१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

डा. हर्क गुरुङ स्मृति खुल्ला भलिबल कप न्यूयोर्कमा हुदै



न्यूयोर्क । गुरुङ (तमु) सोसाईटी ईन्क यूएसए न्यूयोर्कले नेपाली विद्वान स्व. डा. हर्क गुरुङको स्मृतिमा खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्दैछ ।

सोसाइटीले यही आउँदो मे महिनाको २९ र ३० गते मेमोरियल होलिडेको अवसर पारेर वार्षिक रूपमा आयोजना गर्ने गरी खुल्ला भलिबल प्रतियोगिता गर्न लागेको गुरुङ सोसाइटीका खेलकुद व्यवस्थापक अन्जित गुरुङले जानकारी दिए ।

प्रतियोगिता क्वीन्सब्रिज पार्कमा हुने छ । युवाहरुबीच भाइचारा सम्बन्ध कायम गर्न, शारीरिक विकास तथा नेतृत्व विकासका लागि प्रतियोगिता गर्न लागेको व्यवस्थापक गुरुङको भनाइ छ ।
स्व. डा. गुरुङ योजना, भूगोल, वातावरण, पर्यटन, आदिबासी जनजातिलगायतका धेरै विषयका विज्ञका रुपमा रहेका थिए । मन्त्री समेत रहिसकेका स्व. डा. गुरुङ र उनको योगदानको बारेमा जानकारी दिन र नयाँ पुस्तालाई प्रोत्साहन गर्नको लागि खेलको आयोजना गरेको सोसाइटीले जनाएको छ ।

पहिलो पटक आयोजना गर्न लागिएको डा. हर्क गुरुङ स्मृति कप भलिबल प्रतियोगितामा न्यूयोर्कको विभिन्न संघ–संस्था, क्लब तथा छिमेकी राज्यहरूबाट समेत सहभागी हुने अपेक्षा गरिएको भलिबल प्रतियोगिताको संयोजक जीत गुरुङले जानकारी दिए । संयोजक गुरुङका अनुसार प्रतियोगितामा भाग लिनका लागि प्रतियोगी टिमले मे २२ सम्म टिमको नाम दर्ता गरिसक्नुपर्ने छ, र टिम दर्ताको लागि ३ सय डलर रजिष्ट्रेसन शुल्क लाग्ने छ ।

प्रतियोगितामा प्रथम हुनेले ३ हजार डलर नगद, ट्रफी तथा सर्टिफिकेट र दोश्रो हुनेले १५ सय डलर नगद, मेडल र सर्टिफिकेट पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १२ : ३१ बजे