१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

सिन्धुपाल्चोकका ४९ विद्यार्थीलाई हेल्पको छात्रवृत्ति


१ भाद्र २०७६, आइतबार  

0
Shares

काठमाडौंहेलम्बु इजुकेसन एन्ड लाइभ्लीहुड पार्टनरसिप(हेल्प)ले ४९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । शनिबार काठमाडौंको मुलपानीस्थित होटल ग्र्यान्ड नोर्लिङमा आयोजित कार्यक्रममा छात्रवृत्ति प्रदान गरिएको हेल्पका अध्यक्ष जिम्मी लामाले जानकारी दिए ।
सिन्धुपाल्चोक जिल्लाका उच्च माविमा अध्ययनरत विद्यार्थीलाई उनीहरुको शैक्षिक क्षमताका आधारमा विभिन्न विषयका लागि छात्रवृत्ति प्रदान गरेको हो । विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुमध्ये २० जना पाँचपोखरी गाउँपालिकाका रहेका छन् । गाउँपालिकासँगको सहकार्यमा छात्रवृत्ति प्रदान गरिएको हो ।

कार्यक्रममा लगार्चेका सुवाष तामाङ नगद एक लाख र दुबाचौरकी सन्ध्यापुरी नगद ७५ हजार छात्रवृत्ति प्रदान गरिएको थियो । हेल्पले सिन्धुपाल्चोकको शैक्षिक क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले भूकम्पपछि १३ विद्यालय भवनसमेत पुनर्निमाण गरेको थियो भने विभिन्न ५० स्कुलसँग शैक्षिक वृत्तिविकासका लागि सहकार्य गर्दै आएको छ ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ, शिक्षाविद् डा विद्यानाथ कोइराला, पाँचपोखरी थाङपाल गाउँपालिकाका प्रमुख टासी लामा, डा चिन्तामणि योगी, कृष्णगोपाल तामाङ, प्रिय सिग्देल, मनिष झा, रमन नेपालीलगायत उपस्थित थिए ।

कार्यक्रममा सामुदायिक विद्यालयमा पुर्‍याएको योगदानको कदर गर्दै यङरिमा स्कुलका प्रमुख गोपाल लामा, भोटेनम्लाङ माविका सुके तामाङ र रिसङखुमनी स्कुलका तेजनाथ भण्डारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : ३४ बजे