६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

धनाढ्यको क्लब बन्दै एनआरएनए, उम्मेद्वारले कसरी धन्लान् खर्च ?


१५ आश्विन २०७६, बुधबार  

2
Shares

आङछिरिङ शेर्पा/न्युयोर्क

मातृभूमिमा उद्योगधन्दा बढाएर रोजगारीको संख्या बढाउने उद्देश्यका साथ स्थापना भएको गैरआवासीय नेपाली संघ(एनआरएनए) अहिले अन्तर्राष्ट्रिय सम्मेलनमा जुटेको छ ।

प्रवासमा अर्जेको सीपलाई नेपालमा लगानी गरेर समृद्ध नेपाल बनाउने अभियानमा जुटेको एनआरएनएको महाधिवेशनका लागि उम्मेद्वारी दर्ता शुल्क भने चर्को रुपमा असुल्न थालिएको छ ।

यसपटक अध्यक्ष पदका लागि निर्वाचन समितिले दश लाख रुपैयाँ उम्मेद्वारी दर्ता शुल्क तोकेको छ । भने उपाध्यक्ष र महासचिवका लागि ६ लाख रुपैयाँ दर्ता शुल्क तोकेको छ । यसैगरी सचिव र कोषाध्यक्षलाई ५ लाख तोक्दा एनआरएनए आइसिसी सदस्यका लागि एक लाख दर्ता शुल्क तोकेको छ ।

स्वदेशको विकासका लागि भिजन भएका तर खर्च नभएकाले भने अब एनआरएनको नेतृत्वमा दाबी गर्ने बाटो नै बन्द भएको एनआरएनकर्मीहरु बताउँछन् । दर्ता शुल्क, मतदाता रिझाउन खर्च र प्रचार खर्चले एनआरएन नेतृत्वका ढाँड भाँच्चिने देखिएको उनीहरुले गुनासो गर्न थालेका छन् ।

दर्ता शुल्क यति धेरै उठाउने देखाए पनि एनआरएनले यो रकम कुन शीर्षकमा खर्च हुन्छ भनेर कतै पनि उल्लेख गरेको छैन ।

उम्मेद्वारी धमाधम, अध्यक्षमा आचार्य र पन्त भिड्दै

आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागेको ९ औं सम्मेलनमा वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचायले अध्यक्ष पदमा उम्मेद्ववरी घोषणा गरिसकेका छन् । दुई वर्षको लागि नयाँ नेतृत्वमा आउन चाहने अध्यक्षका प्रत्यासी पन्त जर्मन निवासी हुन भने आचार्य बेलायती निवासी एनआरएनकर्मी हुन् ।

नेतृत्वमा पुग्नकै लागि दुबै जना यतिखेर विभिन्न मुलुकको एनआरएन एनसिसीको अधिवेशनमा सहाभागी भई काठमाडौं फर्केका छन् । उपाध्यक्ष पन्त यसअघि आइसिसि सदस्य हुँदै महासचिव भएर उपाध्यक्ष भएका छन् । त्यस्तै उपाध्यक्ष आचार्य पनि एनआरएन युकेको अध्यक्ष, आइसिसी सदस्य हुँदै उपाध्यक्ष बनेका हुन् । अहिले दुबैले अलग अलग प्यानल बनाउनतिर लागेका छन् । पन्त नेकपाको प्यानल भएर अघि बढेका छन् भने आचार्य लोकतान्त्रिक प्यानलबाट अघि बढेका छन् । पन्तको प्यानलबाट उपाध्यक्षमा बद्री केसी महासचिव डा हेमराज शर्मा छ भने आचार्यको प्यानलबाट डा केशव पौडेल महासचिवको उम्मेद्वार हुने देखिन्छ ।

यस पटक उपाध्यक्ष पदमा मात्र २० जना भन्दा बढीले उम्मेद्वारी दिने भएको छ । उपाध्यक्षको उम्मेद्वारी दर्ता शुल्क ६ लाख रुपैयाँ तोकिएकोले एक करोड बढी उपाध्यक्षका उम्मेद्वारबाटै संकलन हुने देखिएको छ ।

अमेरिकाबाट को को उठदैछन् ?

उपाध्यक्षमा तीन जनाको उम्मेदवारी
सोनाम लामा: अमेरिकाज क्षेत्रको पूर्व क्षेत्रीय संयोजक सोनाम लामाले यस पटक पनि उपाध्याक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अघिल्लो सम्मेलनमा पनि उपाध्यक्षमा उम्मेद्वारी दिएका उनले यस पटक पन्तको प्यालनमा उभिने देखिएको छ ।

रविना थापा: एनआरएन अमेरिकाका पूर्व उपाध्याक्ष रविना थापाले उपाध्याक्ष पदमा उम्मेद्वारी दिने बताइसकेकी छिन् । उनी पनि यस अघि उपाध्यक्ष पदमै उम्मेदवारी दिएकी थिइन् ।

बन्दना कोइराला : एनआरएनए आइसिसिकी सदस्य बन्दना कोइरालाले महिला उपाध्याक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरिसकेकी छिन् ।

महासचिवमा पौडेलको उम्मेद्वारी
एनआरएनए अमेरिकाको निवर्तमान अध्यक्ष डा केशव पौडेलले आइसिसिको महासचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । एनआरएन अमेरिकामा दुई पटक नेतृत्व गरिसकेका वरिष्ठ चिकित्सक डा पौडेल आचार्यको लोकतान्त्रिक प्यानलबाट उम्मेद्वारी दिने भएका हुन् ।

सचिव पदमा जोशीको उम्मेद्वारी
अमेरिकाज क्षेत्रको वर्तमान क्षेत्रीय संयोजक गौरी जोशीले सचिव पदमा उम्मेद्वारी दिने जनाएका छन् । उनले पन्त समूहबाट उम्मेद्वारी दिने तयारी गरेका छन् ।

सहकोषाध्याक्षमा
वासिङटन स्टेटको अबैतानिक बाणिज्युत तथा पुर्व क्षेत्रिय उपसंयोजक एसि शेर्पाले सहकोषाध्याक्ष पदमा उम्मेद्धवरी दिने भएको छ ।

अमेरिकाज क्षेत्रिय संयोजक
एनआरएनए अमेरिकाज क्षेत्रको वर्तमान क्षेत्रिय उपसंयोजक नविन शेरचनले संयोजक पदमा उम्मेद्धवरी दिने भएको छ । यो यो रिपोर्ट तयार पार्दासम्म शेरचन बाहेक अरु संयोजक पदमा दाबेदार देखिएका छैनन् ।

अमेरिकाज क्षेत्रको उपसंयोजक को को ?
एनआरएन अमेरिकामा दुई कार्यकाल कोषाध्यक्षमा कार्य गरिसकेर हालै आइसिसिको सदस्यमा निर्वाचित टेक्सासबासी बेदराज बस्नेतले उपसंयोजकमा उम्मेद्वारी दिने बताएका छन् । त्यस्तै आइसिसिका पूर्व सदस्य दिल श्रेष्ठले पनि उपसंयोजकमा उम्मेद्वारी दिने तयारी गरेका छन् । त्यसैगरी एनआरएन अमेरिकाको पूर्व उपाध्यक्ष टेक्सासबासी रामसि पोखरेलले पनि उपसंयोजकमा उम्मेद्वारी दिने भएको छ भने एनआरएनए अमेरिकाको पूर्व उपाध्यक्ष डिल्ली भट्टराई र क्यानडाबासी अभिमन्यु बस्नेतले पनि उपसंयोजकमा उम्मेद्वारी दिँदैछन् ।

महिला संयोजकमा: एनआरएनए अमेरिका पूर्व उपाध्यक्ष राधा पौडेल र क्यानाडाबाट प्रमिला बस्नेतले उम्मेद्वारी दिएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ९ : ४८ बजे