१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ट्युनिसियामा मृत्यु हुने पर्यटकको सङ्ख्या २६ पुग्यो, १७ घाइते



ट्युनिस– ट्युनिसियाको उत्तरी क्षेत्रमा आइतबार भएको दुर्घटनामा मृत्यु हुने पर्यटकको संख्या २६ पुगेको छ ।

घटनामा परी अन्य १७ जना घाइते भएको समाचारमा जनाइएको छ । ट्युनिसियाका आन्तरिक मामिला मन्त्रीले दिएको जानकारी अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

राजधानी ट्युनीसबाट ऐन स्नाउसी क्षेत्रतर्फ जाँदै गरेको गाडी दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । दुर्घटना भएका बेला गाडीमा ४५ यात्रु रहेका थिए ।

प्रारम्भिक विवरणअनुसार बस सडकबाट चिप्लिएर एक खोलामा खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

देशको हिमाली क्षेत्रमा भएको उक्त घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । घटनाका बारेमा छानविन सुरु भइसकेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

देशका राष्ट्रपति कैस सैद र बाहिरिदै गर्नुभएका प्रधानमन्त्री युसेफ चाहेडले घटनास्थलमै पुगेर घाइते र मृतकका आफन्तप्रति सहानुभूति व्यक्त गरेका थिए ।

दुर्घटनामा परेका सवै जना ट्युनिसियाका नागरिक भएको जनाइएको छ । खराब अवस्थाको सडकका कारण ट्युनिसियामा धेरै दुर्घटना हुने गरेको छ ।

गत वर्ष सन् २०१८ मा मात्रै सडक दुर्घटनाका कारण ट्युनिसियामा एक हजार १ सय नागरिकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ११ : ०१ बजे