७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ऐतिहासिक शिखर वार्तापछि कोरियामा शान्ति


२० आश्विन २०७५, शनिबार  

0
Shares

-बीके नेवा

दुई कोरियाबीच नाटकीय ढङ्गले तनावमा कमी आएको छ । उत्तर कोरिया र दक्षिण कोरिया साथै उत्तर कोरिया र अमेरिकाबीच शिखर वार्ता भएपछि तनावमा कमी आएको हो । उत्तर कोरिया र अमेरिकाबीच फेरि अर्को शिखर वार्ता हुने भएको छ । शत्रुतापूर्ण सम्बन्धबीच भएको वार्ताले उल्लेख्य प्रगति गरेसँगै कोरिया प्रायद्वीपमा स्थायी शान्ति कायम हुने आशा पलाएको छ । यसै वर्षभित्र दुवै कोरिया शान्ति सम्झौता गर्न तयार भएका छन् । यो सबैका लागि खुसीको विषय हो । वार्ता नभई आणविक युद्ध हुन्छ कि भन्ने त्रास फैलिएका बेला भएको शिखर वार्ताले सुखद सन्देश दिएको छ ।

 

लेखक

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले हालै उत्तर कोरियाको तीन दिवसीय भ्रमण (सेप्टेम्बर १८—२०) गर्नुभयो । प्योङयाङमा उत्तर कोरियाली नेता किमजोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुनबीच दोस्रो शिखर वार्ता सम्पन्न भयो । उत्तर कोरियाको भ्रमणमा दक्षिण कोरियाका राष्ट्रपति मुनलाई प्योङयाङमा भव्य स्वागत गरियो । द्विपक्षीय शिखरवार्ताका क्रममा उत्तर कोरियाका नेता किम र मुनबीच पहिलो शिखर वार्ताको सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भयो । दुवै नेताले दुई कोरियाबीचको तनाव हटाई मेलमिलाप कायम गर्न सहमत हुनुभयो । निशस्त्रीकरण गरी कोरियाली प्रायद्विपलाई आणविक हतियारमुक्त गराउन दुवै नेताबीच भएको सहमतिको स्वागत गरिएको छ ।
यसअघि गत अप्रिल २७ मा उहाँहरुबीच पहिलो शिखर वार्ता भएको थियो । शिखर वार्ताका लागि पहिलो पटक उत्तर कोरियाली नेता किम दक्षिण कोरियाली भूमिमा जानुभयो । ६५ वर्षपछि उहाँले दक्षिण कोरियाली भूमिमा पाइलो राख्नुभयो भने केही क्षणका लागि दक्षिण कोरियाली राष्ट्रपति मुनले पनि सीमा क्षेत्रमा उत्तर कोरियाली भूमिमा पाइलो राख्नुभयो । एक अर्काबीचको कटुता अन्त्य गर्दै एकअर्काको भूमिमा पाइला राख्दै दुवै नेताले शान्ति र मेलमिलापको सङ्केत गर्नुभयो । दुवै नेताबीच दक्षिण कोरियाको पान्मुन्जोमस्थितशान्तिगृह(पिस हाउस)मा सौहार्दपूर्ण वातावरणमा चरण चरणमा वार्ता भयो ।

यो शिखर वार्ताले ६५ वर्ष लामो युद्ध अन्त्यको घोषणा गरेको छ । यसै वर्षको अन्त्यसम्ममा शान्ति सम्झौतामा हस्ताक्षर गर्न दुवै नेता सहमत हुनुभएको छ । शिखर वार्ताको अन्त्यमा पान्मुन्जोम घोषणा पत्रमा दुवै नेताले हस्ताक्षर गर्नुभयो । दुवै नेताले अब युद्ध नगर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभयो । साथै, कोरिया प्रायद्विपलाई आणविक अस्त्र मुक्त क्षेत्र बनाउने, दुई कोरियाबीचको सीमा सैनिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउने प्रण गर्नुभयो ।

सन् १९५०—५३ को कोरियाली युद्धयता अहिलेसम्म शान्ति सम्झौता हुन नसकेकाले प्रविधिक रुपमा दुवै कोरिया युद्धकै अवस्थामा थिए । युद्धकै तनावपूर्ण अवस्थामा पनि दुवै कोरियाले आ—आफ्नै ढङ्गले आर्थिक तथा सामरिक विकास गरे पनि सन्त्रास कायमै थियो । आर्थिक हिसाबले दक्षिण कोरिया बलियो छ भने सैनिक तथा सामरिक हिसाबले उत्तर कोरिया बलियो छ ।

कोरिया प्रायद्विपले विगतमा उपनिवेशको पीडा भोग्यो । दोस्रो विश्वयुद्ध समाप्तिसँगै जापानी उपनिवेशबाट स्वतन्त्र भएको कोरिया बाह्य कारणले विभाजित भई उत्तर र दक्षिण कोरिया दुई अलगअलग मुलुक बने । एउटै भाषा र एउटै संस्कृति भएका यी मुलुक विभाजन सँगसँगै कट्टर विरोधी बने । सीमा क्षेत्र विश्वकै सबैभन्दा कडा सुरक्षा पर्खाल बनाई दुई देशका नागरिकलाई आवतजावतमा रोक लगाइयो । विभाजनअघि एउटै परिवारका सदस्यहरु विभाजनसँगै कोही उत्तर त कोही दक्षिणतर्फ परे । हजारौँ परिवारको विछोड भयो । उनीहरुबीच पुनर्मिलन हुन सकेन जसले गर्दा पारिवारिक विछोडमा धेरै नागरिक तड्पिरहेका थिए । उनीहरु आपसमा मिलेर बस्न चाहेका छन् । दुवै मुलुक एकीकरण भई पुनर्मिलन होस् भन्ने उनीहरुको वर्षौदेखिको चाहना छ ।

गतवर्ष उत्तर कोरियालीमूलका दक्षिण कोरियाली वर्तमान राष्ट्रपति मुन निर्वाचित भएर आएपछि दुई कोरियाबीच सम्बन्ध सुधारका लागि प्रयास सुरु भएको हो । छैटौँ पटकसम्म आणविक परीक्षण गरी आणविक शक्ति सम्पन्न मुलुक बनेको उत्तर कोरियाले अबथप परीक्षण नगर्ने बताएको छ । कोरिया प्रायद्विपलाई आणविक अस्त्रबाट मुक्त गराउन उत्तर कोरियालाई मनाउनआवश्यक छ । उत्तर कोरियाले आणविक हतियार बनाएको छ भने दक्षिण कोरियाको सुरक्षार्थ अमेरिकाले आवश्यक हतियारसहित करिब ४० हजार सैनिक खटाएको छ । जसले गर्दा कोरिया प्रायद्विप आणविक हतियारको खतरा टरेको छैन । अब यो प्रायद्विपलाई आणविक हतियारमुक्त बनाउन दुई कोरिया मिल्नुको विकल्प छैन । दुई कोरियाबीच मेलमिलाप भयो र आणविक हतियार नष्ट गर्ने कामभयो भने कोरिया प्रायद्विपमा स्थापना हुने शान्तिले विश्व शान्ति र स्थिरतालाई नै सहयोग पु¥याउने छ ।

राम्रो पक्ष के भइदियो भने दुई कोरियाली शीर्ष नेताबीच शिखर वार्ता भएको दुई महिनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच सिङ्गापुरमा ऐतिहासिक शिखरवार्ता सम्पन्न भयो । वहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पहिलोपटक यस्तो वार्ता सम्पन्न भएको हो । गएको जुन १२ भएको ट्रम्प—किमशिखर वार्ता प्रति विश्वकै ध्यान केन्द्रित भएको थियो । दुवै नेताले वार्ता ऐतिहासिक सफल भएको बताउनुभयो । शिखर वार्तापछि जारी चारबुँदे संयुक्त सहमतिपत्रमा दुवै नेताले हस्ताक्षर गर्नुभयो । उहाँहरु कोरिया प्रायद्विपलाई पूर्णरुपले आणविक हतियारमुक्त क्षेत्र बनाउन सहमत हुनु भएको छ । साथै, अब अमेरिका र उत्तर कोरियाबीच नयाँ सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता व्यक्तभएको छ ।

अमेरिका र उत्तर कोरियाबीच यसरी सहज वार्ता होला भनी धेरैलाई विश्वास लागेको थिएन । तर सहज ढङ्गले वार्ता गरी ट्रम्प र किमले विश्व समुदायलाई आश्चर्य चकित पार्नु भएको छ । अमेरिका र उत्तर कोरियाबीच सम्बन्ध सुधार हुनु भनेको विश्वकै लागि सुखद पक्ष हो । वाकयुद्ध गरिरहेका दुवै मुलुकबीच आणविक युद्धका खतरा बढिरहेका बेला भएको यो वार्ताले युद्धको खतरा अन्त्य गरिदिएको छ । तर पनि अविश्वास अझै बाँकी छ । उत्तर कोरियाले वार्तामा भएको सहमतिअनुसार आणविक परीक्षणको कार्यक्रम बन्द गरेको छ । कोरियाली युद्धमा मारिएका अमेरिकी सेनाको अवशेष फिर्ता गरिसकेको छ । तर अमेरिकाले उत्तर कोरियाविरुद्ध लगाएको आर्थिक नाकाबन्दी हटाएको छैन । अब यो नाकाबन्दी हटाएर थप सहज वातावरण बनाउनुपर्छ ।

विश्व समुदायबाट एक्ल्याइएको सानो कम्युनिस्ट मुलुक उत्तर कोरियाले आफ्नो सम्पूर्ण शक्ति राष्ट्रको सुरक्षामा केन्द्रित गर्‍यो । छैटौँ पटकसम्म आणविक परीक्षण गरी अमेरिकासम्म मार हान्न सक्ने अन्तरमहादेशीय क्षेप्यास्त्र बनाएपछि अमेरिकाले सैन्य कारबाहीको सोच परिवर्तन गर्‍यो । अमेरिका,दक्षिण कोरिया र जापानले उत्तर कोरियालाई एक्ल्याउने सोच परिवर्तन गरेकाले नै वार्ता सम्भव भएको हो । उत्तर कोरियालाई एक्ल्याउँदा परमाणु युद्धको खतरा बढेको अनुभव विश्व नेताहरुले गरेपछि वार्ताको ढोका खोलिएको हो ।

उत्तर कोरिया निशस्त्र बन्यो र आणविक होडबाजी बन्द भयो भने कोरिया प्रायद्विपमा स्थायी शान्ति हुनेछ । अझ दुवै कोरियालीहरुको चाहना छ कोरिया एकीकरणको पक्षमा छन् । एक कोरिया दुई व्यवस्थाका आधारमा दुई कोरियाबीच एकीकरणको सम्भावनालाई पनि उच्च स्तरीय वार्ताले सहज बनाउने अपेक्षा गरिएको छ ।

पछिल्ला दिनमा उत्तर कोरिया उदार र लचक बन्दै गएको छ । किमको उदारताले नै दक्षिण कोरिया र अमेरिकासित छुट्टाछुट्टै शिखर वार्ता सम्भव भएको हो । विश्व राजनीतिबाट अलग बस्दाको पीडाबोध गरेको उत्तर कोरियाले आफूविरुद्धको सात दशक लामो अमेरिकी र राष्ट्रसङ्घीय नाकाबन्दी अन्त्यहोस् र अमेरिकासित नयाँ कूटनीतिक सम्बन्ध बलियो बनाउन चाहेको छ । अब युद्ध होइन समृद्धि र शान्तिका लागि काम गर्ने बेला आएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार  ६ : ४६ बजे