१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित



काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेका छन् । ‘सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीतको कार्य गरेको’ आरोपमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्दराज काफ्लेद्वारा जारी विज्ञप्ति अनुसार, सशस्त्र प्रहरी बल, नेपालबाट प्राप्त कारबाहीको सिफारिसका आधारमा उनलाई निलम्बन गरिएको हो। मन्त्रालयले दाहाललाई निलम्बन गर्दै उनीमाथि लागेको आरोपबारे तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी प्रतिवेदन पेस गर्न एक समितिसमेत गठन गरेको छ।

मन्त्रालयले दाहालले कुन प्रकारको सूचना चुहावट गरेका हुन् भन्ने विषय सार्वजनिक गरेको छैन। तर, सशस्त्र प्रहरी स्रोतका अनुसार गत ११ असोजको बिहान पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई विना अनुमति भेटेको विषय उनीमाथिको छानबिनको मुख्य कारण बनेको छ।

सुरक्षा चुनौती रहेको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई मध्यराति उनकै निवासबाट प्रहरी कार्यालय ल्याएको थियो। जबराका ‘नातेदार’समेत रहेका एआईजी दाहाल त्यसपछि उनलाई भेट्न प्रहरी कार्यालय पुगेको सशस्त्र प्रहरीका उच्च अधिकृतहरूको दाबी छ।

आगामी २७ असोजमा चार वर्षे पदावधि पूरा गरी अवकाशमा जान लागेका दाहालको म्याद थपका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गत बुधबार मात्रै गृह मन्त्रालयमा सिफारिस पठाएको थियो। सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा सरकारले एआईजी र डीआईजीको पदावधि एक वर्ष थप गर्न सक्ने प्रावधान छ, जसअनुसार धेरैजसो अधिकारीहरूको म्याद थपिने गरेको थियो।

यस निलम्बनसँगै दाहालको पदावधि थप नभए उनी सोझै अवकाशमा जानेछन्। दाहाल अवकाशमा गएको खण्डमा रिक्त हुने एआईजी पदका लागि हालका वरिष्ठ प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १० : ४५ बजे