१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बजेटमा एनआरएनएलाई सम्बोधन : सीप र सेयरमा स्वागत, यस्ता छन् नारा


२२ जेष्ठ २०७६, बुधबार  

0
Shares

एभरेस्ट टाइम्स/काठमाडौं

यस वर्षको बजेटमा गैरआवासीय नेपाली(एनआरएन)लाई सीप र सेयरमा सम्बोधन गरेको छ । एनआरएनएको सीपलाई विशेष प्राथमिकतामा राख्दै ज्ञान, पूँजी र प्रविधिलाई नेपालको विकासमा उपयोग गर्न आकर्षित गर्ने अर्थमन्त्री खतिवडाले घोषणा गरे । बजेटको पाठमा भनिएको छ, ‘गैर आवासीय नेपालीहरूको अन्तर्रा्ष्ट्रिय संजाल, ज्ञान, सीप, पूँजी र प्रविधिलाई नेपालको आर्थिक सामाजिक विकासमा उपयोग गर्न आकर्षित गरिनेछ ।’

यसै गरी सेयर बजारको सम्पूर्ण कारोबार विद्युतीय प्रणाली मार्फत गरिने भएको छ । सबै प्रकारका धितोपत्र र ऋणपत्र कारोबार विद्युतीय प्रणालीमार्फत गर्ने बताएका हुन् । यसका लागि नसनल पेमेन्ट गेट वेको व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ ।
सरकारले विद्युतीय कारोबार प्रणालीलाई सुरक्षित र पारदर्शी बनाउने बताएका छन् । सरकारी ऋणपत्र खरिद बिक्रीका लागि पनि अनलाइन प्रणालीको विकास गर्ने अर्थमन्त्रीले बताएका छन् । सेयर बजारमा निश्चित रकमभन्दा बढी कारोबार गर्ने लगानीकर्ताको स्थायी लेखा नम्बर (प्यान) सहितको विवरण नेप्से र सीडीएससीको राफसाफ प्रणालीमा आबद्ध गरिने अर्थमन्त्री खतिवडाले बजेटमा उल्लेख गरेका छन् ।

नेपाल धितोपत्र बोर्ड र नेप्सेको संस्थागत सुधार गर्ने विषयलाई बजेटमा समावेश गरिएको छ । गैर आवासीय नेपालीले पनि सेयर बजारमा लगानी गर्न सक्ने गरी पुँजी बजारलाई थप फराकिलो र आधुनिक बनाइने अर्थमन्त्रीले बताएका छन् ।

कर्मचारी सञ्चयकोष, नगारिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषको वित्तीय विवरण एकीकृत रुपमा प्रकाशन गर्ने व्यवस्था गरिने भएको छ । कर्जा सूचना तथा सुरक्षित कारोबार ऐनमा परिमार्जन गरिने बजेटमा अर्थमन्त्रीले उल्लेख गरेका छन् । सामूहिक लगानी कोषको कारोबार तथा सीडीएससीको कारोबारलाई व्यवस्थित बनाइनेछ ।

आगामी आवको बजेट १५ खर्ब ३३ अर्ब आगामी आवको बजेट १५ खर्ब ३३ अर्ब 

सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा जेठ १५ गते बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विनियोजित रकममध्ये चालु खर्च रु नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात् ६२.४ प्रतिशत्, पूँजीगततर्फ रु चार खर्ब आठ अर्ब ५९ लाख अर्थात् २६.६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख अर्थात् ११ प्रतिशत विनियोजन गरिएको बताए ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु नौ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख र वैदेशिक अनुदानबाट रु ५७ अर्ब ९९ करोड ५५ लाख व्यहोर्दा रु चार ९३ अर्ब ८३ करोड ३३ लाख न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु दुई खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि अपुग हुने खूद रु एक खर्ब ९५ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने बजेटमा उल्लेख छ  ।

चालू आवका लागि गत वर्ष रु १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेट प्रस्तुत गरिएको थियो । कूल विनियोजनमध्ये चालूतर्फ रु आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पूँजीगततर्फ रु तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ५५ अर्ब ७१ करोड ७० लाख विनियोजन गरिएको थियो ।  नेपालको संविधानमा नै हरेक वर्ष जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ ।

 

यस्ता छन् यस वर्षका बजेटका नाराहरु

बजेटका उपलव्धी भन्दा नागरिकलाई कणप्रिय नारा दिने मापदण्डलाई यसपटक अर्थविद अर्थमन्त्रीले निरन्तरता दिएका छन् ।
अर्थमन्त्री खतिवडाले बजेटमा २३ वटा आकर्षक नारालाई समेटेका छन् । मुलुकले हासिल गरेको युगान्तकारी राजनीतिक उपलब्धिको जगमा वर्तमान सरकारले ‘समृद्धि नेपाल खुसी नेपालीको’ नारा सहित राष्ट्रिय आकांक्षा हासिल गर्ने मार्गमा दृढताको साथ अघि बढेको बताएका छन् ।

सरकारले साक्षर नेपाल घोषणा गर्न साक्षरता अभियानको साथै विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय पठाऔं भन्ने नारा सहित ७० वटा जिल्लालाई पूर्णसाक्षर बनाउने योजना बनाएको छ । यस्तै राष्ट्रपति शैक्षिक सुधार कोष स्थापना गरि सामुदायिक शिक्षामा गुणस्तर अभिबृद्धिका कार्यक्रमहरु सञ्चाल गर्ने भएको छ । यसका लागि सरकारले ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

‘चिनौं आफ्नो माटो–बनाऔं आफ्नै देश’

अभियान सञ्चालन गरी प्राविधिक विषयमा स्नातकोत्तर तथा स्नातक गरेका युवालाई शिक्षक विद्यार्थी अनुपात धेरै भएका र गणित अंग्रेजी र विज्ञान शिक्षक नपुग भएका विद्यालयमा स्वेच्छिक रुपमा शिक्षण स्वंयमसेवकको रुपमा परिचालन गर्ने उल्लेख छ ।

बजेट मार्फत चालु आर्थिक वर्षमा सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न रोजगार सेवा केन्द्रहरुमा सूचित बेरोजगारहरुलाई सार्वजनिक विकास निर्माणमा परिचालन गर्ने व्यवस्था गरिएको छ ।

स्थानीय तहसँगको सहकार्यमा अन्य कार्यक्रमसँग दोहोरो नपर्ने गरि ‘आफ्नो गाउँ आफै बनाऔं’ को भावना अनुरुप विकास निर्माण र रोजगारी सिर्जना गर्ने कार्यक्रम बजेटमा व्यवस्था गरिएको छ ।

‘नेपालमा कोही भोकै पर्दैन–भोकले कोही मर्दैन’ भन्ने प्रतिबद्धता पालना गर्ने कार्यक्रमहरु सञ्चालन गरिने नारा समेत बजेटमा छ । ‘युवाको जाँगर समृद्धिको–आधारलाई सार्थक’ तुल्याउन आगामी आर्थिक वर्ष युवा परिचालन वर्षको रुपमा मनाइने भएको छ ।

‘विपन्न र बञ्चितिमा परेका महिलाहरुको आर्थिक र सामाजिक उत्थानको लागि ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’लाई थप प्रभावकारी बनाई देशव्यापी रुपमा कार्यान्वयन गर्ने योजना बजेटमा छ ।

आगामी आर्थिक वर्षमा ‘सबैलाई स्वस्थ्य आहार अभियान’ जनस्तरसम्म पुग्ने गरि सञ्चालन‘ गरिने घोषणा भएको छ । आगामी आर्थिक वर्षलाई ‘बृक्षारोपण वर्ष‘ घोषणा गरि काष्ठ गैरकाष्ठ तथा फलफुलका बिरुवा रोपण कार्य अभियानकै रुपमा अघि बढाइने भएको छ ।

आधुनिक जग्गा प्रशासन–पारदर्शिता र सुशासन’ भन्ने नाराका जग्गा प्रशासन सुधारका लागि बनाइएको छ । जस अन्तर्गत अनलाईन प्रविधिबाट मालपोत सेवा प्रवाह गर्ने योजना सरकारको छ ।

भूकम्पको कारणबाट क्षति पुगेको नियन्त्रण विन्दुहरुको सन्जाल सुदृढ तुल्याई विकास निर्माणको लागि भूसूचना उत्पादन गर्न लाइडर प्रविधिको लागि ७५ करोड रुपैयाँ विनियोजन गरिएको छ । नागरिक लगानीमा संचालनमा ल्याउनेगरी ‘जनताको जलविद्युत कार्यक्रम’ ल्याएको सरकाले ‘नेपालीको घरमा आधुनिक उर्जा पुर्याई उज्यालो नेपाल बनाउने’ गरी जलविद्युत र नवीकरणीय ऊर्जाको विकास तथा विस्तार गर्ने नारापनि बजेटमा समेटेको छ ।

काठमाडौं उपत्यकाभित्रकै ‘मौलिक संस्कृति परम्परा–संगितको अवलोकन’ गर्न ‘रात्रिकालिन काठमाडौं उपत्यका सम्पादा यात्रा‘ सञ्चालन गर्ने विषय पनि बजेटमा परेको छ। यस्तै सन २०२०लाई ‘नेपालमा छायांकन’ अभियान संचालन गर्ने उल्लेख गरेको बजेटमा इन्डोर सुटिङका लागि काठमाडौं उपत्यकामा ‘अत्याधुनिक सुविधा सम्पन्न स्टुडियो’ निर्माण कार्य प्रारम्भ गरिने उल्लेख छ ।

डिजिटल नेपाल निर्माण गर्न नागरिक सेवाको पहुँच र गुणस्तर अभिबृद्धि गर्न सार्वजनिक सेवालाई क्रमशः विद्युतीय माध्यमबाट उपलब्ध गराउने प्रणालीको विकास गरिने जनाएको छ । ‘खौलौ बैंक खाता अभियान’ सञ्चालन गरि आगामी आर्थिक वर्षको अन्त्यसम्ममा सबै बालिग नेपालीको बैंक खाता हुने विषय पनि बजेटमा उल्लेख छ ।

यसअघि बृद्धभत्तासहित अनुत्पादक क्षेत्रको बजेटलाई ‘बजेट दुरुपयोग’ भन्ने मान्यता राख्ने अर्थमन्त्री खतिवडा अघिल्लो बजेटमा सबैभन्दा धेरै आफ्नै पार्टीका सासदबाट आलोचित भएका थिए । अहिले चालु खर्च अर्थात प्रशासनिक खर्च मात्र आन्तरिक राजश्वको स्रोतबाट धान्नेगरि ल्याएको बजेटमा उनले पार्टीका लोकप्रिय नारालाई प्राथमिकतामा राखेका छन् । यसअर्थमा उनी आफ्नै मान्यताबाट बिचलित भएका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार  ८ : २१ बजे