६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

अमेरिका शेर्पा संघ किदुगकै सहयोगका लागि


४ श्रावण २०७४, बुधबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

अमेरिकामा शेर्पा समुदायको धर्म र संस्कृतिको संरक्षणका लागि स्थापित प्रतिनिधित्वमुलक संस्था हो शेर्पा किदुग । २२ वर्ष लामो इतिहास बोकेको यस संस्थाले अमेरिकी नेपाली समाजमा महत्वपूर्ण कार्यहरु गरिरहेका छन् । यसैगरी यसपटक किदुगले गर्दै आइरहेको धर्म र संस्कृति संरक्षणका कार्यलाई सघाउन तथा शेर्पा समुदायमा राजनीतिक चेतना जगाउनका साथै शेर्पा संघ अमेरिका स्थापनाको लागि तदर्थ समित गठन गरिएको छ । झ्वाट्ट सुन्दा धेरैजसोले शेर्पा संघ खोल्यो भनेको बित्तिकै अब शेर्पा समुदाय पनि फुट्यो भनेर भ्रमहरु पैदा भएपनि पनि यथार्थ भने यो होइन । लामो समयदेखि शेर्पा किदुगमा सेवा गरिरहेको व्यक्तिहरुले बेलाबेला आप्mनै समुदायका राजनीतिक नेताहरु न्युयोर्क आउँदा अन्तरक्रिया गर्न नपाएको पीडाबोध गरेर नै बेग्लै निकायको रुपमा स्थापना गर्न लागेको हो ।

किदुगमा राजनीतिक व्यक्तित्वहरु आउँदामात्र होइन प्रवासी नेपालीहरुको संस्था एनआरएनबारे जनचेतना दिने कार्यक्रमसमेत गर्न नसकेको अवस्थामा उनीहरुले शेर्पा संघको आवश्यकता महसुस गरेर समय परिस्थितिअनुसार अहिले खोलिएको बताउछन् ।

‘हामी सबैको साझा शेर्पा किदुग फाइभ वानसि थ्रि अन्र्तगत धार्मिक केन्द्रको रुपमा बैधानिक रुपमा दर्ता भएकोले विधानअनुसार शेर्पा समाजमा राजनीतिक चेतना जगाउने कार्यक्रम र अमेरिकी मुलधारको राजनीतिमा समाहित गर्न नसकेकोले शेर्पा संघ अमेरिकाका गठन भएको हो,’ शेर्पा किदुगका पूर्व सचिव तथा शेर्पा संघका संयोजक निमा शेर्पाले भने, ‘हामी किदुगको विधान अनुसार गर्दै आइरहेको हरेक कार्यहरुलाई साथ दिदै राजनीतिक सचेतना जगाउन र नेपालको थातथलोलाई सम्झेर शेर्पा संघसँग मिलेर काम गर्ने लक्ष्य अनुरुप अमेरिका शेर्पा संघको स्थापना भएको हो ।’

‘किदुगमा लामो समय सेवा गरेर आजीवन सदस्य हुदै अब संरक्षक हुन लागेकोले सबै माझ स्पष्ट पार्न चाहान्छु शेर्पा संघ अमेरिका शेर्पा किदुगको विरुद्धमा खोलेको हुदै होइन सबैले सकारात्मक दृष्टिले बुझने कोशिश गरौ,’ उनले थपे ।

‘अहिले हाम्रो समाजमा शेर्पा संघ खोल्यो भन्ने बित्तिकै शेर्पा किदुगको विरोधमा भन्ने केही भ्रमहरु सुन्नमा आएपनि यथार्थमा यो किदुगलाई नै सहयोग हुने गरी खोलेको हो,’ कृषि विभागका पूर्व अधिकृत तथा शेर्पा कल्चर सेन्टर ट्रस्टीका सदस्य फुरी शेर्पाले भने, ‘हामीले धर्म र संस्कृतिको साथै अबको युवालाई राजनीतिक र सामाजिक क्षेत्रमा अग्रसर गराउनका लागी पनि संघको महत्व हुने भएको छ ।’ शेर्पा समाजमा राजनितिमा चासो राख्नेहरुलाई हेर्ने दृष्टिकोण फरक भएकोले पनि शेर्पाहरु राजनीतिमा पछि परेको यो अवस्थामा प्रवासमा पनि संघको आवश्यकता रहेको उनको धारणा रहेको छ । उनी हालै गठित अमेरिका शेर्पा संघको उपसंयोजक हुन । उनका अनुसार न्युयोर्कको शेर्पा समाजमा सबै बुद्धिजिवी साथीहरुले शेर्पा संघ चाहिन्छ भनेर लामो समयदेखि सोच्दै आएपनि गठन हुन सकेको थिएन ।

संघ स्थापनाकै लागि शेर्पा किदुगको १२ अधिवेशनमा संयोजक निमाले संघको आवश्यकताको प्रस्ताव गर्दा उपस्थित सवैले समर्थन गरेका थिए । त्यही अधिबेसनपछि किदुगका सबै सल्लाहकार, कार्यसमितिका पदाधिकारीहरु र धेरै अग्रजहरुलाई संयोजक निमाले भेटेर छलफल गरी संघ स्थापनाका लागि न्युयोर्कमा ऐतिहासिक वृहत शेर्पा भेला आयोजना गरेको हो ।

उक्त भेला नेपाल शेर्पा संघको निवर्तमान अध्यक्ष पेमछिरि शेर्पाको प्रमुख आतिथ्यमा गत शनिबार सम्पन्न भयो । भेलामा करिब एक दर्जन विभिन्न जिल्लाको प्रतिनिधित्व हुने गरि शेर्पा संघ अमेरिका तर्दथ समिति गठन गरियो । भेलामा उपस्थित विभिन्न जिल्लाका प्रतिनिधिहरुले समेत न्युयोर्कमा दुई दशक अघि स्थापित शेर्पा समुदायको आस्थाको धरोहर शेर्पा किदुगलाई सहयोग गदै आगामी दिनमा शेर्पा समाजमा राजनितिक चेतना जगाई भावी पुस्तालाई मुलधारको राजनितिमा समाहीत गराउनका लागी संघको आवश्यक्ता महसुस भएर स्थापना गर्न लागेको बताएका थिए ।

करिब एक दर्जन विभिन्न जिल्लाबासी शेर्पाहरुको सहाभागीतामा गत जुलाईको १५ तारिख भएको वृहत भेलाले शेर्पा संघ तदर्थ समिति गठन गर्न सफल भएको छ । शेर्पाहरु अमेरिकामा बसोबास गरेको दुई दशकपछि अमेरिकामा शेर्पा संघ गठन भएकोमा प्रमुख अतिथि पेमछिरि शेर्पाले खुसी व्यक्त गदै प्रवासमा शेर्पा जातीको भाषा संरक्षण गदै शेर्पा जातीको हकहितको लागी अघि बढ्ने लक्ष्य लिएको शेर्पा संघ अमेरिकालाई शुभकामना दिएका थिए । ‘समयको माग अनुसार अमेरिकामा शेर्पा संघ खोल्नु आफैमा महत्वपूर्ण भएकोले यसको महत्व कति छ भनेर पछि मात्र थाहा हुन्छ,’ शेर्पा संघ नेपालको निवर्तमान अध्यक्ष पेमछिरि शेर्पाले भने, ‘अमेरिकामा गठन भएको शेर्पा संघले अब अमेरिकामा चर्चित शेर्पा किदुगलाई सहयोग गर्दै समाजमा राजनीतिक चेतना जगाई भावी पुस्तालाई अमेरिकी मुलधारको राजनीतिमा अघि बढाउनुपर्ने जिम्मेवारी आइपरेको छ’ उनले भने । कार्यक्रममा किदुगका निवर्तमान अध्यक्ष दावा जाङबु शेर्पाले शेर्पा समुदायको हितमा क्रियासिल किदुगलाई सहयोग गदै अब गठन भएका शेर्पा संघले महत्वपूर्ण कार्य गर्न सकोस भन्ने शुभकामना दिएका थिए ।

‘किदुग आफैमा हाम्रो धरोहर हो यसलाई हामीले सहयोग गदै किदुगले गर्न नसकेको कामहरु संघ गर्न सकिन्छ भन्ने आशा लिएको छु’ निर्वतमान अध्यक्ष तथा विश्व शेर्पा सम्मेलनका कोषध्याक्ष दावा जाङबु शेर्पाले बताए । उक्त अवसरमा उनले पहिलो पटक हुन लागेको विश्व शेर्पा सम्मेलन सफलताको लागी सवैले सहयोग गर्नका लागी आग्रह गरेका थिए ।

कार्यक्रममा निवर्तमान महासचिव आङजाङबु शेर्पा, निवर्तमान प्रवक्ता ल्हाक्पा तेन्जी शेर्पा, पूर्व सचिव तथा गायक गाम्बु शेर्पा, कलाकार फारादेन्डी शेर्पा, नेपाल अमेरिका पत्रकार संघ नेजाका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, जनसम्पर्क समितिका पूर्व उपाध्यक्ष मिङमार शेर्पा, टाक्सिन्दु गाविसका पूर्व अध्यक्ष आङकाजी शेर्पा, झरना फाउन्डेसनकी ंसस्थापक झरना शेर्पा, ल्हाक्पा देण्डी शेर्पा, फुर्वा शेर्पाले शेर्पा संघ अमेरिकाको आवश्यकता र महत्वबारे मन्तव्य राखेका थिए ।

समितिको संयोजकमा ङिमा

न्युयोर्कको स्थानीय हिमालय याक रेस्टुरेन्टमा भएको कार्यक्रममा तत्कालका लागि १५ सदस्यीय शेर्पा संघ तद्धर्थ समिति गठन गरेको छ । ११ जिल्लाको प्रतिनिधिहरु सम्मिलित समितिमा निम्न व्यक्तिहरु रहेका छन । समितिमा चयन भएका व्यक्तिहरुलाई शेर्पा किदुगका पुर्व सचिव तथा गायक गाम्बु शेर्पाले खादा लगाइदिएका थिए ।

समितिको संयोजकमा ङिमा शेर्पा सिन्धुपाल्चोक, उपसंयोजकमा आङ फुरि शेर्पा सोलुखुम्बु, सदस्य सचिवमा ल्हाक्पा देण्डी शेर्पा भोजपुर, सदस्यहरुमा पासाङ शेर्पा सोलुखुम्बु, मिङमार शेर्पा खोटाङ, निमा गेल्जेन शेर्पा रामेछाप, झरना शेर्पा सोलुखुम्बु, अनुपा शेर्पा ताप्लेजुङ, गेल्बु शेर्पा ओखलढुंगा, पासाङ निमा शेर्पा संखुवासभा, छिरिङ लमु शेर्पा इलाम, आङछिरिङ शेर्पा दोलखा, भयो शेर्पा सिन्धुपाल्चोक, फुर्वा शेर्पा सोलुखुम्बु, साङमु शेर्पा संखुवासभा छन् ।

समितिलाई नेपाल शेर्पा संघका निवर्तमान अध्यक्ष पेमछिरी शेर्पाले ३ देखि ६ महिनाभित्र अधिवेशन गर्न सुझाव दिएका थिए ।

विश्व शेर्पा संघ सम्मेलन अक्टोबर ८ र ९ मा काठमाडौंमा

 

न्युयोर्क । नेपाल शेर्पा संघलगायत विश्वका विभिन्न मुलुकमा स्थापना भएका शेर्पा संघ संस्था तथा किदुगहरुको संयुक्त आयोजनामा विश्व शेर्पा सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ ।
आगामी अक्टोबरको ८ र ९ तारिखलाई पहिलो विश्व शेर्पा सम्मेलन आयोजना गर्ने मिति तय गरिएको छ । नेपाल शेर्पा संघका अध्यक्ष आङदोर्जी लामा शेर्पाको संयोजकत्वमा गठित विश्व शेर्पा संघ तदर्थ समितिको गत ११ जुनमा बसेको बैठकले सम्मेलनको मिति तय गरेको हो । बैठकले कार्यक्रम आयोजनाको मिति तय गरेसँगै कार्यक्रम तयारीका लागि केही उपसमितिहरु पनि गठन गरेको छ । जसमा शेर्पा किदुग न्युयोर्क अमेरिकाका पूर्व अध्यक्ष दावा जाङबु शेर्पाको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ ।

उक्त आर्थिक उपसमितिमा शेर्पा किदुग बेल्जियमका अध्यक्ष तथा शेर्पा संघ युरोपका संरक्षक आङदोर्जी शेर्पा (सोनाम) सह–संयोजक र विभिन्न देशबाट प्रतिनिधित्व गर्ने संस्थाका प्रतिनिधिहरु सदस्य रहेनछ । त्यसै गरी वरिष्ठ पत्रकार आङछिरिङ शेर्पाको संयोजकत्वमा शेर्पा संचार संस्थाका प्रतिनिधिहरु र विभिन्न देशहरुमा क्रियाशील शेर्पा सञ्चारकर्मी तथा पत्रकारहरु सबै सदस्य रहने गरी विश्व शेर्पा सम्मेलनको प्रचारप्रसार समिति पनि गठन गरिएको छ भने कार्यक्रम नेपालमा आयोजना हुने भएकोले कार्यक्रम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी नेपाल शेर्पा संघलाई दिने निर्णय पनि बैठकले गरेको छ ।

लामो समयदेखि छलपलमा रहेको विश्व शेर्पा संघलाई सार्थक बनाउनका लागि नै विश्व शेर्पा सम्मेलन आयोजना गरिने भएको हो । संसारको जुनसुकै ठाँउमा रहेता पनि शेर्पाहरुको ऐतिहासिक पहिचानका मूल कुराहरु सबैको एकै हुने भएकोले त्यो मिलन विन्दुलाई आत्मसाथ गर्न विश्व शेर्पा संघको परिकल्पना भएको हो । यसका लागि करीब डेढ बर्ष अगाडी नै नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पाको संयोजकत्वमा शेर्पा किदुग अमेरिकाका तात्कालिन महासचिव आङ जाङबु शेर्पा सदस्य सचिव र शेर्पा संघ संस्थाहरु स्थापना भएका सबै देशका शेर्पा संघ तथा किदुगका अध्यक्षहरु सदस्य रहने गरी विश्व शेर्पा संघ तदर्थ समिति गठन भएको थियो ।

अहिले विश्व शेर्पा संघ तदर्थ समितिमा नेपाल शेर्पा संघका अध्यक्ष आङदोर्जी लामा शेर्पा संयोजक, शेर्पा संघ यूरोपका अध्यक्ष फुला शेर्पा सह–संयोजक, शेर्पा किदुग अमेरिकाका प्रवक्ता पेम्बा गेलु शेर्पा सदस्य सचिव र सबै देशका शेर्पा संघ संस्थाहरु शेर्पा किदुग अमेरिका, शेर्पा किुदग बेल्जियम, शेर्पा संघ बेलायत, शेर्पा सोसाईटी पोर्तुगल, शेर्पा किदुग जर्मन, शेर्पा किदुग क्यानडा, शेर्पा किदुग युएई, शेर्पा संघ ईजरायल, शेर्पा किदुग मलेसिया, शेर्पा किदुग साईप्रस, शेर्पा संघ दक्षिण कोरिया, शेर्पा संघ जापान, शेर्पा किदुग हङकङ, शेर्पा किदुग अष्ट्रेलिया, डेन्जोङ शेर्पा संघ सिक्किम, शेर्पा किदुग बहराईन, शेर्पा किदुग कतार, स्वीस शेर्पा सोसाईटी, र शेर्पा किदुग रोमानियाका अध्यक्षहरु सदस्य रहेका छन् ।

 

प्रकाशित मिति : ४ श्रावण २०७४, बुधबार  ७ : ११ बजे