८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

शशांक कोइरालाले भने, ‘आफ्नै पार्टीले आफ्नो उमेदवारलाई हराउने खेल हुँदो रहेछ’


२६ श्रावण २०७४, बिहिबार  

0
Shares

एभरेस्ट टाइम्स/काठमाडौं

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कहिलेकही आफ्नो पार्टीले नै आफ्नो उमेदवार हराउने खेल खेल्ने कुरा आफुले भर्खर थाहा पाएको बताएका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले काठमाडौंको बत्तीसपुतलीमा अायोजित काठमाडाैंमा रहेका कांग्रेस समर्थित कार्यकर्ताको बृहत भेलालाई सम्बोधन गर्दै कोइरालाले निर्वाचनमा कांग्रेसले अरु पार्टीसँग मिल्नुपर्ने कारण खुलाउँदै उक्त भनाइ राखेका हुन् ।

सप्तरीको एक प्रसंग निकाल्दै उनले भने, ‘म २०४८ सालको चुनावमा गिरिजाबाबुको क्षेत्रमा निर्वाचन प्रचार गर्न गएको थिएँ, त्यहाँ केही गर्नै पर्दैनथ्यो, त्यहाँबाट सप्तरी क्षेत्र ३ मा गए, त्यहाँका कांग्रेसका उमेदवार इन्द्रजित त सुतिरहेका रहेछन्, पछि बुझ्दा उक्त क्षेत्रबाट सद्भावना पार्टीका गजेन्द्र नारायणलाई जिताउन रहेछ । गिरिजाबाबुको योजना मुताबिक नै कांग्रेसका उमेदवार सुतेका रहेछन् ।’

अाफु यस्तो प्रवृत्तिको विरोधमा रहेको कोइरालाले दाबी गरे ।


त्यसैले आफ्नो सिद्धान्त कम्युनिस्टसँग मिल्ने नभएको र माओवादीसँग मिलेर चुनाव लड्नु नरहदाँ नरहदै पनि माओवादीलाई राजनीतिक मियोमा राख्न बाध्य भएर चुनावी तालमेल गर्नुपरेको महामन्त्री कोइरालाको भनाई थियो ।

आफुलाई पिताजी बिपी कोइराला जस्तै बन्न धेरैले उत्साहित गरेको उल्लेख गर्दै महामन्त्री कोइरालाले भने, ‘बिपी कार्यकर्ता र उहाँका समकक्षी नेताहरुले बनाएका थिए, उहाँजस्तै बन्न मलाई त्यस्तै कार्यकर्ता र समकक्षी नेता चाहिन्छ, नत्र सकिदैन ।’


प्रदेश संसद र संघीय संसदको निर्वाचनलाई परिणाममुखी बनाउने सन्दर्भमा आयोजित कार्यक्रममा उनले कांग्रेस दरिद्र पार्टी भएकोले पनि निर्वाचनमा दोस्रो भएको बताए ।

कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य गुरूराज घिमिरे, केन्द्रीय सदस्य रिता खनाललगायलते अाफ्ना मन्तव्य राखेका थिए भने जिल्लाका नेताहरूले कांग्रेस चुनावमा हार्नुका कारण उल्लेख गर्दै अबका दिनमा कांग्रेसको गुटउपगुट अन्त्य हुनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७४, बिहिबार  ५ : ४४ बजे