४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

आफ्नै पार्टी सरकारमा भए पनि विकासका एजेन्डामा प्रतिपक्षीलाईजस्तै व्यवहार छ : आङदेण्डी शेर्पा


२१ श्रावण २०७६, मंगलबार  

0
Shares

न्युयोर्कमा करिब एक दशक बसेर नेपाल फर्केका आङ देण्डी लामा शेर्पा (डिएन) प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य बने । नेकपा माओवादी केन्द्रको सिफारिसमा दोलखाबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बनेका उनी पार्टी एकतापछि हाल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा छन् । अमेरिकाको लामो बसाईपछि नेपाल फर्केर राजनीतिमा होमिएका लामाले प्रदेशमा नेतृत्व सम्हालेका हुन् । उनै प्रदेश सभा सदस्य लामा न्युयोर्क आइपुगेका बखत एभरेस्ट टाइम्सका प्रधानसम्पादक आङछिरिङ शेर्पाले गरेको कुराकानी :

प्रदेश सभा सदस्यको जिम्मेवारी कसरी पाउनु भयो ?
अमेरिकाबाट नेपाल गइसकेपछि माओवादी केन्द्रमा आवद्ध रहेर शेर्पा मुक्ति मोर्चामा काम गरे । त्यसपछि मेरो कामको मुल्यांकन भयो । पार्टीमा गरेको योगदान सम्झेर मलाई मोर्चामा हैन, जिल्लामा काम गर्नु भनेर जिम्मेवारी दियो । चुनाव आयो । पार्टीलाई मैले पनि धेरै सहयोग गरेका थिए । त्यही कारण मैले प्रदेशको टिकट माग गरे । जिल्लाबाट मलाई प्रदेशमा लड्न सिफारिस आएको पनि थियो । मेरो भाग्य वा सबैको आर्शीवादले पार्टीको सिफारिसमा म प्रदेश सभा सदस्य भए ।

प्रदेश सभा सदस्य हुनुभएपछि कस्तो अनुभव बटुल्नुभयो ?
राजनीतिमा लागेको निकै भए पनि पहिलो पटक सभा सदस्य भएकोले मेरो लागि विस्तारै बुझ्ने मौका मिल्यो । राजनीतिमा सत्तापक्ष भएर पनि विकासमा भने विपक्षको दाँजोमा बस्नु पर्दोरहेछ । नयाँ भएकोले हो वा मन्त्रीहरुको नजिक नपुग्दा विकासमा विपक्ष जस्तो भयो । पार्टीबाट पनि यस्तो विभेद गर्दो रहेछ ।

प्रदेश सभामा कस्ता कुराहरु प्रस्तुत हुने रहेछन् ?
संसाद सचिवालयमा र हाउसमा विभिन्न जनमुखी एजेन्डाहरु आउने रहेछ । विभिन्न जातजातिको प्रतिनिधिहरुले आआफनै कुरा राख्छन् । मैले पनि शेर्पा जातिकै कुरा राखेको छु । बारम्बर उठाएको छु । तर, सुन्नेले नसुनेपछि के गर्ने ।

तपाईले अहिलेसम्म राज्यको तहसम्म के के आवाज उठाउनुभयो ?

मैले शेर्पा समूदायको हितसँगै आदीवासी जनजातिको महान पर्व ल्होसार चाडपर्वको विदाको विषयमा बारेमा कुरा उठाउँदै आएको छु । त्यस्तै शेर्पा स्वयत्त प्रदेशलगायत नेपालको पर्यटन र पर्वतारोहणको बारेमा पनि कुराहरु उठाउँदै आएको छु ।

तपाई सांसद भएपछि जिल्लाका लागि केके गर्नुभयो ?
मेरो कार्यकालमा २ करोड आएकोमा यसलाई सडक बनाउने काममा लगाए । सडक र पुल बनाउने काममा नै फोकस गरेको छु । जिरी नगरपालिकाका विभिन्न ठाउँमा सडक खुल्ने काममै लगाए । खानेपानीको समस्या छैन । हाम्रोमा समस्या भनेको स्कुललाई बजेट दिने । मैले गुम्बालाई पनि बजेट दिनु पर्छ भनेर निकै अडान राखे । तर दुखको कुरा स्कुललाई चै दिने, गुम्बालाई चाहि शेर्पाको भनेर नदिएको हो कि ? भन्नेमा मेरो दुखेसो छ ।

तपाईले माग गर्नुभयो त ?
सामाजिक विकास मन्त्रालयमा मैले गुम्बामा पैसा हाल्नुपर्छ भनेर पटकपटक माग गरे । तर सुनुवाई भएन । पछि बुझेको, सरकारले धार्मिक विषयमा माग नगर्ने भन्यो । तर क्षेत्रीबाहुनका लागि मठमन्दिरमा पैसा दिनेरहेछ । अनि मैले बौद्धमार्गीकोमा किन नछुट्याएको भनेर सोधेपछि बल्ल केही गर्छु भनेको छ ।

अबको योजना के छ, जिल्लामा कति पुग्नुहुन्छ ?
आफ्नो कार्यक्षेत्रमा धेरै पटक पुगें । काम पनि गरेको छु । क्षेत्र नम्बर एक जिरीमा जानुभयो भने मैले गरेको काम देख्नुहुन्छ । भ्याएसम्म काम गरेको छु । अझै काम गर्ने समय बाँकी छ । मेरो इच्छा सुन्दर जिरी बनाउने हो । हुन त स्विजरल्यान्ड भन्छन् । तर, सबै कुरा पु¥याउने इच्छा छ । खानेपानी, टेलिफोन, यातायात, बिजुली, गुरु रिम्पोछेको ठूलो मुर्ति बनाउने मेरो इच्छा छ । जनतालाई समृद्ध बनाउने काम हुन्छ । जनतालाई सबै सुविधा पुर्‍याएपछि जनता खुसी भईहाल्छ नि । ९० प्रतिशत पुगेको छ विकासको काम । अब १०० प्रतिशत पुग्छ मेरो कार्यकालभित्र तपाई विश्वस्त हुनुस् ।

अबको राजनीतिक योजना के हो ?
सबैको चाहना ठुलो हुन्छ । सांसद भएपछि मन्त्रीसम्म हुने चाहना सबैको हो । मेरो पनि चाहना त्यस्तै हो । पार्टीले नपत्याएसम्म केही हुदैन । पार्टीले पत्याए मैले पनि राज्यमन्त्री त पाउनैपर्छ भनेको छु । म आशावादी छु ।

अहिले पार्टीको कुन भूमिकामा हुनुहुन्छ ?
म माओवादी केन्द्रमा दोलखाको जिल्ला सदस्य हो । पार्टी एकतापछि एकता भएको कमिटिमा मेरो नाम आएको छैन । केन्द्रको विभागमा राख्नु भनेको छ । पार्टीले जिम्मा नदिए पनि म काम गर्नेछु ।

अमेरिकामा कति बस्नुभयो ?
म अमेरिकामा सन १९९८ मा आएको थिए । त्यसपछि ७ वर्ष बसे । अमेरिकामा बसुन्जेल पनि एक कार्यकाल शेर्पा किदुगको सचिव भएर कार्य गरे । म सामाजिक काम गर्ने व्यक्ति हु“ । हृदयदेखि नै समाजसेवा गर्ने सोच लिएको छु । अमेरिकामा काम गदै गर्दा दुर्घटनामा परे । त्यसपछि काम गर्न नसक्ने भएपछि नेपाल फर्के । नेपाल पुगेर पनि विभिन्न जिल्लाका गुम्बा, स्कुललाई आर्थिक सहयोग गरे । काठमाडौं, सोलु , ओखलढुंगा, सिन्धुपाल्चोक, नुवाकोट दोलखा जिल्लाको गुम्बालाई आर्थिक सहयोग गरे । त्यसपछि नेपालमा शेर्पा संघको कोषाध्यक्ष बनेर काम गरे ।

अहिले अमेरिका आइपुग्नुभएको छ, कस्तो लागि रहेको छ ?
धेरै वर्षपछि अमेरिका आइपुगें । म यहा हुदा त्यतिखेर शेर्पा संघ अमेरिका थिएन । अहिले गठन भएछ ज्यादै खुसी लाग्यो । यो संस्थाले मलाई बोलाएर भव्य स्वागत गर्‍यो । यसप्रति म ज्यादै खुसी छु । मलाई त अचम्म लाग्यो । शेर्पा संघ अमेरिकाले जुन सम्मान गर्‍यो । यो म कहिले पनि बिर्सन्न ।“

अन्त्यमा के भन्नुहुन्छ ?
प्रवासमा कर्मथलो बनाएर मातृभूमि फर्केको वितिकै अहिले फरक जिम्मेवारीका साथ अमेरिका आउदा आफन्तहरु, साथीभाईहरु र शेर्पा संघमा आवद्ध मित्रहरुले दिएको मायाप्रति सबैलाई धेरै धन्यवाद दिन चाहान्छु । मैले यस पटक धेरै न्यानो स्वागत पाइयो । म एकदम खुसी छु । यहा आएको बखत लामो समयदेखि यही बस्दै आउनु भएका आदारणीय व्यक्तिहरुलाई पनि अब चाँडै मातृभूमि फर्कन पनि आग्रह गर्न चाहान्छु ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ९ : ४१ बजे