७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बनिसकेको रेकर्ड कायम गर्न नेपाल सरकारले १४ वर्ष झुलाइदियो: ल्हाक्पा गेलु शेर्पा, कीर्तिमानी आरोही


२२ फाल्गुन २०७५, बुधबार  

0
Shares

ल्हाक्पा गेलु शेर्पा सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही हुन् । सन् २००३ मा उनले १० घण्टा ५६ मिनेटमा सगरमाथा आरोहण विश्व कीर्तिमान कायम गरेका थिए । त्यसको एक वर्षमै अर्का आरोही पेम्बा दोर्जे शेर्पाले ८ घण्टा १० मिनेटमा सगरमाथा चढेको दाबी पेश गर्दै विश्व कीर्तिमानी कायम गरेको दाबी गरे ।

पेम्बाले कायम गरेको कीर्तिमान कीर्ते भएकोले ल्हाक्पा गेलुले अदालतमा मुद्दा हाले । तर, अदालतले उनको विपक्षमा फैसला गरिदियो । तैपनि हारेश खाएनन् उनले । न्याय पाउन सर्वोच्चसम्म पुगे । अन्ततः सर्वोच्चले जनवरी २२, २०१८ मा उनको पक्षमा फैसला गर्‍यो । सोलुखुम्बु खारीखोलाका ल्हाक्पा गेलु हाल अमेरिकामा छन् । उनै ल्हाक्पा गेलु शेर्पासँग आरोहणका सुखदुःखबारे एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले गरेको कुराकानीः

तपाई १० घण्टा ५६ मिनेटमै सगरमाथाको चुचुरोमा पुग्नुभयो, यति तीव्र गतिमा सगरमाथा आरोहण कसरी कसरी सम्भव भयो ?
म आफैलाई पनि अचम्म लाग्छ । भगवानको कृपा र साथीहरुको आर्शीवादले नै यो सम्भव भएको हो ।

तैपनि केही तयारी बिना त सम्भव हुदैन होला नि ?
त्यो भन्दाअगाडि एभरेस्टमा ११ चोटि समिट गरिसकेको थिएँ । कहिलेकही भारी बोकेर भए पनि चाँडो पुग्थे । ती ठाउँहरुको दुरी कति छ भन्ने अनुभव मैले लिएको थिएँ । भारी बोक्दाको दुरी र नबोक्दाको दुरी फरक हुन्थ्यो । यसको क्याल्कुलेसन गरेर नै चढेको हो । यही क्याल्कुलेसनले सम्भव बनायो ।

आफूले ब्रेक गरेको रेकर्ड कायम गर्न पनि निकै समय लाग्यो है तपाईलाई ?
खेलमा हारजित भाइरहन्छ । यहाँ चाहि हारजित हुँदैन । कसैले कसैको रेकर्ड ब्रेक गरेको मानिदैन । कसैले मेरोभन्दा कम समयमा चढ्यो भने यो स्वागतयोग्य कदम हो । अआफ्नो रेकर्ड हुन्छ । तर फेक काम गर्न भएन । स्पिडको विवाद गर्नुपर्दा सरकारले झन्डै १४ वर्षसम्म झुलायो । पेम्बाले ८ घण्टा १० मिनेटमा चढ्यो भनेपछि मन्त्रालयले छानविन समिति गठन गरेको थियो । पर्यटनले पेम्बालाई नै सर्टिफिकेट दियो । अदालत जाँदा पनि निर्णय उल्टाउन मिल्दैन भन्यो । सर्वोच्चले उक्त कुरा गलत भयो भन्दा पनि पर्यटन मन्त्रालयले कार्यन्वयन गर्न अकमकायो । १४ वर्षको लामो संघर्षपछि मात्र यो रेकर्ड कायम भयो ।

तपाईंको रेकर्ड कसरी कायम भयो ?
मैले शुरुमै पत्रकार सम्मेलन गरेर गएको थियो । ५० औं वार्षिकोत्सव थियो सगरमाथा आरोहणको । बिबिसिको समाचारदाता बेसक्याम्पमा थियो । मैले चढ्दै गर्दा मेरो क्यामेरा बिग्रयो । अप्पा शेर्पाको क्यामराले खिच्यो । मलाई अरुले पनि सहयोग गरेकोले प्रमाण पनि बस्यो । २००२ मा प्रमाणपत्र पाए । पेम्बाले दाबी गरेर १४ वर्षपछि पाउँदा मेरो प्रमाण झनै स्ट्रङ भयो । पहिले नेपालमा न्याय पाउँदैन कि जस्तो लाग्थ्यो । पछि सरकारले सत्यको पक्षमा सुनुवाई गर्‍यो ।

रेकर्डपछि कतिपटक पुग्नुभयो सगरमाथाको चुचुरोमा ?
रेकर्डपछि तीनपटक चढें । अहिलेसम्म १५ पटक चढे । रेकर्ड राखेपछि नै अमेरिका आएको थिएँ । आफूसँग भएको सीपलाई निरन्तरता दिनका लागि पनि हिमाल पुगिरहन्छु । अमेरिकामा पनि म १० वर्ष माउन्टिनियरिङमै १० वर्ष गाइड गरे । सियाटलमा भएको माउन्ट रेनरमा ९५ चढे होला । अन्टर्टिकामा तीन वर्ष गाइड गरे ।

नेपाली हिमाल र अमेरिकाका हिमालमा गाइड बन्दा के फरक पाउनुहुन्छ ?
अमेरिकामा अलि सजिलो हुन्छ । नेपालमा गाइड र क्लाइन्ट्सले बराबर भारी बोक्थ्यो । यहाँ गाइडले कम बोक्छन् । क्लाइन्टको सेफ्टीकै लागि पनि यो आवश्यक छ ।

नेपालमा कतिपयले ज्यान गुमाउने वीमा हुँदैन, एजेन्सीको दोष कि सरकारको ?
सरकारको दोष हो । पर्यटन मन्त्रालयको दोष हो । मापदण्ड बनाएर काम गरेको भए यस्तो अवस्था आउँदै आउँदैन । कम्पनीको मनपरी छ । सरकारले नियन्त्रण गर्न सकेको छैन ।

सगरमाथामा दुर्घटनाहरु दोहोरिरहन्छन्, के कारण यस्तो भएको होला ?
कतिपय त आरोहीहरुको पनि कमजोरी हुन्छ । आफ्नो सेफ्टीमा ध्यान दिँदैन । ओभरटेक गर्दा सेफ्टी फुकाल्छ । केयरलेस गर्छन् । क्लाइम्बर आफैले सबैभन्दा पहिले सेफ्टीमा ध्यान दिनुपर्छ । अक्सिजन बोक्न अल्छी नगर्ने । कम्पनीले दिने भन्दा पनि एक्ट्रा लाँदा झनै राम्रो । बिदेशीसँग हिड्दा कहिलेकही निद्रा लाग्छ । त्यसमा अलि बढी अक्सिजन बोकेर बिस्तारै माथि चढ्ने । कहिलेकही त हिमस्खलन, हिम आँधी नै आउँछ । यो त दैवी शक्ति हो । यसलाई त केही गर्न सकिदैन ।

अहिले पनि गाइड नै गर्नुहुन्छ ?
दुई वर्ष अघिसम्म गाइड थिएँ । अहिले सानो रेस्टुरेन्ट खोलेको छु । माउन्टेन रेनरको फेदैमा । टुरिस्टहरु टन्नै आउँछन् त्यो एरियामा । यो क्षेत्रबाट टाढिन सकिएन । नेपाल चिनाउने काम गरिरहेको छु । यहीबाट नेपालमा पर्यटन लाने काम गरिरहेको छु ।

अबको योजना के छ ?
आधी जिन्दगी नै नेपाल सरकारले ओझेलमा पारिदियो । रेकर्ड राख्ने काम त अब गर्न सक्दिनँ । लगभग रिटायरको अवस्था छ । गाइडिङ लगभग छाडे । कहिलेकही सगरमाथा बेसक्याम्पसम्म ट्रेकिङमा पुग्छु ।

तपाईका सल्लाह सुझाव के छन् नेपालको पर्यटन विकासका लागि ?
नेपालमा मेन इनकम सोर्स टुरिजम हो । यसका लागि सरकारले हिमाल जोगाउनुपर्छ । पर्यटन र क्लाइम्बिङ क्षेत्रमा काम गर्ने कामदारलाई सुविधा दिनुपर्छ । सुविधा पाएनन् भने पर्यटन खस्कन्छ । हिमाल चढाउन जान्ने मान्छे नभए को चढ्छ हिमाल ? यसका लागि त हिमाल चढाउन जान्ने र सक्ने मान्छेलाई त सरकारले बचाउनुपर्‍यो नि । पर्यटकलाई मात्र जोगाएर माया गरेर त हुँदैन नि । यसका लागि ट्रेकिङ क्षेत्रमा काम गर्ने सबैलाई राम्रो गरेमा विदेशीलाई राम्रो सेवा गर्छन् । यसले कामदार पनि खुसी हुन्छन् र पर्यटकले राम्रो सेवा पाउँछन् । यसले देशलाई फाइदा हुन्छ ।

भिडियोमा हेर्नुहोस

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ९ : ५७ बजे