१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

दुई तिहाइ सरकारको डरमा न्याय सम्भव हुँदैन : कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल



सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ बहुमतको सरकारको दबाब र प्रभावमा निष्पक्ष न्याय सम्भव नहुने स्पष्ट पारेकी छन्।

७४औँ कानुन दिवस का अवसरमा शनिबार सर्वोच्च अदालत ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले न्यायाधीशहरूलाई कुनै पनि प्रकारको डर, दबाब वा प्रभावबाट मुक्त भएर साहसपूर्वक काम गर्न आह्वान गरिन्।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा अध्यक्षसमेत उपस्थित कार्यक्रममा मल्लले भनिन्, “डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुई तिहाइको सरकारको डर नै किन नहोस्, चाहे त्यो महाअभियोगको डर नै किन नहोस्।”

उनले न्यायपालिका संविधानको ‘स्पिरिट’ अनुसार चल्नुपर्ने बताउँदै कार्यपालिका वा राजनीतिक शक्तिको इच्छाअनुसार न्यायिक निर्णय हुन नहुने धारणा राखिन्। “सरकारको स्पिडमा होइन, संविधानको स्पिरिटमा न्यायपालिका चल्नुपर्छ,” उनले भनिन्।

कामु प्रधानन्यायाधीश मल्लले वर्तमान अवस्थालाई गम्भीर र कहालीलाग्दो भन्दै संविधानवाद, विधिको शासन, नागरिक हकअधिकार र न्यायपालिकाको स्वतन्त्रता जोगाउन सबै सरोकारवालालाई एकजुट हुन अपिल गरिन्। उनले नेपाल बार एशोसियसन, सञ्चारमाध्यम, नागरिक समाज र आम नागरिकलाई न्यायपालिकाको मर्यादा र स्वतन्त्रताको पक्षमा उभिन आग्रह गरिन्।

आफू कानुन व्यवसायी हुँदादेखि नै विभेद र अन्यायविरुद्ध लड्दै आएको स्मरण गर्दै उनले सक्षम, स्वच्छ र सही न्यायका लागि संघर्ष अझै जारी रहेको बताइन्।

मल्लले संविधानको उल्लंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म विधिको शासन सुदृढ हुन नसक्ने चेतावनी दिँदै संवैधानिक सर्वोच्चता कमजोर पार्ने कुनै पनि प्रयास अन्ततः लोकतन्त्र र न्यायपूर्ण समाजका लागि घातक हुने उल्लेख गरिन्।

उनले राज्यका तीनै अंगबीच समन्वय र सौहार्द कायम रहने विश्वास व्यक्त गर्दै कानुन दिवसले लोकतन्त्र, संविधान र विधिको शासनप्रतिको प्रतिबद्धता थप सुदृढ बनाउने अपेक्षा व्यक्त गरिन्।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ११ : २० बजे