७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

निर्वाचन समीक्षा गर्दै प्रचण्डले भने, ‘यस्तै भए माओवादी सकिन्छ’


३ श्रावण २०७४, मंगलबार  

0
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुट–उपगुट अन्त्य नगरे पार्टी नै समाप्त हुने बताएका छन् । सोमबारदेखि सुरु भएको केन्द्रीय सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै प्रचण्डले गुटकै कारण माओवादी कमजोर देखिएको बताए । ‘पार्टीभित्र गुट चलाउने भए घोषित रूपमा चलाऊँ कि आजैदेखि गुट–उपगुट विघटन गरौैँ,’ उनले भने, ‘पार्टीभित्रको गुट–उपगुटको अन्त्य नगरेसम्म पार्टी बन्न सक्दैन, जनताले खोजेजस्तो हामी हुन नसक्दा निर्वाचनमा माओवादी हार्यो ।’

करिब आधा घन्टा बोलेका प्रचण्डले अधिकांश समय पार्टीभित्रको गुटबन्दी, नेताहरूको असामाजिक चरित्रको आलोचनामा खर्चिएका थिए । उनले माओवादी नेताहरूले जनताको भावनाअनुसार सामाजिक जीवनशैली अपनाउन नसकेको भन्दै आफ्ना नेताहरूको आलोचना गरेको नेता मणि थापाले जानकारी दिए । ‘गणतन्त्र, संघीयता, धर्मनिपेक्षता, समावेशितालगायत सबै परिवर्तनका मुद्दा माओवादीका थिए,’ प्रचण्डको भनाइ उद्धृत गर्दैै थापाले भने, ‘पार्टीले सरकारमा रहेर राम्रा कामहरू गरिरहेको थियो, लोडसेडिङ हटायो, आर्थिक वृद्धिदर अहिलेसम्मकै उच्च थियो, तर पनि निर्वाचनमा सन्तोषजनक नतिजा आएन ।’

माओवादी पार्टीजस्तो हुन सकेन
प्रचण्डले चुनावपछि माओवादी पार्टीजस्तो हुन नसकेको भन्दै दुःख जनाएको बैठकमा सहभागी थापाले बताए । माओवादी नेताहरू सामाजिकीरण हुन नसकेकाप्रति उनले आक्रोश पोखेका थिए । ‘पछिल्लो समय हाम्रा नेता कार्यकर्ताले जनतासँग जोडिएर काम गर्न पनि सकेनन्, जनताको घरमा भात खान पनि अप्ठेरो माने,’ प्रचण्डले भने ।

माओवादी नेता कार्यकर्ताले जनतासँग जोडिएर काम गर्न नसक्दा निर्वाचनमा पारजित हुनुपरेको उनको भनाइ थियो । माओवादी नेतालाई जनताले आफ्नो वर्गको नेता नभई फरक वर्गको जस्तो नेताको व्यवहार गर्दा माओवादी हारेको प्रचण्डको तर्क छ । अहिलेको अवस्थामा राजनीति अस्थिर हुने देखिएकाले जनता प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा माओवादीले मुद्दा बनाउनुपर्ने प्रचण्डले जोड दिएको नेता थापाले बताए । बैठकमा निर्वाचन समीक्षाका साथै प्रदेश नम्बर २ को निर्वाचन रणनीति बनाउने र प्रदेश, संघको निर्वाचनको तयारीबारे बुधबारसम्म छलफल हुनेछ । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : ३ श्रावण २०७४, मंगलबार  ७ : ५९ बजे