१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

एमालेमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल गठन



नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)ले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा कार्यदल गठन गरेको छ । आइतबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार कार्यदललाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ । कार्यदलमा विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविराज विश्वकर्मा, पद्मा अर्याल र भानुभक्त ढकाल सदस्य रहेका छन् । साथै ९ वटै प्रदेशका इन्चार्जहरू पनि कार्यदलमा समावेश गरिएको बताइएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले पार्टीभित्र नेतृत्व पुनर्गठनको विषयमा छलफल गर्नसमेत कठिन अवस्था रहेको खुलासा गरे । उनले “पुनर्गठनको नामै सुन्न नचाहने र एजेन्डा नै प्रवेश गर्न नदिने अवस्था” देखिएको भन्दै समीक्षा र पुनर्गठनलाई एकसाथ अघि बढाउन आवश्यक महसुस भएको बताए ।

उनका अनुसार कार्यदलले असार १० गतेभित्र प्रदेश तथा जनसंगठनहरूको रायसुझाव संकलन गरी प्रतिवेदन बुझाउनेछ । पुनर्गठनको मोडालिटी र प्रक्रिया कार्यदलभित्र थप छलफल गरेर तय गरिने उनले बताए ।

यसैबीच एमालेले सरकारविरुद्ध सदन र सडक दुवैबाट “भण्डाफोर अभियान” सञ्चालन गर्ने निर्णय पनि गरेको छ । सचिवालय बैठकले वर्तमान सरकार लोकतान्त्रिक मार्गबाट विचलित हुँदै स्वेच्छाचारी र अधिनायकवादी दिशातर्फ उन्मुख भएको निष्कर्ष निकालेको जनाएको छ ।

उपमहासचिव लेखराज भट्टले संसद बैठक स्थगित गरेर अध्यादेश ल्याइएको, सुकुमवासीलाई अव्यवस्थित ढंगले विस्थापित गरिएको, सीमामा अव्यावहारिक कडाइ गरिएको तथा प्रधानन्यायाधीश नियुक्तिमा वरीयता मिचिएको भन्दै सरकारको आलोचना गरे। प्रधानमन्त्रीले राष्ट्रपतिको अपमान गरेको तथा संसदीय मर्यादाको उल्लंघन गरेको आरोपसमेत एमालेले लगाएको छ ।

एमालेले महँगी नियन्त्रणमा सरकार असफल भएको, दलित तथा महिलामाथिको हिंसा बढ्दासमेत सरकार मौन बसेको र उद्योगी–व्यवसायीलाई निरुत्साहित बनाउने काम भइरहेको आरोप पनि लगाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  १० : ३२ बजे