४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

अन्तर्राष्ट्रिय संगीतकर्मी अवार्डबाट सम्मानित गायक डाँगी भन्छन् : संघर्षले सिकाउँछ र चिनाउँछ


१९ मंसिर २०७५, बुधबार  

0
Shares

‘तिमी गयौ अर्कैको डोलीमा’, ‘पानसमा बत्ती बालेको’, ‘फापरको पीठो पठाइदेऊ आमा’, ‘घर बगायो बस्या छु धनसारमा…’, ‘सालैजो पारी है पर्‍यो..’, ‘अशान्तिको हट्यो बादल…’ लगायत दर्जनौं लोकआधुनिक तथा दोहोरीबाट चिनिएका गायक हुन् विमल डाँगी । हाल अमेरिकामा रहेर पनि उनी अनवरत रूपमा गायन क्षेत्रमै लागेका छन् ।

यही सक्रियताका कारण विन्ध्यवासिनी म्युजिकले अन्तर्राष्ट्रिय संगीतकर्मी अवार्डबाट सम्मान गरेको छ । काठमाडौंमा सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्डमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो । नेपाल अमेरिकी कलाकार संघका महासचिवसमेत रहेका केही वर्षयता अमेरिकामा रहेका डाँगी गायनमै व्यस्त छन् ।

डोल्पाबाट सांगीतिक जीवनको खोजीमा आएको उनले १७ वर्ष पुग्दा नपुग्दै पहिलो एल्बम निकालेका थिए । अहिले उनले दुई दर्जन बढी एल्बम निकालिसकेका छन् भने अमेरिकामा आइपुगेपछि उनले सयभन्दा बढी गीतमा काम गरिसकेका छन् । उनै व्यस्त गायक विमल डाँगीसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीको सम्पादित अंशः

अमेरिका आइपुगेर पनि गीतसंगीतमा निकै सक्रिय हुनुहुन्छ, गीतसंगीतमा यति धेरै समय दिइसक्नुभयो, कहिलेकही अब त रेस्ट लिउँ जस्तो लाग्दैन ?
मेरो काम नै गीत गाउने, लेख्ने र ती गीतमा संगीत भर्ने । नेपालमा हुँदा जसरी गीतसंगीतमा काम गर्ने मौका मिलेको थियो, त्यतिकै सजिलोसँग यहाँ काम गर्न नसके पनि मौका मिल्नसाथ गीतसंगीतमा जोडिन आइपुगिहाल्छु । यहाँ आइपुगेर ४ वर्षमा ८५ भन्दा बढी गीतमा स्वर, संगीत तथा शब्दमा काम गरेछु । सांगीतिक यात्रा सुरु गरेको १८ वर्ष पुगेको छ । मलाई यही गीतले नै चिनाएको छ । त्यसैले छाडिदिउँ भन्ने रेस्ट गर्ने भन्ने त कुरा नै भएन । मलाई थाक्ने अधिकार नै छैन ।

बेलाबेला स्टेज कार्यक्रमहरू हुन्छन्, तपाईँको त परिवार नै सांगीतिक परिवार, यसरी व्यस्त रहन भ्याउनुहुन्छ ?
मेरी जीवनसाथी सरिता डाँगी पनि गीतसंगीत क्षेत्रमा सक्रिय छिन् । स्टेज कार्यक्रमहरूमा उ पनि पुग्छिन् । हाम्रा दुई सन्तान पनि छन् । हामीले सन्तानका लागि पनि समय दिनुपर्छ । यसरी हेर्दा हामीलाई केही अप्ठेरो पर्ने जस्तो देखिन्छ पनि । तर हामी समयको व्यवस्थापन गर्छौ । नेपाली श्रोतादर्शकको लोकगीतको तलतल मेटाउन हामीले स्टेजमा पुग्नै पर्छ जस्तो लाग्छ । त्यसैले कतैबाट निम्तो आएमा सकेसम्म पुग्छौँ ।

यहाँ नेपाली कलाकारले स्टेज कार्यक्रम पाइरहेकै हुन्छन् ?
अहिले नेपालीहरूको संख्या बढेको छ । हरेक नेपाली चाडबाडमा यहाँ पनि कार्यक्रम हुन्छ । ती कार्यक्रममा यहाँ रहनुभएका कलाकारहरूले स्टेज कार्यक्रम पाइरहेका हुन्छन् । अझ नेपालमा रहेका कलाकारले पनि ।

अमेरिकामा रहेका कलाकारहरूले नेपाली गीतसंगीतलाई कसरी टेवा पुर्‍याइरहेको छ जस्तो लाग्छ ?
पहिलो कुरा त आफैले गीतसंगीतमा समय दिएर आफ्नै रचनामार्फत नेपाली गीतसंगीतलाई समय दिइरहेका छन् । दोस्रो कुरा नेपालमा उदाउँदै गरेका नयाँ कलाकारहरुसँग काम गरेर नेपाली गीतसंगीतमा सहयोग पुर्‍याइरहेका छन् । प्रविधिले अहिले सजिलो बनाइदिएको छ । स्तरीय गीतसंगीत बजारमा ल्याउन पहिले निकै अप्ठेरा हुन्थे । अहिले अमेरिकालगायत प्रवासमा पुगेका नेपालीहरुले स्तरीय गीतसंगीतलाई साथ दिइरहेका छन् ।

त्यसो भए अहिलेका युवा पुस्ताले गीतसंगीतमा संघर्ष गर्नुपरेन ?
संघर्ष त गर्नैपर्छ । तरिका फरक हुन सक्छ । कुनै बेला क्यासेटको चक्का र सिडी बोकेर ठाउँठाउँ दगुर्नुपथ्र्यो । तर, अहिले युट्युब, फेसबुकका कारण यस्ता दुःखको अन्त्य भएको छ । गीत रेकर्डिङका लागि केही सहयोग त आउला । तर अभ्यास त गर्नैपर्‍यो । रियाज त गर्नैपर्‍यो । रेकर्डिङमा सजिलो होला रे, स्टेजका लागि त पर्सनालिटीसम्म पूर्व तयारी गर्नुपर्छ । टोलटोलमा गायकगायिका निस्केका छन् । यसले गर्दा प्रतिस्पर्धी थपिएका छन् । आफूलाई चिनाउन पहिलेभन्दा बढी संघर्ष गर्नुपर्ने देखिन्छ ।

तपाईँ नेपाली अमेरिकी कलाकार संघको महासचिव पनि हुनुहुन्छ, संघले नेपाली गीतसंगीतको क्षेत्रलाई उचाइमा लान के के गरिरहेको छ ?

नेपाली अमेरिकी कलाकार संघ यहाँका कलाकारको हितको लागि स्थापना भएको संस्था हो । अमेरिकामा होस या नेपालमा दुबैतिर रहेका कलाकारको दुःखमा संघले साथ दिन्छ । हामीले गायिका तारा थापालाई सहयोग गेर्‍यौं । भूकम्पपीडितलाई सहयोग गर्‍यौं । अहिले दिवंगत कलाकारको सम्मानमा कार्यक्रम आयोजना गर्दैछौं । डिसेम्बर ८ मा उहाँहरुको सम्मानमा उहाँहरुको सिर्जना प्रस्तुत गर्ने तयारी छ । कार्यक्रममा सेतुराम, मेलवा देवी, मित्र सेन, शिवशंकर, धर्मराज थापा, अम्बर गुरुङ, नातिकाजी, फत्तेमान, नारायण गोपाल, पन्नाकाजी, गोपाल योञ्जन, तारादेवी, झलकमान गन्धर्व, अरुणा लामा, कल्याण शेरचन, अरुण थापा, राम थापा, लोकबहादुर क्षेत्री, प्रवीण गुरुङलाई सम्मान प्रकट गर्ने कार्यक्रम छ । त्यसैगरी मास्टर मित्रसेनको नाममा संगीत पुरस्कार स्थापना गर्ने तयारी पनि छ ।

भावी योजना के छन् ?
कामबाट बचेको समयमा गीतसंगीतमै निरन्तरता दिने हो । दुई तीन महिनाभित्रै नयाँ सिर्जनाकासाथ श्रोतादर्शकमाझ आउनेछु । अर्को कुरा मलाई सांगीतिक क्षेत्रमा विमल डाँगी भनेर चिनाउने गीतहरू अहिलेका पुस्ताले त्यति सुन्न पाएका छैनन् । त्यसका मिठास नमारीकन नयाँ तरिकाले म्युजिक भिडियोसहित ल्याउने प्रयास पनि भइरहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार  ९ : २३ बजे