१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कांग्रेसको जागरण कार्यक्रम अमेरिकाको टेक्सास, न्युयोर्क र सन् फ्रान्सिस्कोमा पनि


१९ जेष्ठ २०७६, आइतबार  

0
Shares

न्युयोर्क । नेपाली जनसम्पर्क समिति, अमेरिकाले मातृ पार्टी नेपाली कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रम अमेरिकामा पनि भव्यताका साथ आयोजना गर्ने भएको छ । जुन १५ तारिख शनिवार अमेरिकाको उत्तर पूर्वी क्षेत्र अन्तर्गत न्युयोर्कमा, मध्य र दक्षिण क्षेत्रको लागि टेक्सास र सुदूरपश्चिम क्षेत्रका लागि सन् फ्रान्सिस्कोमा कार्यक्रम गर्ने समितिको बुधवार बसेको बैठकले निर्णय गरेको छ ।

सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका समितिका अध्यक्ष आनन्द विष्टको सभापतित्वमा सम्पन्न कन्फरेन्स बैठकले तीनै क्षेत्रको भेलाका लागि प्रमुख अतिथि र केन्द्रीय प्रतिनिधिसमेत चयन गरेको छ । समितिले न्युयोर्कमा हुने कार्यक्रमको तयारी र समन्वय गर्न महासचिव मुनीन्द्र नेम्बाङ, टेक्सासको तयारी र समन्वय गर्न उपाध्यक्ष सिपी पौडेल र सन् फ्रान्सिस्कोको तयारी र समन्वय गर्न अर्का उपाध्यक्ष धर्मराज श्रेष्ठलाई केन्द्रीय प्रतिनिधिसमेत तोकेको छ । यसै गरी समितिको बैठकले न्युयोर्कमा कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ, टेक्सासमा अर्का केन्द्रीय सदस्य रमेश रिजाल र सन् फ्रान्सिस्कोमा समितिका सभापति एवं कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको प्रमुख आतिथ्यमा जागरण कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ ।

जागरण कार्यक्रममा सम्बन्धित क्षेत्र अन्तर्गतका च्याप्टर, केन्द्रीय समिति, केन्द्रीय सल्लाहकार समिति, पूर्व पदाधिकारी र सदस्यहरु, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुसहित कांग्रेसका क्रियाशील सदस्यहरु सहभागी हुनेछन् ।

कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले तय गरेको निर्देशिका अनुसार नै गरिनेछ ।

यो कार्यक्रम लगत्तै जनसम्पर्क समिति, अमेरिकाका कतिपय पदाधिकारी र सदस्यहरु जुन २१, २२ र २३ तारिख डेनमार्कमा हुने कांग्रेसको प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाने र त्यसबाट फर्केलगत्तै समितिको अन्य कार्यक्रमलाई अमेरिकामा अघि बढाइने समितिका अध्यक्ष आनन्द विष्टले जानकारी दिएका छन् ।

बुधवारको बैठकले राष्ट्रिय जागरण कार्यक्रम तय गर्ने बाहेक हालै सम्पन्न एनआरएन अमेरिकाको निर्वाचनमा विजयी अध्यक्ष सुनिल साहलगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई बधाई ज्ञापन गर्ने निर्णय समेत गरेको छ । एनआरएनमा समितिका उपाध्यक्ष सिपी पौडेल लगायत समितिका अधिकांश सदस्यहरु निर्वाचित भएका छन् । साहलाई जनसम्पर्क समितिले आफ्नो आधिकारिक उम्मेदवारको रूपमा प्रस्तुत गरेको थियो ।

बुधवारको बैठकमा सभापति आनन्द विष्ट, उपसभापति धर्मराज श्रेष्ठ, उपसभापति चेतप्रसाद पौडेल,उपसभापति केशव बराल, महासचिव मुनीन्द्र नेम्बाङ,सचिव भोजराज थोकरसहित सदस्यहरु ज्ञानेन्द्रराज कार्की, हरिबोल भण्डारी, सुन्दर गुरुङ, सुवास लामा, मान्ती शाह, ओम भट्टराई, लोक लामा, किलन राई, गोपाल विश्वकर्मा, रविन बस्नेत, पविता परियार, चन्द्रकान्त धिताल, परमानन्द खनाल, गौतम दाहाल र गोविन्द लम्साल थिए भने वरिष्ठ उपसभापति धनन्जय नरसिंह केसीले आफू हाल नेपालमा भएका कारण उपस्थित हुन नसकेको भन्दै बैठकका निर्णयमा समर्थन गर्ने जानकारी गराएका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आइतबार  ८ : ३२ बजे