१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

कांग्रेस १५औँ महाधिवेशन: संशोधित विधान सर्वसम्मतिले पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने



काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन खुलामञ्चमा जारी बन्द सत्रले महामन्त्री प्रदीप पौडेलद्वारा पेस गरिएको संशोधित विधान पारित गरेको छ। सोमबारको बन्द सत्रले विधान संशोधन प्रस्ताव स्वीकृत गरेसँगै पार्टीको नयाँ सांगठनिक ढाँचा तय भएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेले सञ्चारकर्मीहरूलाई जानकारी दिए अनुसार नयाँ विधानबमोजिम कांग्रेसको केन्द्रीय कार्यसमिति कुल २९७ सदस्यीय हुनेछ। शीर्ष नेतृत्व तहमा एक सभापति, एक वरिष्ठ उपसभापति, एक महिला अनिवार्यसहित चार उपसभापति, एक महिला अनिवार्यसहित तीन महामन्त्री र १५ सहमहामन्त्री रहने व्यवस्था गरिएको छ। यस्तै, कोषाध्यक्ष केन्द्रीय सदस्यहरूमध्येबाट एक जना चुनिनेछन् भने एक प्रवक्ता र सहप्रवक्ताको समेत व्यवस्था गरिएको छ।

केन्द्रीय समिति सदस्यहरूतर्फ खुलाबाट ४५ जना र खुला महिलातर्फ १५ जना चयन हुनेछन्। भौगोलिक प्रतिनिधित्व सुनिश्चित गर्न हरेक प्रदेशबाट एक महिलासहित चार जना र काठमाडौँ उपत्यकाबाट एक महिलासहित दुई जना निर्वाचित हुनेछन्। समावेशीतातर्फ दलितबाट पाँच महिला र एक मधेसीसहित १४ जना, आदिवासी जनजातितर्फ आठ महिलासहित २० जना, खस आर्यतर्फ आठ महिलासहित १८ जना तथा मधेसीतर्फ पाँच महिलासहित १३ जना रहने व्यवस्था विधानले गरेको छ।

त्यसैगरी जनसम्पर्क समितिबाट दुई महिलासहित सात जना, पिछडिएको क्षेत्रबाट तीन जना, थारू समुदायबाट दुई महिलासहित छ जना, श्रमिकबाट एक महिलासहित तीन जना, पेसागत विज्ञबाट दुई महिलासहित सात जना, अपाङ्गता भएका व्यक्तिहरूबाट एक जना र प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य हुनेछन्। युवाको सहभागिता बढाउन सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवालाई समेटिने छ भने बाँकी ६६ जना केन्द्रीय सदस्य पछि केन्द्रीय कार्यसमितिले मनोनित गर्नेछ।

सोमबार नै विधान पारित गरिनुको मुख्य कारण मङ्गलबार बिहान १० बजेदेखि हुने उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया रहेको बताइएको छ। सोमबार विधान पारित भए तापनि सभापति, उपसभापति र कोषाध्यक्षले पेस गरेका प्रतिवेदनहरू भने मङ्गलबार बस्ने बन्द सत्रले पारित गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ११ : १९ बजे