१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

जापानी पानीजहाजमा आएका कोरोना संक्रमित तेस्रो यात्रुको मृत्यु



टोकियो (एजेन्सी)– डायमण्ड प्रिन्सेस नामक एक पानी जहाजमा जापान पुगेका थप एक कोरोना भाइरस सङ्क्रमितको आइतबार मृत्यु भएको छ ।

योसँगै कोरोना भाइरस सङ्क्रमित उक्त जहाजका तेस्रो यात्रुको मृत्य भएको छ भने आइतबारको यो घटनासँगै जापानमा कोरोना भाइरसका सङ्क्रमणका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या चार पुगेको छ । उक्त जहाजमा आएका र कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका दुई अन्य वृद्धको बिहीबार मृत्यु भएको थियो ।

पानी जहाजमा जापानी सहर योकोहामा पुगेका ८० वसन्त पार गरेका एक जापानीको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको जापानी स्वास्थ्य मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ ।

उनी कोरोना भाइरसको सङ्क्रमणभन्दा पहिले अन्य रोगबाट समेत विरामी रहेका बताइएको छ । ती वयोवृद्ध व्यक्तिलाई सङ्क्रमणको पुष्टिपछि स्थानीय एक अस्पतालमा छुट्टै राखी उपचार भइरहेको थियो ।

मन्त्रालयले ती तीनै जनाको मृत्युको कारण निमोनिया भएको बताएको छ तर ती तीनै जनामा कोरोना भाइरसको सङ्क्रमण भने यस अघि नै पुष्टि भैसकेको थियो ।

डायमण्ड प्रिन्सेसमा आएका ती यात्रुमध्ये ६०० जनाभन्दा बढीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको र दर्जनौँको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । एशियाली उक्त मुलुकमा कूल ८०० ब्यक्तिभन्दा बढीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ११ : २७ बजे