१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

चलचित्र ‘कही कतै’लाई न्युयोर्कका दर्शकको साथ [भिडियो]


२७ बैशाख २०७६, शुक्रबार  

0
Shares

न्युयोर्क । नेपाल र सिक्किमको सुन्दर दृश्यहरुसहित छायाङ्कन गरिएको नेपाली चलचित्र ‘कही कतै’ न्युयोर्कमा मे पाँच तारिक प्रदर्शन हुँदा दर्शकहरुले निकै मन पराए । क्विन्सको उडसाईड स्थित गुल्सन टेरेसमा दुई शो प्रदर्शन हुँदा दर्शकहरुको उत्साहजनक सहभागिता रह्यो । चलचित्र हेरेपछि अधिकांश दर्शकहरुले सिक्किमको मनमोहक दृश्यहरुले मोहित बनाएको प्रतिक्रिया दिए ।

सबै कलाकारहरुको अभिनय अब्बल पाएको दर्शकहरुले बताए । युवा दर्शकहरुले चलचित्रको फाइट सिनलाई निकै मन पराएका थिए । चलचित्रले सिक्किमको पर्यटन प्रवर्द्धनमा राम्रो सघाउ पुर्‍याउने केही दर्शकहरुले टिप्पणी गरे । पर्यटन प्रवर्द्धनको लागि चलचित्र सशक्त माध्यम भएकोले नेपालका चलचित्र निर्माताहरुले सिक्नु पर्ने पनि उनीहरुले सुझाए । विभिन्न उमेर समूहका दर्शकहरुको रुचि समेट्ने दृश्यहरु भएकोले ‘कही कतै’ चलचित्रले सबै खाले दर्शकहरुलाई ईन्टरटेन्ट गर्न सकेको निर्माण पक्षको दाबी रहेको छ ।

गत वर्ष रिलिज भएको ‘कही कतै’ चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । उमा गिरी निर्मात्री रहेको यो चलचित्रलाई दावा शेर्पाले निर्माणमा साथ दिएका छन् । शेर्पाले नै अमेरिकामा प्रदर्शनीको लागि जिम्मेवारी बहन गरेको उनले बताए । उनलाई न्युयोर्कमा भएको प्रदर्शनको ब्यवस्थापनमा न्युयोर्क निवासी गायक अाङ गेलु शेर्पाले साथ दिएका थिए । शेर्पाले चलचित्र निर्माणमा पहिलो पटक हात हालेको भए पनि गिरीले भने यस अघि पनि ‘ईशारा’, ‘शीसा’ लगायतका चलचित्रहरुको निर्माण गरेका छन् । उनी राम्रा कलाकार समेत भएकाले उनको शसक्त अभिनय चलचित्रमा देख्न सकिन्छ । ‘कोही कतै’ मा प्रमुख नायिकाको रुपमा देखिएका गिरीले यस अघि ‘तोड’, ‘धून’, ‘ईशारा’, ‘शीसा’ लगायतका थुप्रै चलचित्रमा अभिनय गरेका छन् ।

‘कोही कतै’ बाट शिवानी गिरी र सोनाम बार्पुङ्पाले डेब्यु गरेका छन् । उनीहरुको जोडीलाई न्युयोर्कका दर्शकहरुले निकै रुचाए । अाधुनिक युवायुवती जोडीका रुपमा यी दुई मज्जाले जमेका छन् । अन्य लिड रोलमा देखिएका कलाकारहरु दिलिप रायमाझी, किशोर खतिवडा, विशाल चाम्लिङ, सृजना राई, दिपेन राई लगायत रहेका छन् ।

मेरिल्याण्ड र टेक्सासमा पनि प्रर्दशनको लागि कुरा भैसकेको निर्माता दावा शेर्पाले बताए । चलचित्र प्रर्दशनबाट संकलित रकमको केही हिस्सा नेपालमा सिन्धुपाल्चोक जिल्ला स्थित भूकम्पपीडितहरुलाई भवन निर्माणमा सहयोग गर्ने जानकारी शेर्पाले दिए ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  १० : ४० बजे