१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नासाले मानवसहितको यान अन्तरिक्षमा पठाउँदै



वासिङ्टन (एजेन्सी)। करिब दश वर्षपछि अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अन्तरिक्षमा मानवसहितको यान पठाउने घोषणा गरेको छ ।

यानमा दुईजना अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)तर्फ जानेछन् । रकेट र अन्तरिक्ष यान फ्लोरिडाको केनेडी स्पेश सेन्टरबाट २७ मे का दिन उडाउने योजना नासाले शुक्रबार सार्वजनिक गरेको हो । ‘एक पटक फेरि अमेरिकी अन्तरिक्ष यानलाई अमेरिकी भूमिबाट आगामी मे २७ मा पठाइने भएको छ,’ नासाका प्रमुख जिम ब्राइडेस्टाइनले ट्वीटमार्फत् पुष्टि गरे ।

नासाले उसको अन्तरिक्ष शटलले सन् २०११ मा काम गर्न बन्द गरेयता मानवसहित अन्तरिक्ष यात्राका लागि रुसी रकेटहरूको प्रयोग गर्दै आएको छ । रकेट र अन्तरिक्ष यान दुवै एउटा निजी कम्पनी ’स्पेस एक्स’ले निर्माण गरेको बताइएको छ ।

अन्तरिक्ष यात्रीहरू बब बेहन्कन र डग हर्लीलाई आइएसएस पुग्न करिब २४ घण्टा लाग्ने बताइएको छ । यदि सफल भएमा अर्बपति व्यवसायी एलन मस्कको कम्पनी स्पेश एक्स, नासाका अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पुर्याउने पहिलो निजी कम्पनी हुनेछ । ’द फाल्कन नाइन रकेट’ र ‘क्रु ड्र्यागन’ अन्तरिक्ष यानले अन्तरिक्ष केन्द्रको अपोलो र शटल मिसनहरूका लागि प्रयोग भएको ऐतिहासिक प्याड ३९ ए बाट उडान गर्नेछन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ८ : ०२ बजे