिए। यद्यपि, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ‘मिसन २०२६’ मार्फत निरन्तर प्रशिक्षण र अन्तर्राष्ट्रिय एक्सपोजर दिएर स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने महत्त्वाकांक्षी लक्ष्य राखेको भए पनि कराते, कबड्डी, क्रिकेट, गल्फ र क्यानोइङबाहेक अन्य खेलमा नेपाली खेलाडीले खासै चुनौती दिन सकेनन्।
क्रिकेटमा नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरे पनि जापान र श्रीलंकाविरुद्धका पछिल्ला खेलहरू वर्षाका कारण रद्द हुँदा कम वरीयताका आधारमा क्वाटरफाइनलबाटै बाहिरिनुपर्यो। गल्फमा सुवास तामाङले चारै दिन उत्कृष्ट प्रदर्शन गर्दै २३औँ स्थान हासिल गरे। एथलेटिक्सतर्फ मुकेश पालले ५ हजार मिटर दौडमा (१४ मिनेट ०३.६१ सेकेन्ड) र सोमबहादुर कुमालले ८०० मिटर दौडमा (१ मिनेट ४८.९५ सेकेन्ड) नयाँ राष्ट्रिय कीर्तिमान बनाए पनि उनीहरू पदक वा फाइनल चरणसम्म पुग्न सकेनन्। जुडो, कुस्ती र बक्सिङका अधिकांश खेलाडीहरू भने पहिलो चरणमै म्याटबाट बाहिरिए।
राखेपका उपाध्यक्ष एवं सेफ द मिसन विशाल श्रेष्ठ र राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक विष्टले सोचेअनुरूप नतिजा आउन नसके पनि यस एसियाडको विस्तृत समीक्षा गर्दै दीर्घकालीन योजना र वैदेशिक एक्सपोजरका साथ अघि बढ्नुपर्ने बताएका छन्।
यसैबीच, नागोयास्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा आइतबार १६ दिनसम्म चलेको २०औँ एसियाली खेलकुदको औपचारिक समापन भएको छ। समापन समारोहमा ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को झन्डा आगामी २१औँ संस्करण (२०३०) को आयोजक राष्ट्र कतारलाई हस्तान्तरण गरिएको छ। नागोया एसियाडमा १६९ स्वर्णसहित कुल ३४१ पदक जितेर चीन शीर्ष स्थानमा रह्यो भने आयोजक जापान दोस्रो र दक्षिण कोरिया तेस्रो स्थानमा रहे।









