६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

आश्मान लोप्चनको प्राथमिकतामा खान्दोके सेलो, भन्छन्, ‘इखले सेलो गायन यात्रा शुरु, अबको निरन्तरता यसैमा’


२९ श्रावण २०७६, बुधबार  

0
Shares

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका – ३ बतासे भुवागाउँका आश्मान लोप्चान पछिल्लो समय सेलो गायनमा व्यस्त छन् । नृत्यबाट कला क्षेत्रमा डुबुल्की मारेका उनी सेलो गायनमै बढी व्यस्त छन् । कुनै बेला रेडियो सिन्धु १०५ मेघाहर्जमा तामाङ भाषामा समाचार वाचन गरेर सिन्धुपाल्चोक जिल्लाको पहिलो तामाङ भाषा समाचार वाचकसमेत बने ।

तर, अहिले उनको परिचय फेरिएको छ : सेलो गायकका रुपमा । उनले केही दोहोरीसहित ८ गीत बजारमा ल्याइसकेका छन् । आस्याङकी छोरी क्या राम्री, हिमाल पारिको गाउँमा, नक्कली गोरी ठिटिला, खान्दोके सेलो – बल्लपो तामाङको हुल उठ्यो, लेकमा जाँदा, ल्होछार गीत – नक्कली कान्छी भेट भयो आज, मौलिक खान्दोके सेलो – वाला वाला रिबन र आठौं नेपाली लोक दोहोरी – प्राण भन्दानि प्यारो छ हाम्रो रोधी घर उनका कृति ।

तामाङ कलाकार संघको सदस्य, नेपाल कला साहित्य प्रतिष्ठानको अध्यक्ष र लोक तथा दोहोरी गीत प्रतिष्ठान सिन्धुपाल्चोकको सह-सचिवसमेत रहेका उनै गायक आश्मान लोप्चनसँग एभरेस्ट टाइम्सका लागि फूलमान तामाङले गरेको कुराकानी:

गायनमा कहिलेबाट लाग्नुभएको हो ?
२०७१ सालदेखि औपचारिक रुपमा गीत रेकर्डिङ गरियो । पहिले मेरो रुचि नाचमा थियो । स्कुले जीवनदेखि नै । आफ्नो स्कुलमा नाच्न नपुगेर आसपासका स्कुलमा पनि नाच्न पुग्थें ।

नाच छाडेर गायनमा कसरी लाग्नुभयो ?
इखले गायनमा लागेको हुँ । सुरुवाती दिनमा म नृत्य र मोडलिङ गर्न चाहान्थे । मोडलिङ गर्छु भनेर आफुभन्दा अग्रज गायक/गायिकालाई अनुरोध गरें । आफै लागानी गर्छु भन्दा पनि गीत अवसर दिएनन् । कसैले धेरै पैसा लाग्छ भनेर टारे । कसैले समय दिएनन् । त्यसपछि गीत आफै गाउँछु, आफ्नै गीतमा नाच्छु भनेर गायनमा हाम्फाले । अहिले यही पौडिरहेको छु ।

कस्ता गीतहरु गाउन मन पराउनुहुन्छ ?
विशेष त मलाई मेरै बाउबाजेले गाउने गीत गाउदा छुट्टै आनन्द मिल्छ । मौलिक खान्दोके सेलोलाई प्राथमिकता दिएको छु । तर आगामी दिनमा सेलो मात्र नभई लोक पप, दोहोरी र आधुनिक गीतमा पनि सक्रिय हुनेछु ।

गायनमा सेलो गीत नै रोज्नुको कारण ?
तामाङ हुँ । तामाङ भएकै कारण सानैदेखि सेलो भाकासँग घुलमिल भयो । त्यसैले सेलो गीतसंगीत नै रोजे । अबका दिनमा मौलिक गीत गाएर आफ्नो संस्कार प्रबर्द्धन र संरक्षण गर्छु ।

खान्दोके सेलोको बारेमा पनि बताई दिनुस न ।
खान्दोके भन्नाले सिन्धुपाल्चोक आसपास प्रचलित भाका हो । सिन्धुपाल्चोकमा ‘कताला’ई ‘खान्दो’ भनिन्छ । त्यसैको आधारमा खान्दोके सेलो भनिएको हो । सेलोभित्र खान्दोके सेलो, फापरे सेलो, म्हेन्दो माया, सैलुङ्गे जुहारी, चरिला कमाई भन्ने ठाउँ विशेष भुगोल बिशेषको भाका हो ।

मोफसलमा बसेर गायनमा सक्रिय हुनुहुन्छ । केन्द्र अथवा राजधानीमा बसेर अझै गायनमा योजना छ कि ?
काठमाडौंबाट ८६ किलोमिटरमात्र पर छ चौतारा । यहाँबाट कार्यक्रममा र गीत संगीत रेकर्डिङ गर्न काठमाडौं पुग्छु । मान्छेलाई लक्ष्यले जस्तो सुकै कष्ट दुखसँग लड्न सिकाउँदो रहेछ । स्रोता दर्शकको माया पाए र मेरो आवाजले साथ दिए राम्रो गीत संगीत निकाल्न सके जीवनको अन्तिम कालसम्मै गीतै गाउँछु भन्ने छ । सधैं त्यसैको प्रयासमा छु।

गीत बजारमा ल्याउँदा कतिको दु:ख हुनेरहेछ ?

पहिलो गीत निकाल्न सारै गाह्रो भयो । न त जागिर न त आफुसँग पैसा थियो । आमा बुबा दिदीहरु सबैलाई अलिअलि मागेर बल्ल बल्ल गीत निकाले । त्यसपछि भने फर्केर हेर्नुपरेको छैन ।

गायनमा लागेपछि परिवारबाट ताली पाइयो कि गाली ?

सुरु सुरुमा गाली खाईयो । पछि जब स्टेज पाउन थाले २-४ हजार कमाउन थाले त्यसपछि चाई गाली खाइनँ । तर अझै भन्नु हुन्छ हेर है गीतसंगीतमा मात्र लागेर हुन्न केही ब्यापार ब्यबसाय गर भन्नु हुन्छ ।

गायनमा कमाउँछु भनेर आउनु भएको हो किन नाम कमाउँछु भनेर ?

गायनमा कमाउँछु भन्दा पनि आफ्नो नाम जमाउँछु भनेर लागेको हुनाले कमाउन त खासै सकेको छैन । जे होस जमाउँदै छु आफ्नै नाम । नाम जमेपछि कमाउन पनि सकिन्छ जस्तो लाग्छ ।

स्टेज कार्यक्रममा कतिको निम्तो आउँछ, स्टेजको कमाई कस्तो छ ?

स्टेज कार्यक्रम हाल्का फुल्का ब्यस्त छु । आयोजकहरुले मायाले बोलाउनु हुन्छ । त्यही ठुलो कुरो लाग्छ । पहिलेभन्दा अहिले धेरै आउँछ स्टेज कार्यक्रमहरु ।
कमाई राम्रै छ कलालाई बुझेर दिनु हुन्छ त्यसैलाई चित्त बुझाउँछु ।

गायनबाहेक अरु कुनकुन पेशामा व्यस्त हुनुहुन्छ ?
मेरो पेशा भनौ या के भनौ सबै यही गायन हो र पार्ट टाईम रेडियोमा काम गर्छु । रेडियो सिन्धु १०५ मेघाहर्जमा तामाङ भाषाको कार्यक्रम चलाउँछु डम्फु सेलो भन्ने ।

गायनमा नलागेको भए के बन्नुहुन्थ्यो ?
गायन क्षेत्र नलागेको भय सायद विदेश पुग्थे होला । जे होस ५-६ बर्ष यो सांगीतिक क्षत्रमा छु ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  १२ : ४८ बजे