७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

अमेरिकी स्वतन्त्रता र बाइडेन सफलता


Ang

२४ असार २०७८, बिहिबार  

0
Shares


बीके नेवा
अमेरिकाले २४५औ स्वतन्त्रता दिवस भव्य रुपमा मनाएको छ । जुलाई ४, १७७६ मा अमेरिका बेलायती उपनिवेशबाट मुक्त भएको थियो । बेलायतबाट मुक्त हुदां गरिबीमा रहेको मुलुक यो २४५ वर्षको अवधिमा अमेरिकाले निकै प्रगति गर्दै विश्वको पहिलो महाशक्ति राष्ट्र बनेको छ । अर्कोतर्फ अमेरिकी राष्ट्रपति जोए बाइडेनलाई सत्ता सम्हालेको छ महिनाभित्रै आन्तरिक र बाहृय सम्बन्ध सुधारमा ठूलो सफलता मिलेको छ ।

इमानदार र प्रतिबद्ध राजनीतिक व्यक्ति सत्तामा पुग्दा र अराजनीतिक व्यक्ति सत्तामा पुग्दा कति फरक पर्छ भन्ने कुरा अमेरिकी नेतृत्व परिवर्तनको यही छ महिनाको घटनाक्रमले स्पष्ट पारेको छ । कुशल राजनीतिज्ञ बाइडेनले सत्ता सम्हालेको छ महिनामै अमेरिका लयमा फर्केको छ भने विश्व व्यवस्था पुनः मजबुत भएको छ । अराजनीतिक व्यक्ति डोनाल्ड ट्रम्पले चार वर्ष शासन गर्दा अमेरिका अराजक अवस्थामा पुग्यो भने विश्व व्यवस्था नै खलबलियो । ट्रम्पले बिगारेको अमेरिका र विश्व व्यवस्थालाई बाइडेनले छ महिनाभित्रैमा कुशल सिल्पी प्रयोग गरी सही ठाउमा ल्याएर विश्वलाई नै नयां सन्देश दिन सफल हुनुभयो ।

छ दशकभन्दा लामो समय राजनीति गर्दै विश्व कूटनीति बुझ्नु भएका बाइडेनसंग र व्यापारिक पृष्ठभूमिबाट सत्तामा आउनुभएका ट्रम्पको तुलना गर्न मिलेन । ट्रम्प शासन कालको असफलताले अमेरिका गम्भीर सङ्कटमा पर्यो, अमेरिका र विश्व सम्बन्ध खलबलियो । उहांले शासन गर्न जान्नु भएन, केही ठूला ब्यापारीका लागिमात्र काम गर्नुभयो जसले गर्दा अमेरिकी जनजीवन नै अस्तव्यस्त बन्यो । अमेरिकाको विश्वसितको सम्बन्ध बिगि्रयो । लहडमा भरमा ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य सङ्गठन , पेरिस सम्झौता र इरानसितको आणविक सम्झौताबाट अलग गर्नुभयो ।

चीनसित ब्यापार युद्ध गर्नुभयो, रुससित सम्बन्ध बिगार्नुभयो जुन अमेरिकाको हितमा थिएन । यी सबै कारणले अमेरिकालाई घाटैघाटा भयो । शासन गर्ने क्षमता नभएकै कारण दुई पटक महाभियोगको सामना गर्दै एउटै कार्यकालपछि चुनावमा पराजित ट्रम्पको गलत नीति र कार्यक्रम अन्ततः अमेरिकाका लागि अभिशाप सिद्ध भयो । भारी मतले चुनाव जितेका राष्ट्रपति बाइडेनले छोटो अवधिमै आफ्नो कुशल राजनीतिक क्षमता प्रदर्शन गरी अमेरिकाको शिर ठाडो पार्ने काम गर्नुभएको छ । उहांकै कुशल व्यवस्थापनले कोरोना महामारीको दुष्चक्रबाट अमेरिका छिट्टै मुक्तिको चरणमा पुग्दैछ ।
कोरोना महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित बन्यो ।

सन् २०२० को डिसेम्बर मध्यबाट त्यहां खोप कार्यक्रम सुरु भयो । खोप कार्यक्रम सुरु हुनुभन्दा एक महिनाअघि नै तत्कालीन राष्ट्रपति ट्रम्पले पनि २०२० को अन्त्यसम्ममा दुई करोड डोज खोप दिने लक्ष्य सार्वजनिक गर्नुभएको थियो । तर अमेरिकीहरु छिट्टै खोप लगाउन पाइन्छ भन्नेमा ढुक्क थिएनन् । किनभने विश्वकै शक्तिशाली राष्ट्र भएर पनि अमेरिकाले ट्रम्पको नेतृत्वमा कोरोनाविरुद्धको लडाई हारेको थियो । त्यस्तै ट्रम्पले वाचा गरेअनुसारको दुई करोड डोज कोरोना खोप पनि सन् २०२० को अन्तिमसम्ममा अमेरिकामा वितरण भएन । खोप आपूर्तिको व्यवस्थापन गर्न नसक्दा ट्रम्पको लक्ष्य पूरा भएन ।

अमेरिकामा कोरोना खोपले अनुमति पाए पनि त्यहाका राज्यमा राम्रोसंग खोप आपूर्ति हुन सकेन । त्यति मात्र होइन, ट्रम्पले कोरोना खोप वितरणको लागि सङ्घीय निर्देशिका पनि दिन सक्नुभएन । त्यस अवधिमा ट्रम्पले खोप कार्यक्रमलाई तीव्र रुपमा सञ्चालन गर्न उचित कोष पनि छुट्याउनुभएन । बाइडेनको आगमनसंगै अमेरिकामा कोरोना खोप कार्यक्रमले तीव्र गति लियो । आवर वल्र्ड इन डेटाको तथ्याङ्क अनुसार अहिलेसम्म अमेरिकामा ३१ करोड ८० लाख डोजभन्दा धेरै खोप मानिसहरुलाई दिइ सकिएको छ ।

अमेरिकाले अहिलेआठ करोड डोज कोरोना खोप अन्य मुलुकमा समेत पठाएको छ भने अर्को वर्षसम्ममा ५० करोड डोज खोप वितरण गर्ने घोषणा गरिसकेको छ । खोपमा पाएको अमेरिकी सफलताको श्रेय राष्ट्रपति बाइडेन र उहांको प्रशासनलाई जान्छ ।
सन् २०२० को नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचन जितेका बाइडेनले कार्यभार सम्हाल्नुअघि नै महामारी नियन्त्रणको लागि आवश्यक तयारी सुरु गर्नुभएको थियो । उहांले त्यसका लागि आवश्यक योजना बनाउन आफनो टोलीलाई निर्देशन दिनुभएको थियो ।जब ट्रम्पको कुर्सीमा बाइडेन पुग्नुभयो, तब कोरोनाविरुद्ध लड्ने अमेरिकी सरकारको चरित्र र कार्यशैली दुवै फेरियो । कोरोना सङ्क्रमणलाई राज्यले गम्भीर रुपमा लिन थाल्यो, नियन्त्रणलाई प्राथमिकतामा राख्यो र व्यवस्थापनलाई चुस्त बनायो ।

जनबरी २० मा पदभार ग्रहण गरेका उहााले विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने ट्रम्पको निर्णय उल्टाउनुभयो र आफनो सय दिनमा मानिसहरुलाई १० करोड डोज कोरोना खोप दिने घोषणा गर्नुभयो । उहांले निर्वाचन प्रचारका क्रममा वाचा गरेअनुसार नै सङ्क्रमण नियन्त्रण गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो । त्यसका लागि बाइडेनले आवश्यक कोष जुटाउादै स्वास्थ्य सामग्री खरिद, कोरोना परीक्षणमा विस्तारलगायतका निर्णय गर्नुभयो । उहांले आफूले पदभार ग्रहण गरेको पहिलो दिन नै ट्रम्पको पालामा रोकिएका कोरोना महमारी नियन्त्रणका महत्वपूर्ण कदम चाल्नुभयो ।

बाइडेनले आफनो पहिलो कार्यकारी आदेश नै कोरोना नियन्त्रणका लागि महत्वपूर्ण थियो । उक्त आदेशमा उहाले स्वास्थ्य सामग्रीको आपूर्तिमा समस्या आउन नदिन सबै कानुनी निकायको प्रयोग गर्न निर्देशन दिनुभयो । यसले पीपीई, परीक्षण किट र खोप उत्पादक कम्पनीलाई आफनो उत्पादन बढाउन बाटो खुल्यो । बाइडेनले कोरोना परीक्षण बढाउन एक बोर्ड स्थापना गरे र कोरोना खोप वितरणको असमानता कम गर्न कोभिड-१९ हेल्थ इक्विटी टास्क फोर्स बनाउनुभयो । जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिएका बाइडेनले सार्वजनिक यातायात, हवाइजहाज, रेलमा मास्क अनिवार्य गर्न लगाउनुभयो । अमेरिका प्रवेश गर्दा कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्ने नियम अनिवार्य भयो ।

बाइडेनले १९ खर्ब डलरको कोरोना राहत प्याकेज ल्याउनुभयो, जसमध्ये चार खर्ब डलर कोरोना खोप र परीक्षणका लागि थियो । फोब्र्स पत्रिकाका अनुसार बाइडेनले आफूहरुसाग धेरै समय नभएकाले जतिसक्दो छिटो कोरोना नियन्त्रणमा लाग्नुपर्ने बताउनुभयो । उहांले आफनो पहिलो सय दिनको कार्यकालमा यसअघिका तीन राष्ट्रपतिले भन्दा धेरै कार्यकारी आदेश जारी गर्नुभयो जसमा कोरोना नियन्त्रणसाग सम्बन्धित धेरै आदेश थिए ।
त्यस्तै बाइडेनले कोरोना खोप खरिद प्रक्रियालाई पनि अगाडि बढाउनुभयो । त्यसक्रममा उहांले केही कम्पनीसंग सम्झौता गर्नुभयो । १०० दिनमा १० करोड डोज कोरोना खोप लगाउने बाइडेनको घोषणा सुरुमा निकै महत्वाकाङ्क्षी लागेको थियो । तर उहंाले यसरी काम गर्नुभयो त्यो लक्ष्य तोकिएभन्दा आधा समयमै पूरा भयो । त्यसपछि उहांले सोही समयमा २० करोड डोज खोप दिने लक्ष्य लिनुभयो । त्यो लक्ष्य पनि तोकिएको समयभन्दा एक साताअघि नै पूरा भयो ।
बाइडेन प्रशासनले जुलाईभित्रै १६ करोड मानिसलाई कोरोनाको दुवै डोज खोप लगाउने लक्ष्य लिएको छ । यो लक्ष्यमा पनि सफलताको नजिक पुगेको छ । अहिले अमेरिकामा १४ करोड ९० लाखभन्दा धेरैले कोरोना खोपको दुवै डोज लगाइसकेका छन् भने दुई करोड ८० लाख मानिसले पहिलो डोज मात्र लगाएका छन् । यो वर्षभित्र सबै अमेरिकीलाई खोप लगाउनेगरी काम भइरहेको छ । अमेरिकाका कतिपय सहरमा विना माक्स नै मानिसहरु आवागमन गर्ने अवस्था बनेको छ ।

तस्विर सौजन्य रोइटर

 

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  २ : २३ बजे