१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रधानमन्त्रीसँग राष्ट्रपति भण्डारीको गम्भीर असन्तुष्टि, सोधिन् ‘बाँधको चाबी किन भारतलाई ?’


४ भाद्र २०७४, आइतबार  

0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले कोसी बाँधको सञ्चालन र नियन्त्रणको जिम्मा भारतलाई दिइएकोमा गम्भीर असन्तुष्टि जनाएकी छिन् । उनले स्वतन्त्र, सार्वभौम राष्ट्रको हैसियतमा अन्तर्राष्ट्रिय कानुनअनुसार सम्झौता पुनरावलोकनका लागि पहल गर्न प्रमुख दलका शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएकी छिन् ।

 

प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख तीन दलका शीर्ष नेतालाई शनिबार शीतलनिवास बोलाएर राष्ट्रपति भण्डारीले दलैपिच्छेको परराष्ट्र नीति र व्यवहारप्रति गम्भीर असन्तुष्टि पोख्दै केही सुझाबसमेत राखेकी हुन् । उनले कोसीलगायत असमान प्रकृतिका सन्धि–सम्झौता पुनरावलोकनमा सबैलाई एकजुट बन्न गम्भीर ध्यानाकर्षण गराउँदै राष्ट्रिय नीति, डुबान र सीमा समस्यालगायत विषयमा थुप्रै प्रश्नसमेत गरेकी थिइन् । उनले राष्ट्रिय हितका मामिला सबै दल एक ठाउँमा आउन र राष्ट्रिय नीतिका आधारमा अरू देशसँग सम्बन्ध राख्नसमेत सुझाब दिइन् ।

 

यस्ता छन् तीन मुख्य प्रश्न

१. हरेक वर्ष बाढी आउँछ, तराईका भूभाग डुबानमा पर्छन्, ठूलो धनजनको क्षति हुन्छ । भारतले बाँधको ढोका नखोल्दा यसपटक ठूलो क्षति भएको भनिन्छ । हाम्रो पानी दक्षिण (भारत) तिर बग्छ । धेरै कुरा तपाईंहरूलाई नै थाहा होला । यसमा तपाईंहरूको नीति के हो ? बाढी आएका वेलामा मात्रै चर्चा गर्ने कि दीर्घकालीन समाधान खोज्नेतिर जाने ? एउटा स्वतन्त्र सार्वभौम राष्ट्रभित्र बनेको बाँधको नियन्त्रण र सञ्चालन अर्को देशले गर्ने कुरा (सम्झौता) प्रति तपाईंहरूको के धारणा छ ?

२. नेपाल–भारतबीचका खुला सिमाना व्यवस्थित छैनन् । वैज्ञानिक नक्सांकन हुन सकेका छैनन् । उत्तरतर्फको सीमामा पनि समस्या आएका छन् । नेपाललाई नसोधीकनै भारत–चीनले लिपुलेकको बाटो प्रयोग गर्ने समझदारी गर्दा हामीले किन ‘अब्जेक्सन’ जनाउन सकेनौँ?

३. राष्ट्रिय हितका विषयमा एउटा पार्टीको सरकार हुँदा अलि बोल्ने, अर्को पार्टीको सरकारको नेतृत्व हुँदा नबोल्नेजस्तो नीति देखिनुभएन । परराष्ट्र नीति पनि पार्टीपिच्छे फरक–फरक हुन्छ ? सरकार फेरिनेबित्तिकै किन नीति फेरिन्छ ? सीमासम्बन्धी नीति के हो ? पानीसम्बन्धी नीति के हो ? सबै राष्ट्रिय नीति राष्ट्रिय हितलाई ध्यान दिएर बनाउनुपर्छ । आन्तरिक राजनीतिको मामिलामा बाह्य शक्तिको प्रभाव हुन नदिन किन तपाईंहरू एक बन्नुहुन्न ? नयाँ पात्रिकामा खबर छ ।

प्रकाशित मिति : ४ भाद्र २०७४, आइतबार  ६ : ५५ बजे