२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

सन्दीप लामिछानेबाट बलात्कार पीडितको तस्बिर सार्वजनिक गर्ने व्यक्ति पक्राउ



क्रिकेटर सन्दीप लामिछाने दोषी करार भएको जबरजस्ती करणी मुद्दामा पीडित किशोरी गौशाला २६ को वास्तविक तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले संखुवासभाको चिचिला गाउँपालिका–२ का ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरी काठमाडौं ल्याएको हो । राईले सो मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसलापछि त्यसबारे टिप्पणी गर्दै सामाजिक सञ्जालमार्फत् पीडित किशोरीको तस्विर सार्वजनिक गरेका थिए ।

त्यसबारे पीडित किशोरीको जाहेरीका आधारमा नेपाल प्रहरीको साइबर व्यूरोले राईलाई चिचिलाबाटै पक्राउ गरेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।
प्रहरीले उनलाई बुधबारै काठमाडौं ल्याएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका राईविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कानूनको व्यवस्थाबमोजिमको मुद्दामा अनुसन्धान अघि बढाइएको छ । लामिछानेलाई गौशाला २६ लाई बलात्कार गरेको आरोपमा अदालतले दोषी ठहर गर्दै ८ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो ।

किशोरीको तस्बिर सार्वजनिक गर्ने अन्यको सम्बन्धमा पनि प्रहरीले छानविन गरिरहेको छ । त्यसमध्ये केही विदेशमा समेत रहेको उल्लेख गर्दै प्रहरीले यसअघि विदेशबाट पनि झिकाउन सकिने जनाएको थियो ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ५ : ५३ बजे