२३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026

नेपालमै पहिलोपटक स्वदेशमै विकसित ‘सीएआर–टी सेल’ थेरापीबाट क्यान्सरको सफल उपचार



काठमाडौँ । नेपालको क्यान्सर उपचार क्षेत्रमा एउटा ऐतिहासिक सफलता हासिल भएको छ । पहिलोपटक स्वदेशमै विकास गरिएको ‘सीएआर–टी सेल्स’ प्रविधिमार्फत एक ब्लड क्यान्सरका बिरामीको सफल उपचार सुरु गरिएको छ ।

द सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा गत असोज ११ गते एक ब्लड क्यान्सरका बिरामीलाई उक्त सेल दिइएको शुक्रबार घोषणा गरेको हो । बिरामीको आर्थिक अवस्था कमजोर रहेको र नेपालमै पहिलो प्रयोग भएकाले सीआरएम नेपालले यो सेवा निःशुल्क उपलब्ध गराएको छ ।

रक्त तथा क्यान्सर रोग विशेषज्ञ डा. अन्जन श्रेष्ठ र डा. प्रशुन उपाध्याय नेतृत्वको वरिष्ठ चिकित्सक समूहले बिरामीलाई सेल इन्फ्युजन गराएको थियो । चिकित्सकहरूका अनुसार उपचारपछि बिरामीको स्वास्थ्य अवस्था स्थिर र क्रमिक रूपमा सुधारोन्मुख रहेको छ । बिरामीलाई हाल विशेष निगरानीमा राखेर नियमित प्रतिक्रिया र अवस्था मूल्याङ्कन भइरहेको डा. श्रेष्ठले जानकारी दिएका छन् ।

डा. श्रेष्ठले यो सफलतालाई नेपालको क्यान्सर उपचार क्षेत्रमा नयाँ कोशेढुङ्गाको संज्ञा दिएका छन् । यस प्रविधिको सफल प्रयोगले निश्चित प्रकारका रक्त क्यान्सरको उपचारका लागि चीन र भारतजस्ता छिमेकी मुलुकमा धाउनुपर्ने बाध्यता घटाउने विश्वास व्यक्त गरिएको छ । विशेष गरी केमोथेरापी गर्दा पनि रोग बल्झिएका वा अन्य औषधिले काम गर्न छाडेका बिरामीका लागि यो थेरापी अत्यन्तै उपयोगी हुने मानिन्छ ।

अमेरिका र बेलायतजस्ता विकसित मुलुकमा एक दशकअघि नै प्रयोगमा आइसकेको यो उन्नत प्रविधि नेपालजस्तो देशमा यति चाँडै उपलब्ध हुनुलाई चिकित्सा जगत्‌मा ठूलो उपलब्धि मानिएको छ । सीएआर–टी सेल थेरापीमा बिरामीकै शरीरबाट टी–सेल अर्थात् प्रतिरोधी कोष निकालेर ल्याबोरेटरीमा क्यान्सर कोष पहिचान गरी नष्ट गर्न सक्ने गरी आनुवंशिक रूपमा परिमार्जन गरिन्छ । त्यसपछि ती परिमार्जित कोषहरूलाई प्रयोगशालामा संख्या बढाएर पुनः बिरामीको शरीरमा प्रवेश गराइन्छ । सीआरएम नेपालको यो पहिलो प्रोडक्टले विशेष गरी ‘सीडी१९’ लाई लक्ष्य गरी निश्चित प्रकारका रक्त क्यान्सरका कोष नष्ट गर्न मद्दत गर्छ ।

अमेरिकामा कार्यरत नेपाली इम्युनोलोजिस्ट डा. सञ्जीवन गौतमले सन् २०२२ देखि यसको विकासमा मुख्य भूमिका खेलेका थिए । सेल इन्फ्युजनपछि बिरामीको रगतमा फाइदा पुगेको र सुरुवाती नतिजा निकै उत्साहजनक देखिएको उनले बताएका छन् । सीआरएम नेपालको यस ‘सीडी१९ सीएआर–टी सेल’ प्रोडक्टले सन् २०२६ मा नेपालमा क्लिनिकल प्रयोगका लागि आधिकारिक अनुमति पाएको थियो । यस प्रविधिको सफलतामा लिंकन युनिभर्सिटीका प्राध्यापक डा. ओम कुर्मी, डा. सुधांशु केसी, आनुवंशिकीविद् बलराम गौतम, लुसा गटिनोनी, र डा. दिलीप शर्मा लगायतको महत्त्वपूर्ण सहयोग रहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ८ : ०५ बजे