१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नयाँ नेतृत्व चयनका लागि जुट्दै एनआरएनए : शुरु भयो राजनीतिक जोडघटाउ


२१ श्रावण २०७६, मंगलबार  

0
Shares

आङछिरिङ शेर्पा/न्युयोर्क

विभिन्न मुलुकहरुको गैरआवासीय नेपाली संघ सम्वन्य परिषद्(एनआरएन एनसिसि)को चहलपहलपछि आगामी अक्टुबरको दोस्रो हप्ता नेपालमा एनआरएन आइसिसीको कुम्भमेला हुँदैछ । त्यो मेलाले विभिन्न छलफलसँगै नयाँ नेतृत्वसमेत चयन गर्नेछ । हरेक दुई वर्षमा हुने आइसिसिको अधिवेशनमा नेतृत्वका लागि अहिलदेखिनै जोडघटाउ र विभिन्न छलफल शुरु भइसकेको छ । भर्खरै इटालीमा सम्पन्न एनआरएन युरोपेली बैठकमा सहाभागीहरुमध्ये धेरैजसोको ध्यान आगामी नेतृत्व चयनकै विषयमा केन्द्रित थियो ।

विदेशमा बस्ने नेपालीको लागि खोलिएको यो संस्थाले पछिल्लो समय विश्वको धेरै मुलुकहरुमा राष्ट्रिय समन्वय परिषद गठन गरी नेतृत्व गरिरहेका छन् । केन्द्रकै निर्देशन अनुरुप नै हरेक देशमा रहेको परिषद्ले पनि समयसीमामै साधारण सभा र अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्दै आएका छन् । परिषद् र केन्द्रको नेतृत्व चयनको क्रममा अहिलेसम्म अनेक विवादहरु र विभिन्न राजनीतिक खेलहरु हुदै आएका छन् । यस पटक केन्द्रको नेतृत्वको पनि त्यो किसिमको विवाद र राजनीतिक खेल नहोला भन्न सकिन्नँ । नेतृत्व चयनकै लागि पार्टी विचार, विभिन्न गुटहरु र समूहहरु सक्रियताका साथ लाग्दै आएका छन् । आगामी नेतृत्वको लागि वर्तमान अध्यक्ष भवन भट्टले नदोहोरिने घोषणा गरेपछि वरिष्ठ उपाध्यक्ष कुमार पन्त मैदानमा उत्रेका छन् । उनीसँगै अन्य विभिन्न देशहरुमा रहेका एनआरएन नेताहरुले पनि नेतृत्वको लागि चाहना राखेर मैदानमा आएका छन् ।

अमेरिकी एनआरएन आपसमा जुध्दा केन्द्रमा पछारिए

गत निर्वाचनमा अमेरिकाबाट वरिष्ठ कानुन व्यवसायी खगेन्द्र जिसी, पूर्व आरसी सोनाम लामा र एनआरएन अमेरिकाको अध्यक्ष पदमा पराजित रविना थापा तीनै जनाले आइसिसिको उपाध्यक्षमा पराजय भोग्नु पर्‍यो । गत निर्वाचनमा निकै आत्मविश्वासका साथ नेपाली कांग्रेस पार्टीको टीका लगाएर केन्द्रको उपाध्यक्षमा होमिएका पराजित लामा थापाकै कारणले हार्नु परेको आरोप लगाउँदै आएका छन् । त्यस्तै एनआरएनए अमेरिकाको पूर्व अध्यक्ष तथा एनआरएन नागरिक टाक्सफोर्स समितिका उपसंयोजक कानुन व्यवसायी क्षेत्रीले पनि आपसी गुटबन्दीकै कारण पराजय भोग्नु पर्‍यो ।

एनआरएनएमा क्षेत्रीले गरेको योगदानको आधारमा जित्नु पर्ने र जिताउनु पर्ने व्यक्तिको रुपमा चिनिएको एनआरएनकर्मीहरु बताउँछन् । त्यस्तै गत निर्वाचनमा धेरैले कल्पनै नगरेका व्यक्ति गौरी जोशी केन्द्रमा आइसिसिको क्षेत्रीय संयोजक भएर आए । एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्ष पदमा उठ्न नपाए पनि केन्द्रमा उम्मेद्वार बनेका जोशीले आइसिसीको पूर्व सहसंयोजक एसी शेर्पालाई हराइदिएका थिए । यस पटकको निर्वाचनमा जोशीले सचिवमा र शेर्पाले सहकोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । त्यस्तै महासचिव पदमा एनआरएनए अमेरिकामा दुई पटक नेतृत्व गरिसकेका डा केशव पौडेलले उम्मेद्वारी दिने चर्चा चलेको छ । आरसी पदमा अहिलेको डिआरसी नविन शेरचन र डा विनोद शाहले पनि उम्मेद्वारी दिने चर्चा चलेको छ । त्यस्तै यस पटक पनि सोनाम लामा र रविना थापाले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने भएको छ ।

 

शेष घले समूहले कसलाई सर्मथन गर्छ ?

एनआरएन आइसिसीको निर्वाचनमा पूर्वअध्यक्ष शेष घले समूह निर्णायक हुने अड्कल धेरैले गरेपनि उनीहरुले उम्मेदवार समूह खडा गरेर चुनाव जित्ने सम्भवना कम देखिन्छ । गत निर्वाचनमा भवन भट्टसँग नेतृत्वको दौडमा शेष घलेकी श्रीमती जमुना घलेलाई शेष घले वारिपारि घुमिरहने व्यक्तिहरुको रहरै रहरलले उठाएर पराजय बेहोर्नु परेको थियो । एनआरएन आइसिसीमा महत्वपूर्ण योगदान पुर्‍याउन सफल घलेकी श्रीमती जमुनालाई गत निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उठाएको भए यस पटक नेतृत्वमा जाने अवसर पाउने एनआरएन आइसिसीका केही पदाधिकारीहरु बताउँछन् । तर शेष घलेको आसेपासेहरुले घलेलाई सधै आफ्नै मुठीमा मात्र राख्न खोज्ने साँघुरो सोचको कारण घलेकी श्रीमती जमुना नेतृत्वको अवसरबाट बञ्चित भएको बताउँछन् । शेष घलेले आगामी निर्वाचनमा आफनै श्रीमतीलाई हराउने समूहलाई सहयोग गर्ने की अर्कै उम्मेद्वार बनाएर सहयोग गर्ने बारेमा स्पष्ट हुन सकेको छैन । शेष घलेलाई केही व्यक्तिको कारण साँघुरो बनाए पनि उनको पक्षमा धेरै जातीय मतहरु रहेका छन् ।

यस पटकको आइसिसी नेतृत्वको निर्वाचनमा भवन र जिवाले कुमारलाई सहयोग गरेर कुललाई वरिष्ठ उपाध्यक्ष दिने शर्तमा सम्झौता गरे कुमार निर्विरोध हुने देखिन्छ । तर राजनीतिक विचारको आधारमा वामपन्थी र प्रजातन्त्रिकको प्यानल बनाएर चुनावमा गएमा कुमार वामपन्थीबाट र कुल प्रजातन्त्रिकबाट उठ्ने देखिन्छ । दुबै जना एनआरएनएमा लामो समयदेखि लाग्दै आए पनि एनआरएनएभित्र कुमार बढी लोकप्रिय देखिन्छ । आचार्यलाई पूर्वअध्यक्ष जीवा लामिछाने विरोधी एक समूह, जनसम्पर्क समितिको एक समुहको साथ रहे पनि पनि सबै प्रजातन्त्रवादीहरु एक नभएसम्म कुल बलियो उम्मेद्वार हुन सक्दैन ।

डेनमार्कमा भएको नेपाली कांग्रेसको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कांग्रेसका केही नेताहरु र जनसम्पर्क समितिका केही व्यक्तिले कुललाई नेतृत्वको लागि उम्मेद्वारी दिनु पर्ने अनुरोध गरे पनि अन्तत कुल चुनाव नलड्ने मानसिकतामा पुग्ने कुल निकट एक काँग्रेस नेताले बताए । कुल कुमारकै नेतृत्वमा उपाध्यक्ष भएर टिम बनाउने योजना रहेको उनले बताए । आगामी नेतृत्वको लागि इटालीमा सम्पन्न एनआरएन युरोपेली बैठकमा सहाभागी एनआरएनए आइसिसीका पूर्व नेताहरु, पार्टीका नेताहरु र सहाभागी सदस्यहरुको भावना अनुरुप नै आगामी नेतृत्व चयन हुने प्रष्ट देखिन्छ ।

टिममा को को ?

भवन र जीवाको सहयोग प्राप्त कुमारले मौखिक रुपमा सबैलाई समेटेर लैजाने भनिएपनि अन्तिममा आफ्नै विचारसँग मिल्ने व्यक्तिलाई महासचिव र कोषाध्यक्ष बनाउने योजना बनाइरहेका छन् । पन्त निकट स्रोतको अनुसार आफ्नो नेतृत्वमा महासचिवमा एनआरएनएका पूर्व प्रवक्ता डा हेमराज शर्मा र कोषाध्यक्षमा जापानका व्यवसायी महेश श्रेष्ठलाई ल्याउने प्रयास गरिरहेका छन् । तर परिस्थितिले फरक रुप लिए कुलको नेतृत्वमा महासचिवमा एनआरएनए अमेरिकामा दुई पटक नेतृत्व गरिसकेका अध्यक्ष डा केशव पौडेल लड्ने चर्चा रहेको छ । त्यस्तै शेष घलेको टिमबाट महासचिवमा जानकी गुरुङलाई ल्याउने चर्चा भइरहेको छ । संघको आगामी निर्वाचनमा ठूलो संख्यामा उपाध्यक्षको लागि निर्वाचन हुने देखिन्छ । १ महिला उपाध्यक्षसहित ५ जना उपाध्यक्ष पदमा निर्वाचन हुने छ ।

उपाध्यक्ष पदको संख्या धेरै भएकोले सबैलाई समेट्न सकिने पद सिर्जना भएकाले अध्यक्षमासमेत सर्वसम्मत हुन सक्ने धेरैको अनुमान रहेको छ । यस्तै महासचिव १, सचिव २, कोषाध्यक्ष र सहकोषाध्यक्ष १, क्षेत्रीय संयोजक ५, उपसंयोजकहरु, युवा र महिला संयोजकको लागि संघको महाधिवेशनमा निर्वाचन हुने छ ।

आकांक्षीहरु को को ?

उपाध्यक्ष पदमा वर्तमान महासचिव डा. बद्री केसी, सोनाम लामा, खगेन्द्र क्षेत्री, आरके शर्मा, किरणविक्रम थापा, नरेन्द्र भाट, हिक्मत थापा, महिला उपाध्यक्षमा सपिला राजभण्डारी, रजनी प्रधान, रविना थापा छन् । महासचिवमा जानकी गुरुङ, डिबी क्षेत्री, डा केशव पौडेल लगायतको नाम चर्चामा छ । सचिवमा गौरीराज जोशी र शिव वरुवालको नाम चर्चामा रहेको छ ।

त्यस्तै सहकोषाध्यक्षमा एसी शेर्पा र कोषाध्यक्षमा सोम सापकोटा (डेनमार्क) को नाम सुनिएको छ । उत्तर अमेरिकाबाट आरसीमा नवीन शेरचन, डा विनोद शाह छन् भने डिआरसीमा वेदराज बस्नेत र रामकुमार सुवेदीको नाम रहेको छ । निर्वाचनको बेलामा यी विभिन्न पदहरुमा धेरैले उम्मेद्वारी दिने देखिएको छ ।

एनआरएनए युरोपेली क्षेत्रीय बैठक

गैरआवासीय नेपाली संघ (एनआरएन) आइसिसिको १२ औं युरोपेली क्षेत्रीय बैठक इटालीको रोममा सम्पन्न भएको छ । ‘एनआरएनए यूरोपको उद्देश्य देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य’ भन्ने मुल नाराका साथ आयोजित बैठकको मुख्य एजेन्डा लगानी र पर्यटन प्रवद्र्धन रहेको विज्ञप्तिमा जनाएको छ । त्यस्तै नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको सन्देश प्रवाह गर्नुका साथै सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्ने समेत उद्देश्य रहेको जनाएको छ ।

यसैगरी बैठक गैरआवासीय नेपाली नागरिकताको विषयमा रहेका द्विविधा सम्बन्धी विशेष सेसन, नेपालमा लगानीका लागि नेपालको मौजुदा नियम र कानूनबारे जानकारी, युरोप क्षेत्रका लागि छुट्टै वैदेशिक रोजगार राहत कोषको अवधारणा लगायत एजेन्डामासमेत छलफल केन्द्रित रहेको जनाएको छ । बैठकले यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नुपरेको समस्या र त्यसको समाधान, त्यहाका नेपालीको ज्ञान सीप र क्षमता नेपालमा भित्रयाउने बारे सरकारको रणनीति र त्यसमा एनआरएनएको भूमिकाबारे पनि छलफल भएको थियो ।

एनआरएन युरोपका अध्यक्ष शिव बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथिको रुपमा काँग्रेस नेता डा शेखर कोइराला, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा, युरोपमा रहेका विभिन्न देशका राजदूतहरु जसमा अष्ट्रियाका लागि प्रकाश कुमार सुवेदी, बेल्जियमका लागि लोकबहादुर थापा, डेनमार्कका लागि युवनाथ लम्साल, फ्रान्सका लागि दीपक अधिकारी, जर्मनीका लागि रमेश प्रसाद खनाल, रसियाका लागि ऋषिराम घिमिरे, स्वीट्जरल्याण्डका लागि तीर्थराज घिमिरे, स्पेनका लागि हिराकान्त पौडेल, बेलायतस्थित नेपाली दूतावासका द्धितीय सचिव लव सुवेदी, प्रदेश नम्बर १ का बसन्त बानियाँको सहभागिता रहेका थिए ।

त्यस्तैगरी एनआरएन अध्यक्ष भवन भट्ट, पूर्वअध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, संरक्षक रामप्रताप थापा, भिजिट नेपाल २०२० का संयोजक सुरज बैद्य, होटल एसोशिसन अफ नेपाल हानका अध्यक्ष श्रृजना राणा, उपाध्यक्षद्वय कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, सल्लाहकार हेमराज शर्मासहित एनआरएनका विभिन्न मुलुकका अध्यक्षहरुको उपस्थिति रहेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ९ : ३५ बजे