२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

सशस्त्र प्रहरी विद्यालयको ११ करोड हिनामिना : दुई जनालाई ७ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित सशस्त्र प्रहरी विद्यालयको करिब ११ करोड रुपैयाँ हिनामिनाको आरोपमा पक्राउ परेकी विद्यालयकी लेखापाल सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) कल्पना गुरुङ र उनका साथी ट्राभल एजेन्सी सञ्चालक लीला लामालाई जिल्ला अदालत काठमाडौंले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

गत शनिबार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धानका लागि सोमबार अदालतमा उपस्थित गराएको थियो । अदालतले पहिलो चरणमा सात दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

सशस्त्र प्रहरीले विद्यालयको करिब ११ करोड रुपैयाँ हिनामिना भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको थियो । सोही आधारमा नेपाल प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

प्रहरीका अनुसार कल्पना गुरुङ विगत ६ वर्षदेखि विद्यालयमा लेखापालका रूपमा कार्यरत थिइन् । विद्यालयबाट संकलित रकम सशस्त्र प्रहरीको कल्याण महाशाखाअन्तर्गतको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था भए पनि उक्त रकम न त कोषमा जम्मा भएको थियो, न विद्यालयकै खातामा रहेको पाइएको थियो ।

कल्याण महाशाखाले रकम बुझाउन ताकेता गरेपछि गुरुङले सुरुमा १५ दिन र त्यसपछि थप एक सातासहित २१ दिनको समय मागेकी थिइन् । तर, आफूले प्रतिबद्धता जनाएको अवधिसम्म पनि रकम जम्मा नगरेपछि सशस्त्र प्रहरीले आन्तरिक छानबिन सुरु गरेको थियो ।

सशस्त्र प्रहरी कल्याण महाशाखाअन्तर्गत सञ्चालन हुने विद्यालयको सम्पूर्ण आम्दानी प्रत्येक आर्थिक वर्षको असार मसान्तसम्म कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। महाशाखाले गत जेठमै आफ्नो मातहतका पेट्रोलपम्प, विद्यालय तथा सुपथ मूल्यका पसललाई रकम जम्मा गर्न निर्देशन दिएको थियो। अन्य निकायले रकम बुझाए पनि विद्यालयको रकम भने जम्मा नभएपछि शंका उत्पन्न भएको थियो।

त्यसपछि लेखापाल गुरुङलाई बोलाएर सोधपुछ गरिएको थियो । उनले सुरुमा दुई साताभित्र रकम जम्मा गर्ने प्रतिबद्धता जनाएकी थिइन् । उक्त अवधि बित्दा पनि रकम नआएपछि उनले फेरि एक साताको थप समय मागेकी थिइन् । तर त्यस अवधिमा पनि रकम कोषमा जम्मा नभएपछि सशस्त्र प्रहरीले कानुन निर्देशनालयका डीआईजी युवराज अर्यालको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिले गरेको अनुसन्धानमा विद्यालयको आम्दानी कोषमा नभई अर्कै व्यक्तिको खातामा गएको तथ्य फेला परेको थियो। अनुसन्धानका क्रममा उक्त रकम ट्राभल व्यवसायी लीला लामाको खातामा पुगेको खुलेपछि थप अनुसन्धान नेपाल प्रहरीले गर्नुपर्ने निष्कर्ष निकालिएको थियो।

सशस्त्र प्रहरीले त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुसन्धान र कानुनी कारबाहीका लागि पत्राचार गरेको थियो । सोही पत्रका आधारमा नेपाल प्रहरीले गुरुङ र लीला लामालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले बताएका छन् ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मेवारी हस्तान्तरण गरिएको र अहिले अनुसन्धानको नेतृत्व नेपाल प्रहरीले गरिरहेको बताए।

यसैबीच, घटनापछि सशस्त्र प्रहरीले विद्यालयका प्रमुख एसपी रामजंग पाण्डेलाई जिम्मेवारीबाट हटाएको छ। उनको स्थानमा एसपी लेखनाथ खनाललाई खटाइएको छ।

रकम कति, कसरी र कसको संलग्नतामा हिनामिना भयो भन्ने विषय नेपाल प्रहरीले गरिरहेको अनुसन्धानपछि मात्रै स्पष्ट हुने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  १० : ०१ बजे