४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

टाइम्स स्क्वायरमा बन्दुक निषेध



न्युयोर्क महानगरको व्यापारिक एवम् प्रमुख पर्यटकीय गन्तव्य टाइम्स स्क्वायरमा बन्दुकलगायत हतियार लैजान नपाइने भएको छ । निकट भविष्यमा उक्त क्षेत्रमा बन्दुक निषेध गरिने अधिकारीहरूले बताएका छन् ।

बन्दुक बोक्ने अनुमति पाएकाहरूलाई पनि उक्त स्थलमा हतियार लैजान निषेध गरिने न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बताएका छन् । टाइम्स स्क्वायरलाई संवेदनशील क्षेत्रका रूपमा विकास गरिने तथा अब त्यहाँ रहेका विज्ञापन सङ्केतहरूमा पनि ‘टाइम्ज स्क्वायर संवेदनशील एवम् बन्दुकमुक्त क्षेत्र’ देखिने उनले वासिङटन टाइम्सलाई उनले बताए । कानुनद्वारा अधिकारप्राप्त व्यक्तिले विशेष परिस्थितिमा मात्र त्यहाँ बन्दुक बोकेर जानसक्ने उनले स्पष्ट गरेका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि देशमा बन्दुक हिंसा बढेको भन्दै बन्दुकमाथि प्रतिबन्ध लगाउन आफू प्रतिबद्ध रहेको बताए । टेनिसी राज्यको मेम्फीसमा बुधबार एकजना प्रहरी अधिकारीलाई गोली हानेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । मेम्फीसका प्रहरी प्रमुख सिजे डेभिसका अनुसार गत वर्षको तुलनामा यो वर्ष दुई हजारभन्दा बढी हतियार बरामद भएका छन् । उता डेट्रोइटमा गत आइतबार एकजना किशोरले गोली चलाउँदा तीन जना मारिएका र अभियुक्तलाई हिरासतमा लिइएको छ ।

 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ५ : ०८ बजे