१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

६ चिनी उद्योगले किसानको १ अर्ब ३३ करोड दिएनन्



भुक्तानी दिलाउन संसदीय समितिको निर्देशन

काठमाडौँ — छ वटा चिनी उद्योगले किसानलाई दिनु पर्ने १ अर्ब ३३ करोड रुपै‌या भुक्तानी गरेका छैनन् । श्रीराम, अन्नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र वाग्मती सुगर मिलले किसानलाई भुक्तानी दिएका छैनन्। यी सबै मिलबाट किसानले १ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ।

यी उद्योगले दुईदेखि पाँच वर्षसम्मको भुक्तानी नदिएको उखु उत्पादक महासंघ र चिनी उद्योग संघले बताएका छन्।

सबैभन्दा बढी रौतहटस्थित श्रीराम सुगर मिलले ४२ करोड रुपैयाँ दिन बाँकी छ। श्रीरामका सञ्चालक हितेश गोल्छा र विशाल अग्रवाल हुन्। हितेश गोल्छा अर्गनाइजेसन र विशाल विशाल ग्रुपका हुन्। श्रीरामले तीन वर्षदेखि बर्सेनि २/३ करोड रुपैयाँ बाँकी राख्दै आएको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए।

अन्नपूर्ण सुगर मिलले किसानको ४० करोड रुपैयाँ दिएको छैन। अन्नपूर्णका सञ्चालक राकेश अग्रवाल हुन्। अन्नपूर्णले भुक्तानी नदिएपछि सर्लाही र रौतहटका करिब डेढ सय किसान यतिबेला राजधानीमा छन्। उनीहरूले संघर्ष समिति गठन गरेर विभिन्न चरणका आन्दोलन गरिरहेका छन्।

इन्दिरा सुगर मिलले पनि किसानको १० करोड रुपैयाँ भुक्तानी गरेको छैन। इन्दिराका सञ्चालक पनि राकेश अग्रवाल हुन्। अग्रवाल अहिले सम्पर्कविहीन छन् ।

वर्षैंसम्म उखुको रकम नपाए पछि सर्लाही र रौतहटका किसानहरु काठमाडौँ आएका छन् । बक्यौता उठाउन अन्नपूर्ण सुगर मिलका साहु खोज्दै डेढ सय किसान एक साता बढीदेखि राजधानीमा छन् । उनीहरुका अनुसार २५ हजार उखु किसानको ५० करोड रूपैयाँ जति उठाउन बाँकी छ ।

संसदीय समितिको निर्देशन

संसदको उद्योग बाणिज्य, श्रम तथा उपभोक्त हित समितले उखु किसानहरुलाई पैसा दिलाउन सरकारलाई निर्देशन दिएको छ । किसानको पैसा नतिर्नेलाई राज्यको सबै संयन्त्र लगाएर कारबाही गर्न पनि भनेको छ ।

मिलले पैसा नदिएको भन्दै आन्दोलन गर्न काठमाडौं आएकाउखु किसानहरुले सोमबार संसदीय समितिमा उपस्थित भएर आफ्नो पीडा सुनाएका थिए ।

बैठकमा उपस्थित कृषिमन्त्री घनश्याम भुसालले भने अन्नपूर्ण सुगरमिलका मालिक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका मालिक वीरेन्द्र कनौडिया भागेको बताए ।

अन्नपूर्णले ५० र महालक्ष्मीले २१ करोड रुपैयाँ किसानलाई तिर्नुपर्ने छ । समितिले जसरी पनि किसानलाई पैसा दिलाउन र नदिने उद्योगलाई कारबाही गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ६ : २० बजे